सम्भव/असम्भव

सुशील नेपाल २०७९ साउन २१ गते १:२६ मा प्रकाशित

समयले समयलाई पछाऱ्यो ,
लालाबालाहरू सयपत्री फूलको माला भिरेर परदेश हिंडेका,
बालुवाको राप र मरूभूमिको अनकन्टारमा कताकता रूमलिएर,
फर्कदा काठको बाकसमा फर्के !
सम्भव रहेन छ सोचेको
जिजीविषा !
असम्भव रहेछ,
मृगतृष्णा !

सम्भव र असम्भवको पनि अचम्मको द्वन्द्व हुँदोरैछ,
सम्भव-
स्निग्ध,सफा र सकारात्मक ।
असम्भव –
कुटिल जाली र फटाहा,!
हुन् संकेतहरू,

तर-

जब सम्भव र सम्भावनालाई असम्भवको तगारोले छेकिदिन्छ,
सम्भव पनि असम्भव भइ दिन्छ !
के हामीले समृद्धि पाउन सम्भव थिएन ?
छम्-छम् नाचेकी प्रकृति,
कल-कल सुसाई रहेका खोला-नाला,
पाहाडको छाती फुटाल्न सक्ने पाखुरा भएका
वीरहरूको देश !

आज अर्काको देशमा,
मुग्लान पसेर गहभरि आँशु बोकेर टुलुटुलु हेर्दै रून्छन्,
गोर्खाली !
हिमालको उचाई सम्झेर भक्कानिन्छन् ,
जति उचो हिमाल छ,
त्यति नै नीच भए चाटुकारहरूका हुल-
लागिपरेका देखिन्छन् सम्भवलाई
असम्भव बनाउन् ।

कसरी सम्भव हुने स्थितिको सपना
असम्भवको तुवाँलो ढाकेको होला ?
के यो गोर्खालीको वीरभूमिमा
प्रकृतिले सजाएको समृद्धिको बगैंचा माँझ-
थपक्क बसेको यो मुलुकको अनुहारमा
हर्षको लाली फक्रन के सम्भव थिएन ?
किन आज असम्भव लाग्छ ?
सम्भव !
एकथरी सम्भवलाई असम्भव बनाएर,
देशको रगत चुसिरहेका छन्,
रक्तपिपासुहरू ।

अझैं पल्याक पुलुक्कहेर्दै गरेको देखिन्छन् !
असम्भव छ, मूर्खहरूलाई सम्झाउन,
सम्भव छ,उद्धमीलाई बाटो देखाउन,
असम्भव छ लोभीपापीलाई देशप्रेमी बनाउन,
अव त सवै सम्भवहरू असम्भव लाग्न थाले,
असम्भवले सम्भवको घाँटी थिचेको छ,
नअघाएका मतियारहरू
असम्भव कर्तुत गर्दै हिंडे ,

सम्भवको त अब सम्भावना पनि देखिदैंन भन्छन् देख्ने सुन्नेहरू !
कोही उत्तर लागे कोही दक्षिण ताक्छन्,
अव त सम्भवलाई पछारेर असम्भव गर्नेहरू बढे,

विकास होईन विनासको पदचाप पो सुनिन्छ ,
चाल मारेर सुस्तरी आउदैछ,
एउटा नसोचेको भविष्य ।
सम्भवको सम्भावना देखिदैंन,
असम्भव चैं बरू सम्भव हुदैछ,
कतै नभएको जात्रा
तीन करोड नेपाली
अविरल हेर्न वाध्य छन् ।
सम्भव असम्भवजस्तो देखिन्छ,
असम्भव सम्भव !

८/५/२२

राजमित्र प्रांगण
माल्डेन,बोस्टन
अमेरिका

सुशील नेपाल

लेखक /साहित्यकार

प्रतिक्रिया