बाँचुन्जेल अपमान,
मरे पछि सम्मान !
सुनेनन् कसैले उनलाई
बुझेनन् कसैले उनलाई
चिनेनन् कसैले उनलाई
जब उनी थिए जिउँदा
तर परमधाम गए पछि
सुरु भएको छ उनको बखान
आफ्नैहरु बाट
पराइहरू बाट
समर्थक बाट
विरोधीहरू बाट
देख्दा भन्न मन लाग्छ
बन्द गर तिम्रा नौटङ्की हरू
बन्द गर गाउन गुणगानहरू
किनकि उनी मरिसकेका छन्
सुन्दैनन् उनी तिम्रा बकवासहरू
बुझ्दैनन् उनी तिम्रा नौटङ्कीहरू
किन रङ्याउँछौं अखबारका भित्ता
किन रङ्याउँछौं सामाजिक सञ्जाल
सम्झ्यौ कहिल्यै जिउँदो छउन्जेल उनलाई ??
बुझ्यौ कहिल्यै जिउँदो छउन्जेल उनलाई ??
बन्द गर तिम्रा झुटा नाटकहरू
सबैलाई थाहा छ
सबले बुझेका छन्
यो नाटकै नाटकको मञ्च हो
नौटङ्की बस्ती हो
लाज शरम पचेको सहर हो
आर्यघाट कुर्ने समाज हो
मैले राम्ररी बुझिसकेको छु
मेरा आफ्नै आँखाले देखिसकेको छु !
कसम, मैले धेरै भोगिसकेको छु !!
– रामप्रसाद खनाल, अगस्त २१, २०२२, हाल भर्जिनिया अमेरिका ।
पत्रकार, लेखक, गायक, कवि एवम् अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनाल नेपालमा लोक दोहोरी गीतको गायन, विकास र प्रवर्धनका एक कुशल अभियन्ता र स्वयममा पनि बरिष्ठ लोक तथा दोहोरी गायक हुन् । उनी कलाकार, पत्रकार, सङ्गीतकार, रेडियो र टेलिभिजनका कार्यक्रम निर्माता, निर्देशक र सञ्चालक पनि हुन । उनी अमेरिकाबाट प्रकाशित नेपाल मदर डट कमका प्रधान सम्पादक पनि रहेका छन् । हाल खनाल सपरिवार अमेरिकाको भर्जिनिया विन्चेस्टर मा बस्छन् ।
प्रतिक्रिया