काँठे भाका लाेक छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३१” सम्पन्न।

इनेप्लिज २०७९ जेठ २८ गते ९:५२ मा प्रकाशित
काठमाडौँ,
टुक्का साहित्य समाजकाे आयाेजनामा यही २०७९ जेठ २४ गते  “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-३१” सम्पन्न भएकाे छ।प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट ३० नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

छन्दमा टुक्का अभ्यास श्रृङ्खला विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।

यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत काँठे भाकामा टुक्काहरू सिर्जना गरेका थिए। विशेषगरी काठमाडौ उपत्यका र यसका वरिपरिका जिल्लाहरूमा गाइने ठाडो भाकालाई काँठे भाका भनिन्छ ।

आधुनिकताकाे चपेटामा परेर लाेक संस्कृतिकाे रुपमा रहेकाे काँठे भाका हाल लाेप हुँदै गएकाे अवस्थामा प्रयाेगवादी लघुत्तम काव्यिक विधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै नेपाली लाेक संस्कृतिकाे जगेर्ना गर्न खाेजिएकाे हाे ।

कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले लाेक संस्कृतिकाे रुपमा रहेकाे काँठे भाका हराउँदै गएता पनि त्यही शैलीमा प्रयाेगवादी नव काव्यिक विधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि संस्कृतिलाई जाेगाउने प्रयास गरिएकाे र उत्साहपूर्वक काँठे भाका लाेक छन्दमा सुन्दर टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।

आक्षरिक छन्द अर्थात लाेक छन्द अन्तर्गतको काँठे भाका
~ यस भाकामा अक्षरको गन्ती हुन्छ।
~ आकार,इकार,उकार लागेका सबैलाई १ अक्षर गनिन्छ।
~ आधा अर्थात काटिएका अक्षर गन्ती हुँदैनन्।
~ काठे भाकाकाे सूत्र ४+२+४+२+४+३=१९

अभ्यासकाे क्रममा सङ्कलन गरिएका काँठे भाका (लाेक छन्द) का केही टुक्का कविताहरू

[१]
१.
लाग्न थाल्यो भर्षा आउँदैछ पानी  खेत बारी जोतौंला,
छरौं मकै कतै कोदोपनि धान जस्तैगरी रोपौंला ।
२.
हरियाली देश बनाएर इटा विकासमा थपौंला,
जीवनमा हामी श्रमजिवी मिली दु:खसुख गनौँला ।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही१८

[२]
१.
पर्यो साँझ अहो! झ्याउकिरी कहाँ कान मेरो बजेको ,
देखिन्दैन केही बुढोपाको भएँ छैन मायाँ सजेको।
२.
लौरी छैन मेरो कताकता छाम्नु छैनन् सुन्ने रोदन,
कोही छैन यता छेउछाउ हुने कता जाउँ सोधन।
३.
यता हेर्छु पाखा,उता देख्छु भिर कहाँ गई अडिने,
ढाड भयो कुप्रो,भएँ एकै थुप्रो कसरी हो
ठडिने।
✍️ होम प्रसाद न्यौपाने
धरान,सुनसरी

[३]
१.
भयङ्कर आगो जीवनमा लाग्यो निभाउन छ गाह्रो
मायालुले भुली जाँदा आज दिन बिताउन नि साह्रो ।
२.
सम्झनाको पोको खन्याउनु कता पाइएन लौ ठाउँ
बाध्यतामा परेँ आजकल फर्की जान्छु आफ्नै नै गाउँ ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ, हाल- प्रवास

[४]
१.
दुःखसुख साटौँ रमाउँदै, आफ्नै बन भिर पाखामा,
ठाडाे काठे भाका गाउँदै छु, माया झल्कियाे त्याे आँखामा।

२.
रिमझिम पानी बर्सिएकाे, पारी सल्लेरीकाे बनमा
बाेल्न पनि गाह्राे मान्छाै किन, चाेट के पर्याे त्याे  मनमा।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी, हाल प्रवास[५]
रातदिन सम्झी तिमीलाई बस्छु दियो बत्ती जलाई,
जति बिर्सुं भन्छु त्यति धेरै याद आइदिन्छ मलाई ।
✍️ डम्बर थामी ‘अनुपम’
कालिन्चोक गा.पा. -६, दोलखा ।

[६]
हृदयको कुना बसेको छ माया जोगाउन मिलेर,
आँखालाई थाहा पाउन नै आँसुु हुनसक्छ बिलेर।

✍️ अम्विका अधिकारी
झापा विर्तामोड[७]
मानवीय सत्रु, लगातार अझ, सदा कस्न खोज्दछन्
स्वादेहरू रस, पाएको नै बेला,उस्तै डस्न सोच्दछन् ।
✍️ प्रेम थापा”मन”
बागलुङ

[८]
१.
इसारामा आँखा जुधाएर आँफै हराए छु सोचेर,
बस्नुपर्दा दिल रुवाउँदै खप्दै दिवास्वप्न घोचेर।
२.
प्रतिदिन सम्झि तिमीलाई मायाँ गरिरहे मनले,
हाम्रो चोखो माया छुट्टाउन धेरै कष्ट दियो धनले।
✍️ अच्युत घिमिरे
भुटान बाट 🇧🇹

[९]
१.
सरासर आयौ  मोडिएनौ ,बाटो थुनथान गरिनँ,
बसिहाल्यो माया  तोडिएन, काँडे तारबार परिनँ।
२.
घरबार जोडौ  कान्छादाई, बेला  पर्खदैन गैजाला,
दिल‌दिल्को घर आँखैभरि, मेला सजावट भैजाला।
✍️ मनोहरी पौडेल
गैडाकोट १,मिलनटोल, नवलपुर

[१०]
१.
पहाडको ठिटो तिमीलाई, मन पर्छ या त पर्दैन,
अनुमति बिना मायालुको,हात माग्न अघि सर्दैन।
२.
हिमालकी छोरी गोरीलाई,मन पराएर म आएँ,
झरना झैँ सङ्ग्लो मनभित्र,प्रीति रोप्नलाई म धाएँ।
३.
मायालाई भनि संगालेको,मेरो वैंशहरू हुर्कियो,
नजिकैमा देख्दा उनीलाई,कता कता मन फुर्कियो।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।

[११]
१.
म त जान्छु उसै चौतारीमा बस्दै गीत गाउँ भनेर ,
तिमी आऊ प्यारा यहीँ बस्छन् सारा गीतकार बनेर।
२.
खेत बारी टारी खनी खोस्री गर्न बाँकी नै छ हेर्दैछु ,
हलगोरु नारी खेतीपाती गर्दै काठे भाका फेर्दैछु ।
✍️ बेदु न्यौपाने
काठमाडौ

[१२]
१.
नियालेर हेर आँखाभित्र, तिम्रै पाउनेछौ तस्बिर,
भेटिनेछ खुसी जिन्दगीको, बदलिन्छ पुरै तक्दिर।
२.
नमारेर आफ्ना इच्छाहरू, नभत्काई कुनै सपना,
बनाउँछु स्वर्ग जिन्दगी यो, भरोसाको राखी थपना ।
✍️ वसन्त अनुभव
घोराही, दाङ

[१३]
१.
बाेल्नुपर्छ माया राम्रोसँग, धेरै कुराहरु साेचेर,
भन्नपर्दा किन रुवाउँछाैँ , सधै वचनले घाेचेर।
२.
दु:ख सुख गरि रमाउँला, आफ्नै गाउँ ठाउँ  घरैमा,
बसेकि छु म त आफ्नो मान्छे, प्यारा हजुरकाे भरैमा।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल

[१४]
१.
कलकल बग्ने कन्काई यो नदि , हिमबाट झरेको ,
लाली बैँस तिम्रो  देखि पछि कान्छी , सारै मन परेको ।
२.
हाँसौँ , खेलौँ ,नाचौँ रमाइलो गरौँ , दुइदिने जीवजीवन,
मरि गए लानु , छैन केही कान्छी , समाल्नु है त्यो मन ।
✍️ बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४ झापा

[१५]
१.
छङ्ग छङ्ग बग्ने खोला नाला तर्दै आउदैछु लिएर,
मनपर्छ नाई तिम्रो छेउ चिनो फर्कन्छु म दिएर।
२.
साथीसंगी भर्ने रमाईलो मेला बजारमा गएर
गाउछन गीत सधैँ घाँस काटि भेला सबजना भएर ।
✍️ दुर्गा आचार्य
मोरङ

[१६]
१.
के असल हुने कसाेगरी हित जनताकाे यो बुझ्नु,
कि भनेको मान ठूला मान्छे हैन देवता नै नपुज्नु ।
२.
त्यो हुँदैन,भुल हुनेछ जाे भन्दा झार्ने भए आकाशै,
अहिले यो हविगत भयो, देखे पछुतो छ तमासै ।
३.
अझै पनि छल गरीराछन् बुझ जनता हो साराले,
ढाँट्नसम्म ढाँटे,बन्दैन त देश हुन्न यही पाराले ।
✍️ रामप्रसाद पुरी
बादेल, खाेटाङ ।

[१७]
१.
मेरी प्राण प्यारी तिमी नै हैा, मलाई चैँ अझै नहेर्ने
यति बिघ्न मायाँ गर्दागर्दै ,किन मलाई नै नटेर्ने  ।
२.
हेर मेरी सानु बनाउछु ,हामी बस्नेगरि घरनै
मलाई त तिम्रै यो जुनीमा, अझै छ है ठुलेा भरनै ।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं

[१८]
१.
यो नेपाल हाम्रो विश्वमाझ सधैँ जुहारझैँ गनिन्छ
प्राकृतिक स्रोत अधिक छन् चिने मालामाल बनिन्छ।
२.
तिमीलाई देखेँ तस्बिर पो लेखेँ दिलभित्र लुकाएँ
रातभरी सम्झेँ जूनलाई हेरेँ नीदमात्रै चुकाएँ ।
✍️ रामशरण न्यौपाने
भक्तपुर

[१९]
१.
मेलापात जाँदा सेलचुँडी खाँदा गफ गुड्डी हानियाे ,
उत्साहित थिएँ परदेशमा अाएँ माेफती मानियाे  ।
२.
सुनसान हाेला देउराली डाँडाे कुहिराेले माेडेर ,
भक्कानाे फुट्दछ उनलाई सम्झी ब्यर्थ भयो छाेडेर ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[२०]
१.
कति बस्छ्यौ? तिमी माइतमा अब रेलै चढी जाउॅंला,
बराबरी  बाँडौं  हामी दुई  सॅंगै  हिॅंड्दै  गीत  गाउॅंला।
२.
बुकी फुल्यो उता पाखाभरि छटा सौन्दर्यता छरेर,
जुनेलीमा खेलौं लुकामारी डुम बालकझैं सम्झेर।
✍️  म्यामराज राई हतुवागढी-६,होम्ताङ्,भोजपुर,हाल:-जापान

[२१]
नेताहरू थाम्नै नसक्ने त्याे, धेरै धनमाल कमाए
सबै पैसा देश विदेशमा, किन लुकाएर जमाए ।
✍️ मल्ल लक्ष्मी श्रेष्ट
मेची किनार बिर्तामोड झापा

[२२]
सिकारु को टुक्का कविता हो लेख्न साारै जान्ने म हैन,
इच्छा जाग्यो अनि अघि बढे यसै ज्ञान केही त छैन।
✍️ सुर्यमणि  रेग्मी
चितवन

[२३]
अलकत्रा  दाग  कपडामा  लाग्यो  जाँदैन है धोएर
माया तिमी टाढा सम्झना छ गाढा बस्छु म त रोएर ।
✍️ गुणनिधि घिमिरे
खान्द्रोङ्ग पाँचथर
उर्लाबारी मोरङ  हाल अमेरिका

[२४]
१.
सिमसिमे पानी वर्षायाम आयो खेतीपाती मेलामा,
खाजाभुजा लिई मेलापात जाओैँ झिसमिसे  बेलामा ।

२.
आली भित्ता गर्नु तासतुस सधैं दाइभाइ उठेर ,
बेसी खेत फेरि जानुपर्छ रोप्न  साथीसङ्गी जुटेर ।
✍️ भगवती दवाडी
झापा[२५]
१.
जनताले आस विकासको गरे नेपालको हितमा
नेता अब लाग्नु पर्छ फ़ेरि पनि जनताको जीतमा ।
२.
नेपालको नाम चम्काउदै अघि विश्व माझ देखाऔँ,
त्यो गिनिज बूक इतिहास बन्छ नाम हाम्रो लेखाऔँ ।
३.
हिमालको काख मुस्कुरायो फेवा बेगनास यो ताल
पर्यटन  बर्ष  मनाउन पर्छ भित्र्याउदै  नेपाल।
✍️ तारा घिमिरे
संखुवासभा

[२६]
१.
सावनकाे भेल गहभरी, सुख्खा हुनथाल्याे नयन,
हराउँछ निँद रातभरी, हुन्न उज्यालाेमा चयन ।
२.
अझै पनि याद अाइदिन्छ, भुल्न नसकिने रहेछ,
जिन्दगीमा दुःख पीडाअनि, चाेट मनभरी सहेछ ।
✍️ गाेपालकृष्ण डंगाेल
काठमाण्डाैँ (हाल इटहरी) ।

[२७]
१.
जताततै हुन्न जानलाई, मीठो मानीकन खानाले,
समयको खती नगरे है, कत्ति दु: ख दिन्छौ सानाले ।
२.
गयो दिन तिम्रै स्याहारमा, यत्ति कुरा बुझ मायाले,
हामीलाई सधैं सहारा छ, टेवा दिने वर छाँयाले।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक

[२८]
लौन सानु तिम्रो याद आई रह्याे घरबार जाेडाैँन,
पिरतीकाे हाम्राे सहयात्रा अब लक्ष्य तिर माेडाैँन ।
✍️ शंकर कार्की
मकवानपुर

[२९]
मिठाे पिठाे बाँडी खाउँ फर्की आउ परदेशी ए प्यारा
छुट्टीएर टाढा नजाउ है काटाैँ जिन्दगी भै सहारा ।
✍️ दुर्गा भट्टराई
मोरङ

[३०]
के गर्नु र प्यारी छ ऋणकाे भारी चुक्त्याउनु परेर ,
जादै छु म आज तिमीलाई छाडी बस धैर्य गरेर ।
✍️ प्रद्यम्न चालिसे
भक्तपुर कटुञ्जे

>> जय टुक्का! जय साहित्य!! <<

Attachments area

प्रतिक्रिया