कानु जातिबाट निर्वाचित जनप्रतिनिधिहरु रौतहटमा सम्मानित

इनेप्लिज २०७९ असार ११ गते १६:४४ मा प्रकाशित


रौतहट,
अल्पसंख्यक समुदायको कानु जातिबाट निर्वाचित सर्लाही, रौतहट र बाराका जनप्रतिनिधिहरुलाई शनिवार रौतहटको शिवनगरमा सम्मानित गरिएको छ । कानु समाज कल्याण समिति रौतहटले गणिनाथ गोविन्द मन्दिर शिवनगरमा आयोजित सम्मान तथा शुभकामना कार्यक्रममा गत बैसाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा निर्वाचित वडा सदस्य, वडाध्यक्ष, कार्यपालिका सदस्य, नगर उपप्रमुख तथा नगर प्रमुखहरुलाई पूर्वमन्त्री ज्वालाकुमारी साह र प्रदेश साँसद बाबुलाल साह कानुले संयुक्त रुपमा सम्मानित गरेका हुन् ।

सम्मान कार्यक्रममा वक्ताहरुले जातीय गौरव बढाउन पारस्परिक सहयोगको आवश्यकता रहेझैँ समाजलाई अगाडि बढाउन छोरीलाई पढाउनु पर्ने कुरामा जोड दिएका छन् । छोरीलाई अंशको साटो शिक्षा दिँदा उज्यालो जीवनका धेरै बाटो खुल्ने हुनाले सबै वक्ताहरुले छोरी शिक्षामा जोड दिएका हुन् ।

पूर्वमन्त्री ज्वालाकुमारी साह, प्रदेश साँसद बाबुलाल साह, गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साह, बाराको महागढीमाई नगरपालिकाकी उपप्रमुख गीतादेवी साहसहित अल्पसंख्यक कानु जातिबाट स्थानीय तहमा सर्लाही, रौतहट र बारामा निर्वाचितजनप्रतिनिधिहरुले एकै स्वरले छोरी शिक्षामा जोड दिएका हुन् ।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा गरुडा नगरपालिका ५ का वडाध्यक्ष विनोदप्रसाद कलवारले दुई लाख र गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमनि प्रसाद कलवारले मन्दिर निर्माणका लागि दश लाख रुपैया सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यसै गरी देवाही गोनाही नगरपालिकाका नगर प्रमुख प्रेमलाल साहले बिस हजार इँटा र दुई सय बोरा सिमेन्ट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

गौरका नगर प्रमुख शम्भु साह र प्रदेश साँसद बाबुलाल साहले आफूहरुले पहिलेदेखि नै सहयोग गर्दै आएको र आवश्यकताअनुसार सबै किसिमले सहयोग गर्दै रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रमका वक्ताहरुले बदलिँदो जमानाअनुसार रोजगारका विभिन्न क्षेत्रमा गौरव आर्जन गरिरहेका छन् ।

प्रतिक्रिया