प्रदेश नं १ मा ३२ लाख ७५ हजार नागरिकले कोभिड विरुद्धको खोप लगाए

इनेप्लिज २०७९ साउन ९ गते २१:५५ मा प्रकाशित

 

विराटनगर,९ साउन । प्रदेश नं १ मा कोभिड–१९ को विरुद्ध लगाइने खोप ३२ लाख ७५ हजार ८६६ नागरिकले लगाएका छन् ।

प्रदेशमा ४९ लाख ८२ हजार २५० लक्षित जनसङ्ख्यामध्ये १२ वर्षदेखि माथिका ७९ प्रतिशतले कोभिड १९ विरुद्धको पूर्णमात्रा खोप विस २०७९ साउन चार गते सम्म लगाएको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख शम्भु साहले जानकारी दिनु भयो ।

खोप लगाउने मध्ये १२ वर्षमाथिका ८१ प्रतिशतले पहिलो मात्रा, ७९ प्रतिशतले दोश्रो र पाँच प्रतिशतले बुस्टर डोज खोप लगाएको प्रमुख साहले बताउनु भयो ।

प्रदेशमा कोभिड १९ विरुद्धको छ प्रकारका खोपहरु नागरिकहरुलाई लगाएका छन् ।यसरी लगाइएका खोपहरुमा कोभिशिल्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, अष्ट्राजेनेका, फाईजर र मोर्डना रहेका छन् ।

कोभिशिल्डको पहिलो मात्रा चार लाख ४० हजार ८२१, दोश्रो मात्रा चार लाख ७१ हजार ५४२ र बुस्टर तीन लाख ७९ हजार ८९८, भेरोसेलको पहिलो मात्रा १७ लाख ४४ हजार ८७०, दोश्रो मात्रा १३ लाख ५९ हजार ८७१ र बुस्टर डोज ४९ हजार ५९६, जोन्सन एण्ड जोन्सन (एक मात्र मात्रा)को पाँच लाख ७५ हजार ६० र बुस्टर डोज सात लाख ४८ हजार ७३२, अष्ट्राजेनेकाको पहिलो मात्रा चार लाख २८ हजार १४२, दोश्रो मात्रा तीन लाख ४० हजार ९३६ र बुस्टर डोज तीन लाख ४४ हजार १३० सर्वसाधारणले लगाएको प्रदेश व्यस्थापन केन्द्रले जनाएको छ ।

यसैगरी फाईजरको पहिलो मात्रा एक लाख ४६ हजार ८८८, दोश्रो मात्रा ७२ हजार २८ र बुस्टर डोज ९१ हजार २६९, मोर्डनाको पहिलो मात्रा पाँच लाख ४१ हजार ६७६, दोश्रो मात्रा चार लाख ७२ हजार ४०१ र बुस्टर पाँच लाख एक हजार ७६ जनाले लगाएका छन् ।

प्रदेशमा ३३ लाख ३२ हजार ३९७ ले पहिलो मात्रा, ३२ लाख ६७ हजार ३८ ले दोश्रो मात्रा र १४ लाख ३० हजार ७०१ ले बुस्टर डोज खोप लगाएको प्रमुख साहले जानकारी दिनु भयो ।

प्रदेशमा अहिलेसम्म ७१ लाख ५७ हजार ४३९ मात्रा खोप आएको छ । कतिपय नागरिकहरुले पहिलो खोप लगाए पश्चात विदेश गएको, अन्य प्रदेशमा लगाएको र व्यवस्थित अभिलेख राख्न नसकेको कारण दोश्रो तथा बुस्टर मात्रा कम देखिएको छ ।

प्रदेशका तराईका जिल्लाको तुलनामा पहाडी तथा हिमाली जिल्लामा खोप लगाउनेको सङ्ख्या तुलनात्मक रुपमा वढी रहेको प्रमुख साहले बताउनु भयो ।

तराई क्षेत्रमा विभिन्न अफवाह एवं भ्रमका कारण खोप लगाउनेको सङ्ख्या कम हुन गएको केन्द्रले जनाएको छ।

यस्तै प्रदेशका १० जिल्लामा भेरोसेल, जोनसन र फाईजर खोपको मौज्दात रहेको केन्द्रले जनाएको छ।

ताप्लेजुङ, ओखलढुङ्गा, धनकुटा, मोरङमा कोभिड १९ विरुद्धको खोप मौज्दात नरहेको केन्द्रका निरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनु भयो ।

ङ्खुवासभामा भेरोसेल तीन हजार एक सय, सोलुखुम्वुमा भेरोसेल ५० र जोनसन २५०, खोटाङमा भेरोसेल पाँच सय र जोनसन २५०, भोजपुरमा भेरोसेल ७०, जोनसन १५ हजार, तेह्रथुममा भेरोसेल तीन सय, जोनसन चार सय, पाँचथरमा भेरोसेल एक हजार आठ सय, जोनसन दुई हजार ४८०, इलाममा जोनसन दुई हजार ५००, झापामा भेरोसेल एक हजार २००, जोनसन २६ हजार ६००, फाईजर एक लाख २५ हजार २००, सुनसरीमा भेरोसेल १००,जोनसन तीन हजार, फाईजर एक लाख १८ हजार र उदयपुरमा जोनसन दुई हजार ३८५ डोज खोप मौज्दात रहेको छ ।

प्रदेशआपूर्ती व्यवस्थापन केन्द्र कार्यालयमा फाईजरको एक लाख ७४ हजार ८०० सय मात्रा मौज्दात रहनुका साथै प्रदेशका सवै जिल्लामा गरी चार लाख १८ हजार डोज खोप बाँकी रहेको कार्यालयका श्रेष्ठले जानकारी दिनु भयो । प्रदेशमा अहिले सरदर दुई हजार ८५० जनाले दैनिक खोप लगाइरहेको कार्यालयका प्रमुख साहले बताउनु भयो ।

यस्तै प्रदेशमा ११ हजार कोभिशिल्ड खोप खेर गएको छ । केन्द्रका अनुसार म्याद सकिन १५ दिन बाँकी रहेको अवस्थामा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाण्डौबाट उक्त्त खोप पठाएको कारण खेर गएको जनाएको ।

केन्द्रबाट १२ हजार कोभिशिल्ड पठाएको अवस्थामा जिल्लाहरुबाट माग नभएको अवस्थामा मोरङ जिल्ला कारागारमा एक हजार खोप खपत भै बाँकी रहेको ११ हजार खोप खेर गएको छ।

प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रका प्रमुख साहले यसअघि पनि प्रयोग हुन नसक्दा अष्ट्राजेनेकाको ५० हजार खोपको मात्रा खेर गएको थियो ।

प्रतिक्रिया