प्रदेश मन्त्रिपरिषद निर्णय–प्रादेशिक अस्पताल झापा भद्रपुरको स्तरोन्नति गरी दुई सय शैयाको बनाउने

इनेप्लिज २०७९ असोज ७ गते १:०६ मा प्रकाशित

मोहम्मद सदरुल,

विराटनगर, ६ असोज(रासस):प्रदेश नंं. १ मन्त्रिपरिषद्को आज बसेको बैठकले प्रदेशको प्रादेशिक अस्पताल झापा भद्रपुरको स्तरोन्नति गरी २०० सय शैयाको बनाउने निर्णय गरेको छ ।

मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज बसेको बैठकले भोजपुर जिल्ला अस्पतालको स्तरोन्नति गरी ५० शैयाको बनाउने निर्णय पनि गरेको प्रदेश सरकारका प्रवक्त्ता एवं यातायात व्यवस्था सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेले जानकारी दिनु भयो ।

यस्तै बैठकले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयद्वारा प्रस्तुत नेपाल सरकारको मिति २०७९ असोज ५ गतेको निर्णय प्रचलित कानूनसमेतको दायराभित्र रही कार्यान्वयन गर्न प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई जिम्मेवारी दिने निर्णय गरेको छ । उक्त निर्णयअनुसार धनकुटाको भेडेटारमा बन्न लागेको ‘स्वाइ वाक‘का लागि आवश्यक जग्गा सट्टापट्टा गर्ने जिम्मेवारी प्रदेश लगानी प्राधिकरणका प्रमुख कार्यकारी निर्देशकलाई हुनेछ ।

बैठकले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयद्वारा प्रस्तुत प्रदेश खानेपानी तथा सरसफाइ सम्बन्धी व्यवस्था गर्न विधेयक तर्जुमाको सैद्धान्तिक स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

यसैगरी पर्यटन तथा संस्कृति मन्त्रालयद्वारा प्रस्तुत प्रदेश अन्तर्गतका १४ जिल्लाको प्रमुख उत्पादनको ब्राण्डिङ गर्ने र प्रदेशको पर्यटन लोगो स्वीकृत गर्ने सहित पर्यटकीय गन्तब्य स्थल तोक्ने विषयलाई मन्त्रीस्तरीय समितिको छलफलमा लैजाने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया