विराटनगर, १ असार(रासस)::प्रदेश नं १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आब्बोले आर्थिक वर्ष २०७९÷८० को लागि कुल रु. ३९ अर्ब ७३ करोड ८३ को राजस्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्नुभयो ।
प्रदेश नं १ को प्रदेश सभा नियमावली, २०७४ को नियम ११४(१)बमोजिम मन्त्री आब्बोले आज सदनमा पेश गर्नुभयो ।
प्रस्तुत राजस्व र व्ययको अनुमानमा स्थानीय तहमा वित्तीय हस्तान्तरण तर्फ रु.तीन अर्ब १५ करोड १५ लाख र सङ्घीय अनुदान बचत फिर्ता तर्फ रु.दुई अर्ब रहेको छ। आगामी आर्थिक वर्षका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोत मध्ये प्रदेश सरकारको आन्तरिक राजस्वबाट रु.चार अर्ब ९८ करोड ४५ लाख, राजस्व बाँडफाँडबाट रु.११ अर्ब ८८ रकेड २४ लाख, सङ्घबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदानबाट रु.नौ अर्ब ८२ लाख, सशर्त अनुदानबाट रु.आठ अर्ब ६९ करोड ५९ लाख, समपुरक अनुदानबाट रु.९२ करोड र विशेष अनुदानबाट रु.४७ करोड ५० लाख गरी राजस्व तथा वित्तीय हस्तान्तरणबाट रु.३५ अर्ब ९६ करोड ६० लाख खर्च व्यहोर्ने जनाइएको छ । बाँकी अपुग रकम नगद मौज्दातबाट रु.तीन अर्ब ५१ करोड ५५ लाख तथा वैदेशिक अनुदानबाट रु.२५ करोड ६८ लाख व्यहोर्ने बजेटमा उल्लेख छ ।
प्रस्तुत बजेटमा आगामी आर्थिक वर्षको राजस्व नीति र करका दरहरु निर्धारण गर्दा कराधारको संरक्षण गरी करको दायरा विस्तार गर्ने, राजस्व प्रशासनलाई प्रविधिमैत्री जनाई प्रक्रियागत सरलीकरण गर्ने, कर परिपालना र कर सहभागित अभिवृद्धि गर्ने, राजस्व प्रशासनमा संलग्न जनशक्त्तिको क्षमता विकास गर्ने र सरोकारबालाहरुसँगको समन्वयमा राजस्व चुहावट नियन्त्रण गर्ने राजस्व परिचालन नीति अङ्गिकार गरेको जनाइएको छ ।
प्रतिक्रिया