प्रवासी नेपाली मञ्च क्यानाडाको अध्यक्षमा बिश्वम्भर घिमिरे निर्विरोध निर्वाचित !!

इनेप्लिज २०७९ असार १३ गते २२:२५ मा प्रकाशित

मदन बस्नेत, क्यानाडा। प्रवासी नेपाली मञ्च क्यानाडाको तेस्रो राष्ट्रीय अधिवेशनले बिश्वम्भर घिमिरेलाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ।

क्यानाडाको अति ब्यस्त शहर टोरोन्टोमा जुन २५ शनिबारका दिन सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशनले अध्यक्षमा बिश्वम्भर घिमिरे र सचिब रमेश धिताल रहने गरी कूल ३५ सदस्यीय कमिटीलाई सर्बसम्मत ढंगले निर्वाचित गरेको हो।

एमाले स्थाई समिती सदस्य तथा बिदेश बिभाग प्रमुख डा. राजन भट्टराईको प्रमुख आतिथ्य तथा प्रवासी नेपाली मंच अंतरष्ट्रिय सल्लाहकार परिषद संयोजक संजय थापा, प्रवासी नेपाली मंच उत्तर अमेरिकी कमिटी संयोजक इश्वरी भट्ट तथा प्रवासी नेपाली मंच अमेरिकाका नव निर्वाचित अध्यक्ष कृष्ण लामिछाने, नेकपा एमाले गण्डकी प्रदेश कमिटी सदस्य सन्तोष रावलको आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा क्यानाडामा रहेका नेपाली नेतृत्वका अन्य दुई दर्जन भन्दा बढी संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो।

गैर आवासीय नेपाली संघ अन्तराष्ट्रीय समन्वय परिषदका सचिव चिरञ्जीवी घिमिरे तथा एनआरएनए, आईसीसी, अमेरिकाज् रिजन क्षेत्रिय उप संयोजक अभिमन्यु बस्नेतले पनि मंचको अधिवेशनमा सहभागिता जनाउनु भएको थियो। कलाकारद्वय पुरुषोत्तम न्यौपाने र रिता बुर्लाकोटीको पनि बिशेष उपस्तिथि रहेको थियो।

शुभकामना मन्तव्य राख्ने सबैले मंचका निवर्तमान अध्यक्ष तथा ओएनअफ अन्तर्राष्ट्रिय कमिटीका सदस्य रमेश थापाको उच्च प्रशंसा गर्दै अब आउने नयाँ नेतृत्वले थापा कै जस्तो उर्जा र गतिशीलताका साथ मंचलाई अघि बढाउने बिश्वास प्रकट गर्नु भएको थियो। थापाले बिगत दस बर्षदेखि मंचको नेतृत्व गर्दै आउनु भएको थियो।

एमालेका दशौँ महाधिवेशनका प्रतिनिधि रामहरि खड्काको संयोजकत्वमा गठित निर्वाचन समितिले बन्द सत्रका दौरान प्रस्तुत प्रवासी नेपाली मञ्च, क्यानडाको नयाँ कमिटीलाई हलले सर्वसम्मतिले पारित गरेको थियो।

अधिवेशनमा क्यानाडा जिटिए अन्तर्गतका टोरोन्टो, मिसिसागा, ब्राम्प्टन र स्कार्ब्रो लगायत अन्य सहरहरुबाट समेत गरि झण्डै तीन सय जनाको सहभागिता रहेको थियो। कार्यक्रममा क्यानाडा भ्रमणमा रहनु भएका नेपाली बुबा आमाहरुको समेत उल्लेख उपस्थिति रहेको थियो।

– मदन बस्नेत, क्यानाडा।

 

 

प्रतिक्रिया