रौतहटका दुई नगर प्रमुख बसेका छन् नवरात्रा

इनेप्लिज २०७९ असोज १७ गते ९:४७ मा प्रकाशित

रौतहट,रौतहटका दुई नगर प्रमुखहरु नवरात्रा व्रत बसेका छन् । घटस्थापनाको दिनदेखि नवमीको दिनसम्म फलाहार बसेर विधिपूर्वक मूल यज्ञकर्ताको रुपमा पूजा गर्नेहरुले नवरात्रा बस्ने गर्दछन् ।

रौतहटको गढीमाई र गरुडा नगरपालिकाका नगर प्रमुखहरु सार्वजनिक पूजामा नवरात्रा बसेका हुन् । गढीमाई नगरपालिकाका नगर प्रमुख श्यामप्रसाद यादव र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवार सार्वजनिक दुर्गापूजामा नवरात्रा बसेका हुन् ।

गढीमाई नगर प्रमुख यादव छैटौँपटक नवरात्रा व्रत बसेका हुन् । प्रथम कार्यकालको लागि निर्वाचित भएदेखि लगातार हरेक वर्ष नवरात्रा व्रत गर्दै आएका नगर प्रमुख यादवले यस वर्ष पनि व्रत बसेका हुन् । गढीमाई ९ मलाही बजारमा सार्वजनिक दुर्गा प्रतिमा बनाएर नगर प्रमुख यादवले नवरात्राको अवधिभर विधिपूर्वक बिहान र बेलुकी पूजा तथा आरती गर्ने गर्दछन् ।

यसै गरी गरुडाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले पनि हरेक वर्ष नवरात्रा व्रत बस्ने गरेका छन् । गरुडा बजारमै रहेको प्रसिद्ध दुर्गा मन्दिरमा हरेक वर्ष विधिपूर्वक घटस्थापना गरी नगर प्रमुख कलवारले मूलपूजा गर्दै आएका छन् । गत वैशाखमा नगर प्रमुखमा निर्वाचित कलवार विगत सात वर्षदेखि नवरात्रा व्रत गर्दै आएका हुन् ।

नवरात्रा व्रत गर्ने व्रतालुले बिहान र साँझ पूजा तथा आरती गरेपछि फलाहार भोजन गर्ने चलन छ । नून नखाने र कुनै पनि अन्न नखाने चलन रहेको नवरात्राभर पूजा तथा अर्चनामा ध्यान दिनुपर्ने परम्परा रहेको छ ।

रौतहटको सबै बजार तथा सहरमा भव्यतापूर्वक नवरात्रा धार्मिक विधिअनुसार मनाइने गरिन्छ । नवरात्रासँगै दुर्गापूजा मेला भव्यतापूर्वक लगाइने चलन छ । नवरात्रा हुने ठाउँमा सर्वसाधारणले स्वतः माछा मासु खरिद बिक्री तथा सेवन रोक्दछन् ।

रौतहटको गरुडामा पहिलोचोटि घटस्थापनादेखि फुलपातीसम्म माछा र मासु बिक्रीमा नगरपालिकाले रोक लगाएको थियो ।

प्रतिक्रिया