महिला बालबालिका तथा जेष्ठ नागरिक  मन्त्रालय एनआरएनसंग  सहकार्य गर्न तयार – मन्त्रि उमा रेग्मी 

इनेप्लिज २०७९ असोज १८ गते ९:२६ मा प्रकाशित

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद महिला विभागले जुम मार्फत बडा दशैंको शुभ अवसरमा एक शुभकामना अडान प्रदान कार्यक्रम आयोजना गर्यो। संघकी महिला उपाध्यक्ष यस्मीन बेगम सैयदको सभापतित्वमा भएको यस कार्यक्रमको संचालन संघकी सचिव राधिका (टिका) गुरुङले गर्नु भएको थियो।

”महिला तथा बालबालिका उत्थानमा एनआरएनएको भूमिका तथा नेपाल सरकारको दायित्व” भन्ने विषयमा आयोजना गरिएको यस शुभकामना अडानप्रदान कार्यक्रमको विशेष अतिथि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रि उमा रेग्मी हुनुहुन्थ्यो। कार्यक्रमलाई सम्वोधन गर्दै माननीय मन्त्रीले नेपाल सरकार गैर आवासीय नेपाली संघ महिला विभागसंग स्वास्थ्य, महिला जनचेतना सम्वाधी कार्यक्रमहरुमा MoU गर्न तयार रहेको र नेपाल सरकारले गैर आवासीय नेपाली संघको हरेक गतिविधिलाई नियाली रहेको र सरकार यसप्रति सकारात्मक रहेको व्यक्त गर्नु भयो।

संसारभरबाट जोडिएका एनआरएन महिला अभियन्ताहरुको उपस्थितिमा संचालन भएको यस कार्यक्रमको स्वागत मन्तव्य दिदै संघ कि महिला संयोजक संगीता मरहट्टाले महिला विभागको यस पटकको प्राथमिकता महिला तथा बालबालिका शिक्षा रहेको र महिला तथा बालबालिकाहरुको शैक्षिक स्तर बढाउन महिला विभागले करीब ४० लाखको छात्रवृति कोषको स्थापना गरेको र जसमा १० लाख जम्मा भैसकेको तथा बाकी संसारभरको राष्ट्रिय समवय परिषद्का महिला संयोजक मार्फत गरिने जनाउनु भयो भने संघकी कोषाध्यक्ष यमुना भट्टराईले महिला विभागको यस कामको सराहना गर्दै व्यक्तिगतरूपमा कोषको लागि २ लाख दिने घोषणा गर्नु भयो।

सघ अध्यक्ष कुल आचार्यले महिलाहरुलाई सहकार्य गर्दै स्वास्थ्य क्षेत्रमा महिला विभागले गरेको कामको प्रसंशा गर्नु भयो भने भर्खरै कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हाल्नु भएको गैर आवासीय नेपाली संघको इतिहासकै पहिलो महिला अध्यक्ष रबिना थापाले नेपाली महिलाहरुको संघर्षले उनीहरुले सरकारबाट पाएको हक अधिकारको लागि नेपाल सरकारलाई धन्यवाद दिदै महिला विभागले विगतमा र अहिले गरेका महिला शौचालय, महिला स्वास्थ्य गैर आवासीय नेपाली संघको प्राथमिकता दिएको प्रस्ट गर्नु भयो।

करीब चार घण्टा लामो यस कार्यक्रममा पत्रकारहरु, संघका विभिन्न पदाधिकारीहरु, महिला पदाधिकारीहरुको उपस्थिति थियो र उपस्थित सबैले यस कार्यक्रमको तारिफ गर्दै बडा दशैंको शुभकामना आदानप्रदान गरेका थिए। वक्ताहरुको महत्वपुर्ण सल्लाह र सुझावको टिपोट गर्दै गर्ने काम गैर आवासीय नेपाली संघको संचार तथा प्रकाशन समितिकी उप संयोजक बाबा राजेश्वोरी थापाले गर्नु भएको थियो।

प्रतिक्रिया