उसैको उधारो छ!

दिपेश पराजुली २०७९ असार १५ गते २१:४२ मा प्रकाशित

दूर क्षितिजमा गोधूलि सूर्य
छालहरुको मिठो माधुर्य
चराहरु उडछन् झुण्डमा
बादलको दर्पण कुण्डमा
उष्ण बालुवा, शीतल पानी
बालुवामै लेखिएको अधुरो प्रेम-कहानी
चन्द्रमाको त्यो अद्भूत आर्कषण
बहकिएका छाललाई उक्साउछ झन्-झन्
सागरका ती लहरहरु-
मेरा मनका उद्देलित रहरहरु झैँ
मेरा हृदयका असंख्य ज्वारभाटा झैँ
उचालिन्छन, छछल्किन्छन,
अनि सूर्यको उग्र प्रकाशले
बाफ़िएर धर्तीमै पुन थचारिन्छन !

सागरको कुनै एक शान्त किनारमा
आफ्नै जिज्ञासाहरुको निर्मम कारागारमा
ठिङ्ग उभिएको म एक असहाय मनुवा
हात मेरा साना तर भवसागर तर्ने मनसुवा
सोच्छु- यो सागर कसले, किन बनायो?
अस्तित्त्वको यो बिहङ्गम दृष्टान्त
आखिर किन चलायो?
जल उसैको, स्थल उसैको
बालुवा उसैको, पालुवा उसैको
घामको हर किरणमा उसैको राप छ
पानीको हर बूँदमा उसैको छाप छ
ईश्वर, कदाचित कुनै व्यक्ति होइनन
जो स्वर्गमा बास गरेका छन्
जसको कुनैदिन “दिव्य-दर्शन” पाउने
मूर्खहरुले आस गरेका छन्
हर पदार्थमा उसैको आभा छ
हृदयको अहोभावले हेर्दा
मन्दिर/मस्जिद छ, आफैं भित्र
आफैंभित्रै काशी अनी काबा छ !

यी यस्तै तरंगहरु बीच
इन्द्रेणीका सप्तरंग बीच
चल्दैछ जीवनको सन्दिग्ध डुंगा
कहिले ढुलमुल त कहिले मन चंगा
चर्म चक्षुले न देख्छ माझि,
न देख्छ किनार
हातमा पनि मेरो हो कि
उसैको हो पतवार ?
कुनै द्रब्यले किन्न नसकिने
कुनै श्रब्यमा सुन्न नसकिने
कुनै बेदमा नलेखिएको
कुनै पुराणमा नकल्पिएको
मलाई त्यो शुन्यताको आवाज सुन्नुछ
मलाई आफैं भित्रको ब्रम्हाण्ड बुझ्नुछ
कदाचित मलाई सागरको गहिराई हैन
आफ्नै मनको ठहराई जान्नु प्यारो छ
मेरो भन्नु त आखिर, यो निमिष मात्र न हो
बाकि त सब, उसैको उधारो छ
बाकि त सब, उसैको उधारो छ!

-दिपेश पराजुली

प्रतिक्रिया