बज्जिका साहित्य संगमको वार्षिकोत्सवमा दुई पत्रिका विमोचन, झिझिया नृत्य प्रस्तुतिका साथै एक सम्मानित

इनेप्लिज २०७९ असोज १५ गते २:१८ मा प्रकाशित

रौतहट

नेपालमा बज्जिका भाषाको क्षेत्रमा सबैभन्दा क्रियाशील रहेको संस्था बज्जिका साहित्य संगम रौतहटले आफ्नो सातौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । संगमको सातौँ वार्षिकोत्सवको अवसरमा बज्जिका भाषाका दुई साहित्यिक कृतिको लोकार्पण, झिझिया गीतको प्रस्तुति तथा एक जनाको सम्मान र शुभकामना आदानप्रदानसँगै अन्तक्र्रिया गरिएको छ ।

नेपालमा बज्जिका भाषाको पहिलो साहित्यिक पत्रिका बज्जिकार्पणको २६औँ अंक र सर्लाहीको मलंगवाबाट प्रकाशित बज्जी साहित्यिक पत्रिकाको ७औँ अंकको संयुक्त विमोचन गर्दै रौतहटको गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले दुवै पत्रिकाहरुले बज्जिका भाषा र साहित्यको विकास तथा विस्तारमा ठूलो योगदान दिएको बताएका छन् । नगर प्रमुख कलवारले बज्जिका भाषाको विकासमा योगदान दिने व्यक्तिहरुको पनि मुक्तकंठले प्रशंसा गरेका छन् ।
नगर प्रमुख कलवारले कार्यक्रममा झिझिया गीत प्रस्तुत गर्ने कलाकारहरुलाई नगद ३५०० प्रदान गर्नुका साथै गमछा ओढाएर सम्मानित गरेका छन् । यसै गरी बज्जिका संगमको अक्षयकोषमा पहिलोपटक ५० हजार रुपैया नगद सहयोग गर्ने पर्साको वीरगंज निवासी पूर्व जिशिअ बालदेव प्रसाद साहलाई संगमको तर्फबाट नगर प्रमुख कलवारले प्रशंसापत्रसहित सम्मानित गरेका छन् ।

रौतहटका व्यवसायी तथा युवा समाजसेवी रवि जयसवालले व्यवस्थापन गरेको कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी डा. कमलेश्वर कुमार सिन्हा, सर्लाही सदरमुकाम मलंगवाका साहित्यकार रामचन्द्र महतो कुशवाहा, बज्जिका समृद्धि समाज सर्लाहीका अध्यक्ष जियालाल राय यादव, बज्जिका भाषा विकास परिषदका अध्यक्ष शिवचन्द्र प्रसाद साह, बज्जिका एफएमका प्रमुख तथा बज्जिकावाणी अनलाइनका सम्पादक दिनेश यादव संगम, नवसर्जक साहित्य चौतारी मधेस प्रदेशकी अध्यक्ष रुबि गुप्ता, नेपाल साहित्यिक पत्रकार संघका केन्द्रीय सदस्य तथा मधेस प्रदेशका अध्यक्ष सञ्जय साह मित्र, साहित्यकार विन्दा साहनी, मनमोहन सिंह मनोहर, विपिनबिहारी सिंह, नेपाल चलचित्र कलाकार संघको मधेस प्रदेश अध्यक्ष विजय यादव निर्बिज, साहित्यकार ममताज राय भाट, गायक कुमार चन्दन, रवीन्द्र पटेल, प्रधान शिक्षक विजयकान्त मिश्रसहित दर्जनौँ भाषा तथा साहित्यानुरागीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमका वक्ताहरुले बज्जिका भाषा र साहित्यको उत्थानमा सबै जना सक्रिय हुनुपर्ने र साहित्यकारहरुलाई प्रोत्साहित गर्नुपर्ने बताएका छन् ।

संगमका अध्यक्ष साहित्यकार किशुनदयाल श्रीकृष्णको सभापतित्वमा भएको कार्यक्रममा उपस्थित सबैलाई संगीताकुमारी सहनीले स्वागत गरेकी थिइन् ।

प्रतिक्रिया