चुनावको घोषणा भए पछि तत्काल कायम रहेको सरकार चै कामचलाउ सरकारमा परिणत हुने भएकाले कामचलाउ सरकारले कुनै पनि महत्वपूर्ण निर्णय गर्न सक्दैन र गर्दैन भन्ने गणतान्त्रिक पद्दति सहितको विश्वव्यापि मान्यता हो ।
तर यो देशमा भने यस्ता विश्वव्यापि मान्यताहरूको देखादेखी उल्लङ्घन गर्दै गणतन्त्रको आवरणमा शेरबहादुर देउबातन्त्र, पुष्पकमल दाहाल प्रचण्डतन्त्र, माधव कुमार नेपालतन्त्र, उपेन्द्र यादवतन्त्र र पानीमाथिको ओभानो बन्दै आएका चित्रबहादुर केसीका तर्फबाट रहेकी कम्युनिष्ट गुरु मोहनविक्रमकी पत्नीतन्त्र समेतका मिलीजुलीतन्त्र नै चलिरहेको छ ।
भर्खर राष्ट्रपतिबाट पुनर्विचारकालागि फिर्ता भएको नागरिकता सम्बन्धी बीललाई गहन अध्ययन र छलफल गर्नुको सट्टा विदेशिहरूकै निर्देशनमा अनेक षठयन्त्र गर्दै पूर्ववत छोटो बाटो तय गरी यथावस्थामा पास गरेर फेरि राष्ट्रपति समक्ष पठाउने हल्ला चल्न थालेको कुरालाई “हावा नचली रुखका पातहरू किन हल्लिन्थे” भन्न सकिने अवस्था विद्यमान छ ।
चुनावको घोषणा पछि यो देशमा रहेको देउबा सरकार नै कामचलाउ भएकाले आगामी चुनावलाई प्रभाव पार्न सक्ने बीलहरू संसदबाट पास गर्नु हुँदैन भन्ने विवेक भएका केही माननीय सांसदहरूपनि होलान। बिस २०३४ साल सम्ममा यो देशका सबै नेपालीहरूलाई घरघरमा गएर नेपाली नागरिकताको प्रमाणपत्र दिएकै हो भनेर मनमनै गम्दा हुन ।
ती नेपाली नागरिकका सन्तानहरू र उनीहरूले भारत वा अन्य देशबाट विहे गरेर ल्याएका बुहारीहरूलाई पनि अङ्गिकृत नागरिकता दिएकै हो भने उनीहरूका सन्तानहरू नागरिकता विहिन हुने भन्ने बनावटी हल्ला शिवाय केही होइन भन्ने यथार्थ यी विचरा माननीय सांसदहरूले जानेका, सुनेका र बुझेका छैनन होला भनेर कसरी मान्नु ?
यस्तो जगजाहेर भएको कुरा जानेर पनि परमादेशबाट बनेको गठबन्धित देखिने तर विदेशीहरूको कठपुतली बन्दै आएको देउबा सरकारका तर्फबाट आगामी चुनाव समेतलाई केन्द्रमा राखी विदेशीका निर्देशनले नागरिकताको बील ल्याएर देश भरी नै रडाको मच्चाउने काम गरेको हो भन्ने कुरा जानेर पनि आगामी चुनावमा टिकट नपाइएला भन्ने डरले अधिकांश सांसदहरु मुखमा टेपटाँसेर बस्नु पर्ने अवस्था देखिन थालेको छ ।
यो अवस्थामा अधिकांस सांसदहरु “जसो जसो गर्न ठूला-बढा, मानेका नायकहरूको तन्त्र बोल्छ , उसै उसै गर्दै आ-आफ्नो विवेकलाई स्वाहा” गर्न विवस भए पछि “षेलषाल” हुने तथा न्याय मारिएको नेपालमा न सरकार न सांसदहरुबाट यो देश र यो देशका जनताजनार्दनले के आशा गर्नु ? ।
गोर्खा देश भए पो न्याय खोज्न गोर्खा जान मिल्थ्यो, अब त यो देशमा न द्रव्य शाहद्वारा स्थापित गोर्खा राज्य नामको निरन्तरता नै छ, न गोर्खा राज्य विस्तारका क्रममा गोर्खा शक्तिले निर्माण गरेको यो देशको गौरवशाली इतिहास नै जीवित छ , न लोकसम्मति अनुसार शासन गर्ने श्री ५ गोर्खा राजाहरूका नामबाट प्रदान गरिने न्याय नै कायम हुन सकेको छ ।
यसरी नै विदेशीका इशारमा हिड्न बाध्य भएका गणतन्त्रवादीहरुका नाइकेहरुकै कारणले गर्दा गौरवशाली इतिहास भएको संसारले चिनेको वीर गोर्खाहरूका देशको गौरव शाली इतिहास र गाथा समेत हरण भई आफ्नो भन्ने केही नभएको अर्थात सर्वाङ्ग नाङ्गिएको, दरिद्र ,मगन्ते तथा युवा शक्ति बिक्री गर्ने हुतिहाराको अवस्थामा पुगेको हो ।
तै पनि केही छ भने यो देशका न्यायपिडित जनताका मनमस्तिष्कमा “न्याय नपाए गोर्खा जानु” भन्ने उखान बाँकी रहेकाले, यसैको जगबाट उठेर यो देश निर्माण गर्ने गोर्खा शक्तिले यो देशमा विदेशी हस्तक्षप हटाउन जे गर्नु पर्ने हो तेही गर्छ ।, त्यो समय आउन धेरै टाढा छैन ।।
जय गोरखनाथ, जय गोर्खा ।।
प्रतिक्रिया