रमियाको चितापछि प्रश्न

सञ्जय साह मित्र २०७९ भदौ २ गते ९:४० मा प्रकाशित

 

”अहिले मान्छेहरूले बिर्सिसके कि यहीँ कुनै दिन एउटा बस्ती थियो । यस बस्तीले अनेक सभ्यताको जन्म दिएको थियो ।” रमियाको काँधमा हात हाल्दै खेन्हरियाले भन्दा रमियाको अनुहारमा विस्मयको भावले स्पर्श गर्यो ।

“तिमी मरेको चार दिन भएको छैन तर यो मूर्घटियामा बस्ती थियो भन्छौ । जिउँदो रहुञ्जेल कहिल्यै यस्तो कुरो गरेनौ ।” काँधबाट हात झट्कार्दै रमियाले अस्वीकारोक्तिपूर्ण संशय व्यक्त गरी ।

“तिम्रो चिराको आगो पनि निभिसकेको छैन । सायद सराध भएपछि तिमी यहाँ देखा पर्दिनौ । तर म चाहिँ यहीँ दुई चोटि चिरामा राखी भइसकेको छु । तेस्रो चोटि पनि यही मर्ने रहर छ ।” अलिक गम्भीर भएर खेन्हरियाले भन्यो ।

“तिमीहरू पुरुषलाई सजिलो छ । जहाँ जन्म्यो त्यहीँ मर्न पाउँछ तर हामी महिलालाई कुनै ठेकानै हुँदैन । जन्म हुने गाउँ एउटा हुन्छ र बिआह भएर जाने गाउँको ठेकान हुँदैन जहाँ मर्नुपर्छ । बिआहपछि महिलाले आफ्नो पहिचान पनि गुमाउनु पर्छ । महिलाको नाम पनि हराउँछ । नइहरको गाउँको नामबाट बोलाइने नयाँ नाम हुन्छ । कहाँ जन्मनु परेको थियो र कहाँ मर्नु परेको थियो भन्ने सम्झना गर्न महिलाले आवश्यकै पर्दैन । अहिले लमाहा र चानीको पानी एक ठाउँमा मिसिएजस्तो महिलाको जीवनयात्रा कहाँ कहाँ भएर गुज्रिनु पर्छ महिलालाई थाहै हुँदैन । मैले पहिले पहिले कहाँ मर्नु परेको थियो भन्ने सम्झना पनि गर्दिनँ । तिमीलाई यस ठाउँको किन माया लागेको होला, खेन्हा ?”

खेन्हरियालाई खेन्हा भनेरै सबैले बोलाउँथे । कसैले दुलार गरेर खेन्हाइ पनि भन्दथ्यो । ऊ मरेको चार दिनपछि उसको बोलाउने नामबाट सम्बोधन सुन्दा अलिक सुखद अनुभूति भयो उसलाई । उसले भन्यो – “ऊ तिम्रो चिता हो । यो मेरो चिता हो । चितामा सुतेपछि शरीर हुने भनेका खरानी नै हो । तर मलाई यहीँ नै पुनः पुनः खरानी हुने रहर छ । एकचोटि चितामा सुतेपछि फेरि यहाँ चितामा सुत्न आउन कैयन सय बरिस लाग्छ ।”

बिचैमा कुरो काट्दै रमियाले तर्क दिई –“यो त देखिरहेको छु कि एकातिरबाट लमाहा बगेकी छ, अर्कोतिरबाट चानी आएर मिसिएकी छ । लमाहा र चानीको मिलनस्थल त जीवन र मृत्युको सङ्गमस्थल हो । साधारण शरीरधारी मानिस भन्दछ कि मानिसको अन्तिम संस्कार हुन्छ यहाँ । यो मूर्घटिया हो । तर हामीजस्ता भौतिक शरीर चर्मचक्षुले देख्न नसकिने सूक्ष्म शरीरधारीले बुझ्दछौँ कि यहाँबाट मानिसको वास्तविक जीवन सुरु हुन्छ । तर तिमी किन यहाँ बारम्बार आउन चाहन्छौ, त्यो भन न ।”

“कुनै हतार नहुने त हामी मात्र न हौँ । अब मेरो सराध भएपछि बल्ल मलाई कहीँ कतै जाने अवसरको ढोका खुल्छ । तिमीलाई त अझै यहाँ धेरै दिन बस्नुछ । तिम्रो उत्सुकता धेरै छ । भर्खर मानव शरीर छोडेकालाई केही दिनसम्म मानवीय भोक, तिर्खा, हतार, उत्सुकता र दैनिकीको तलतल लागिरहन्छ । यसैमा तिमी अलिक बोल्न मन पराउनेमा पनि पछ्र्यौ ।” थोरै मुस्कानसाथ व्यङ्ग्यमिश्रित जिस्क्याइ रमियाले पनि बुझी । अनि रमियाले भनी – “सायद यही होला तर तिमीले मेरो उत्सुकतालाई झन् धकेलिरहेका छौ ।

“ऊ त्यो परको चौर देखिरहेकी छ्यौ ? हो, त्यो दोहर हो । जयनगरको दोहर त्यो । मुस्लिमहरूले त्यस नगरमाथि जय गर्नुअघिसम्म त्यसको नाम देवग्राम थियो । यहाँका सज्जनहरू देवता समान थिए । सर्वसाधारण नै देवता समान थिए । जब देवग्राममाथि सिमरौनगढतिरबाट विजय गर्दै आएका मुसलमानहरूले आक्रमण गरी जय हासिल गरे तबदेखि नै यो जयग्राम कहलिन थाल्यो । म साक्षी छु यसको । अहिलेको जन्ममा बल्ल सुनें – जयग्राम पनि जयनगर भइसकेछ । समय फेरिएको छ, बस्तीमा धेरै बदलाव आएको छ तर प्रकृति त उही हो । मजस्ता धेरै जीवनयात्रीले यो दृश्य देखेको र देखिरहेको हुनुपर्छ ।” खेन्हाले रमियाको उत्सुकता झन् बढायो ।

“अनि अघि तिमीले भनेको धेरै सभ्यताको जन्म दिएको बस्ती त्यो देवग्राम थियो कि अहिले हामी बसेको ठाउँको ? कि दुवै ग्राम एकै थिए ?”
खेन्हाले स्पष्ट पा¥यो । “त्यो देवग्राम थियो र यो गेंडाही । गेंडा (गैंडा) बस्ने ठूलो जङल थियो, गेंडालाई धपाएर बसेको बस्ती गेंडाही कहलियो र कालान्तरमा गेडही हुन पुग्यो ।”

“हैन, गेडही ऊ त्यो गाउँ होइन ?” रमियाले फेरि प्रश्न गरी ।

रमिया अधीर थिई वा छे । तातो सबालको तत्काल जबाब खोज्ने बानी कुन्नि कुन जन्म वा गाउँमा कहिले पसेको हो, उसलाई थाहा छैन । झन् केही दिन पहिले मात्र आफ्नो शरीरलाई जलाएको देखेकी छे । मरेपछि तत्कालै मुक्ति खोज्ने रमियालाई कहीँ पनि प्रतीक्षा पट्यार लाग्छ ।

खेन्हाले नम्र भएर भन्यो – “हो, त्यहीँ हो गेडही । तिम्रो घर, मेरो पछिल्लो जन्म गाउँ । तर मेरो यसभन्दा पहिलेको जन्म अहिले हामी बसेको ठाउँमा भएको हो । पहिले गेडही यही लमाहा र चानीको संङ्गमस्थलीमा थियो । सङ्गमभन्दा उत्तरको जुन अनकन्टार, दुर्गम र दुर्जन ठाउँ हो, यही हो हजारौँ वर्ष पुरानो इतिहास भएको गेडही ।”

 

“अनि किन र कसरी त्यहाँ गयो गाउँ ?” रमियाको जिज्ञासा झन् बढ्यो ।

“देवग्राममाथि जय गरेपछि मुसलमानहरुले यस गेडहीमाथि पनि आक्रमण गर्ने योजनामा थिए तर यस गाउँका केही वीरहरू देवग्राममा पुगेर आक्रमण नगर्न आग्रह वा सम्झौता गर्न गए । तिनीहरुले मानेनन्, झडप भयो । कोही पनि हारेनन् । केही दिन समय शान्त रह्यो । अनि फेरि आक्रमण गर्ने कुरो सुनियो । फेरि वीर युवकहरुको टोली पुग्यो । दोहराएर कुराकानी भयो, झगडा भयो, झडप भयो । फेरि पनि कोही हारेनन् ।

त्यही दोहराएर झडप भएको ठाउँ दोहर हो । दोहोरो सहमति भएको ठाउँ दोहर हो ।

तर पनि गेडहीमा डर थियो । राति आरामले निद्रा लाग्दैनथ्यो गेडहीलाई । अनि एक दिन छलफल गरेर नकटीमाईलाई साक्षी राखी यहाँभन्दा केही पूर्व गेडही बसाईँ सर्यो । यस गाउँमा दोस्रो चोटि लमाहालाई भेट्न चानी मोडिएको कुनामा बसेको गेडहीमा जन्मेको हुँ । अहिले पुर्नी गेडही भनिने ठाउँ तिनतिरबाट पानीले घेरिएको एकदमै सुरक्षित थियो । पूर्व र दखिनमा एउटै नदी, गाउँसँगै टाँसिएर बहने एउटा ठूलो पैनी थियो जुन ओलारमा गएर चानीमा मिसिन्थ्यो । सबैमा बारै महिना पानी बहन्थ्यो । अझ पश्चिमबाट यही लमाहा नदीले सुरक्षित पारेको अत्यन्त रमणीय ठाउँ थियो । अहिले भद्रगोल बन्दैछ ।” खेन्हाको कथा सुन्दासुन्दै नजिकै रमियाले देखिन् नकटीमाईलाई । नकटीमाईको नामोच्चारण गरेको थियो खेन्हाले । नाम उच्चारण भएपछि देवी प्रकट भइन् । लमाहा र चानीको सुन्नर मिलन भएको ठाउँकी देवी हुन् नकटीमाई । आज पनि नकटीमाई पूजित देवी हुन् ।

जीवित शरीर भएको भए रमिया एकदमै डराउँथी देवीलाई देखेर । वा देवीलाई देख्न सक्दिनथी । मरेपछि देउता र मानिस बराबर हुन्छन् । कुरा गर्न सक्छन् । सँगै बस्न सक्छन् । मनको गतिले हिँड्न सक्छन् । शरीर नभएपछि खानाको आवश्यकता पर्दैन, तिर्खा लाग्दैन । अर्पण र तर्पणको भाव भनूँ वा अंशले शक्ति प्राप्त हुन्छ । स्फूर्ति र आलस्य दुवैमाथि विजय हुन्छ । कहीँ कतै नाम लिएर वाणी वा हृदयले बोलाउँदा सुन्छन् । त्यसैले नामोच्चारण हुनासाथ सुन्नरमाई उपस्थित भएकी थिइन् । आफ्नो संशय दूर गर्न रमिया प्रश्न तेस्र्याउँछिन् – “मलाई कति दिनसम्म यसरी यताउति यहाँ आराम गरिरहनु पर्छ ?”

“यहाँ मेरो संरक्षणमा बस्न पाउने भनेकै सराध नहुञ्जेल हो । धेरै पहिले सराध सकिएपछि पनि बस्ने अनुमति दिन्थें र मन लागुन्जेल रमाइरहने छुट दिएको थिएँ तर यस छुटको बेफाइदा उठाउँदै मेरा प्रिय ग्रामबासीलाई केही आत्माले दुःख दिन थालेका थिए । त्यसैले अब यहाँ कसैलाई बस्न दिन्न । जो जति प्रिय भए पनि आफ्नो निर्धारित समयमा यहाँबाट मर्नुपर्छ ।” नकटीमाईको जबाब सुनेर रमिया ढुक्क भई । नकटीमाईले फेरि थपिन् –“यो खेन्हरियालाई थाहा छ, यहाँको नियम । यो अनुभवी हो । यसलाई मानिस कसरी आउँछ र जान्छ भन्ने राम्ररी थाहा छ । जहाँसम्म मलाई सम्झना छ – यस गाउँमा यो दुईपटक आइसक्यो ।”

“के तपाईँ मूर्घटियाकी देवी हो ?”

“ए, खेन्हा ? तिमी शान्त छौ अहिले । अलिकति बताइदेऊ त मेरो बारेमा ।”

अनि खेन्हाले सम्झाउँदै भन्यो रमियालाई –“मुर्दा लिएर आउनेहरुले पूजा गर्दैनन् । तिमी छठ पबनी गर्न आउँदा यहाँ पूजा गथ्र्यो कि गर्दिनथ्यौ ?”

“जनिजातहरु मुर्दा जराउन कहिल्यै आउँदैनन् । त्यसैले मैले थाहा नपाएकी हुँ । छठमा त मैले धेरै पूजा गरेकी छु नकटीमाईलाई । तर पनि मलाई जान्न मन लाग्यो कि नकटीमाईलाई यस गाउँले जन्मायो कि नकटीमाईले यस गाउँलाई जन्म दिएकी हुन् ?” रमियाको प्रश्नको अन्त छैन ।

“दुवै गलत हुन् । वैशालीबाट नदीको किनारै किनार मानिसको एउटा हुल यस दुवैतिर भनूँ वा तिनतिरबाट नदी भएको र पानीको कहिल्यै कमी नहुने ठाउँमा आएर बस्न खोज्दा गेंडाले आक्रमण गरेको थियो । किनभने यहाँ गेंडाहरुको बथान बस्थ्यो । गेंडाको बस्तीमाथि मानिसको हस्तक्षेप भएको थियो । जङली जानवरसित लड्न सबैभन्दा ठूलो हतियार आगो थियो । लप्कायुक्त अगुल्टाले लखेटेपछि उत्तरतिर भागेका गेंडाहरु कहिल्यै फर्केनन् ।” खेन्हाले बेलीविस्तार लगाउँदै थियो कि बिचैमा फेरि रमिया बिचैमा बोलीहाली –“तिमी प्यास मरेपछि पानी दिन्छौ ।”

“अर्काको भरमा आफ्नो तिर्खा कहिल्यै मेटिँदैन । जसलाई जस्तो तिर्खा लाग्छ उसलाई त्यस्तै पानीको आवश्यकता पर्दछ । दिनेले त आफूसित जस्तो पानी छ, त्यस्तो दिने न हो ।” नकटीमाई भनिन् ।

सायद रमियाले बुझिन । खेन्हातिर हेरिरही । खेन्हाले फेरि भन्न सुरु गर्यो–“बस्तीका मानिसहरुले थाहा पाए कि संगमस्थलीको पानीको सुरक्षा गर्ने देवी हुन् नकटीमाई ।”

एउटा भैंसबार आएर नजिकै दिसा बस्न खोज्दैछ । तिनै जना कता अलप भए कता । दिसा बस्दै गर्दा अस्ति पोलेको मुर्दाको जिउँदो खरानी अलिकति उडेको जस्तो देख्यो भैंसबारले । भूतमाथि उसको अलिकति पनि विश्वास छैन तर मनमा भने चिसो पस्यो । थोरै पर उसको भैंसीले उसैलाई हेरिरहेको थियो ।

-सञ्जय साह मित्र

सञ्जय साह मित्र

पत्रकार/लेखक

प्रतिक्रिया