असार १ आइतबार जापान,
टोकियोको ओकुबोस्थित नेवा डाइनिङ् रेस्टुरेन्टमा विश्व नेपाली साहित्य महासङ्घ (विनेसाम), जापान शाखाले आफ्नो छैटौँ स्थापना दिवस गजलकार द्वय प्रमोद श्रेष्ठ र दिया शाह विशेष पलेँटी गजल सन्ध्या – २०२५ को आयोजना गरी मनाएको छ ।
नेपालको राष्ट्रिय गान लगत्तै प्रमुख अतिथि लेखक, विश्लेषक, समाजवादी दर्शनका अध्येता विश्वभक्त दुलाल आहुतिद्वारा पानसमा दीप प्रज्वलन गरी सुरु भएको कार्यक्रमको समुद्घाटनमा विशेष अतिथिको रूपमा एनआरएनए एसिया प्यासिफिक संयोजक तथा जापानका अन्तर्राष्ट्रिय कानुनविद् एवम् अधिवक्ता डा. बलराम श्रेष्ठ, एनआरएनए कान्तो जापानका अध्यक्ष अशोक कार्की, नेपाली भाषाका ज्ञाता तथा जापानी साहित्यकार हारुहितो नोजु र नेपाल आदिवासी जनजाति महासंघ (नेफिन), जापानका उपाध्यक्ष विनोद स्याङ्तानको उपस्थिति थियो । अतिथिहरूमा किरात याक्थुङ चुम्लुङका अध्यक्ष मनकुमार तुम्सा, नेपाल मगर सङ्घ, जापानका अध्यक्ष रामहरि खपाङ्गी मगर, नेपाल तामाङ समाज, जापानका महासचिव जनक थोकर, पूर्वी विकास नेपाल सहकार्य केन्द्रका उपाध्यक्ष पेमानुरी शेर्पा, ग्लोबल फोरम जापानका संरक्षक धन बहादुर बि.क., किराया कान्तोका अध्यक्ष ध्रुवदेव राई, अनेसास बोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार गृष्मा पौड्याल, विनेसाम जापान शाखाका संरक्षक देवीबहादुर इङ्नाम, विनेसाम जापानका सल्लाहकार भुवन रोका, साहित्य चौतारी नेपाल जापानका संरक्षक अमरदेव बास्तोला, अनेसास जापानका अध्यक्ष अरूण पौडेल, साहित्य चौतारी नेपाल जापान शाखाका अध्यक्ष सरिता ढकाल, जापान समाचार डटकमका प्रधान सम्पादक गोकर्ण अधिकारी लगायत आमन्त्रित थिए ।
सोही अवसरमा भीम विरही राईको बारुदले कोरेका अक्षरहरू र शकुन आँसुको नवयुगकी सुम्निमाको प्रवास विमोचन गर्दै कार्यक्रमका प्रमुख अतिथिले नेपाली भाषामा सॅंगसॅंगै सम्भव हुने स्रष्टाले आफ्नो मातृभाषा साहित्यमा पनि लेख्नु पर्ने आजको आवश्यकता रहेको बताउॅंदै एउटा राष्ट्रिय भाषा लोप हुनु भनेको चार हजार वर्षको ज्ञान मर्नु सरह हो, भने । विश्वको जुनसुकै भूगोलमा पुगे पनि नेपालीको साहित्यिक संघसंस्था खोल्ने सकारात्मक प्रवृत्ति रहेको बताए । नेपाली साहित्यको अग्रणी स्थानमा रहेका प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई र श्रवण मुकारुङको दृष्टान्त दिँदै उनीहरूले आफ्नो मातृभाषामा समेत लेखेर मात्रै खास साहित्यमा योगदान दिएको ठहरिने जिकिर गरे । जापानी साहित्यकारहरूले अङ्ग्रेजीमा नभई आफ्नै भाषामा लेखेर नै नोबेल पुरस्कार जितेका हुन् । हामी पनि आफ्नै भाषामा लेखेर त्यो तहसम्म पुग्न सकिने सम्भावना रहेको भन्दै सेतो जिराफ शीर्षकमा एउटा आफ्नो कविता सुनाएका थिए । कार्यक्रमको आकर्षणमा गजलकार द्वय श्रेष्ठ र शाहले भने दर्जनका दरले आआफ्ना गजलको रसास्वादन गराए ।
स्थापनाकालदेखि आजसम्मको संस्था बारे संक्षिप्तमा शाखाका सल्लाहकार भुवन रोकाले बेलिबिस्तार लगाउॅंदै हामी कोही कसैसँग प्रतिस्पर्धाका लागि नभई विशुद्ध साहित्य सेवाका लागि एकिकृत भएको बताए भने त्यही भनाइमा समर्थन जनाउॅंदै संस्थाका संस्थापक अध्यक्ष तथा संरक्षक देवी बहादुर ईङ्नामले सबैको प्रयास र मिहिनेतले छैटौँ स्थापना दिवस मनाउन सफल भएको बताए । अनेसास बोर्ड अफ ट्रस्टी सदस्य तथा साहित्यकार पौड्यालले आफ्नो नवीन कृति सङ्घर्ष १०१ मुक्तकसङ्ग्रह बारे छोटोमा बोल्दै उक्त सङ्ग्रहबाट केही मुक्तकहरू समेत सुनाए । कवि रोशन यक्सोको सम्झनाको चोमोलुङमा, लघुकथाकार राजन घलेको मारुनी, कवि प्रविण लामाको सिनकानसेनको देशबाट, कवि सयपत्री थुलुङ्को गाउॅं फर्किरहेको परदेशी, मुक्तककार गृष्मा पौडेलको सङ्घर्ष १०१, उपन्यासकार बालिका बान्तावाको प्याउली लगायतका साहित्यिक कृतिहरू विशेष प्रदर्शनीमा राखिएका थिए ।
दोस्रो सत्रमा राखिएको खुल्ला रचना वाचनमा क्रान्ति चेम्जोङ, अमरदेव बास्तोला, गृष्मा पौड्याल, शारदा पाण्डे, अविरल पाण्डे, समर प्रेम, राजन घले, लक्ष्मी अर्गेजा मगर, प्रविण लामा, भुवन रोका, म्यामराज राई र सम्झना चाम्लिङ् लगायत डेढ दर्जन हाराहारीले आफ्नो साहित्यिक कोसेली बाँडेका थिए ।
शाखाका सदस्य कुविर लामाको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रम शाखाकी सहसचिव सयपत्री थुलुङले पहिलो र उपाध्यक्ष शिवराज राईले दोस्रो सत्र सञ्चालन गरेका थिए । यसै शाखाका अध्यक्ष रविन्द्र दिखुक्पाको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।
प्रतिक्रिया