जुन ५, २०२२, तदनुसार २०७९ जेठ २२ गते विश्व वातावरण दिवस २०२२ को उपलक्ष्यमा हिमाली संरक्षण समूह, पोखराको प्राविधिक संयोजनमा वन तथा वातावरण सम्बन्धि साहित्यिक सृजनात्मक संगोष्टी सम्पन्न भयो ।
वन तथा वातावरण विषयलाई आफ्नो पेशागत मुलधार बनाएका र सृजनात्मक साहित्य लेखनमा क्रियाशील दुई दर्जन भन्दा बढी साहित्यकार एवम साहित्यानुरागी बीच पर्यावरणीय साहित्य लेखन विषयमा घनिभूत छलफल भयो ।
नेपाल, क्यानडा, अमेरिका लगायतका स्थानबाट जोडिनु भएका सहभागीहरुबाट आ-आफ्नो विचार, भावना तथा सुझावहरु प्रस्तुत भए । कार्यक्रमको प्राविधिक संयोजन गर्ने संस्था हिमाली संरक्षण समूह, पोखराका संस्थापक अध्यक्ष डा. भरतमान श्रेष्ठले सहभागीहरुको स्वागत गर्दै हिमाली संरक्षण समूहले वन, वातावरण र साहित्यको क्षेत्रमा वि. सं. २०५६ देखि जनचेतना मुलक कार्यक्रमहरु निरन्तर गर्दै आएको बताउनु भयो । वन तथा वातावरण संरक्षणमा साहित्य जनचेतनाको सशक्त मध्यम भएकोले लागि हिमाली संरक्षण समूह प्राविधिक संयोजनकारी भूमिका निर्वाह गर्न सदैव तत्पर रहेको जनाउनु भयो ।
डा. हिम लाल श्रेष्ठ तथा डा. ऋषि बस्ताकोटीले संयुक्त रुपमा संचालन गर्नु भएको सो कार्यक्रम वन तथा वातावरण विज्ञान अध्ययन गरेका र साहित्य सिर्जनामा लागेका साहित्य प्रेमी बिच आफ्नो साहित्यिक यात्राको जानकारी सहित कार्यक्रम शुरु भएको थियो ।
उक्त कार्यक्रममा डा. रोशन शेरचनले विषय प्रवेशको रुपमा “ सृजनात्मक लेखनमा हामी वन / वातावरण कर्मी” भन्ने शिर्षकमा कार्यापत्र प्रस्तुत गर्नुभएको थियो ।तत्पश्चात सो विषयमा डा. ऋषि बस्ताकोटीले सामुहिक छलफल संचालन गर्नुभएको थियो ।
कार्यक्रममा बिष्णु आचार्य, लक्ष्मी दत्त भट्ट, सुभास देवकोटा, कृष्ण वस्ती, मीना गुरुङ, कमला रुपाखेती, डा. प्रदिप रोकाया, रमा घिमिरे, रमेश प्रभात, डा. चन्द्र गिरी, डा. कृष्ण हरि गौतम, प्रा. डा. लेखनाथ शर्मा समेत जोडिनु भई सक्रिय छलफलमा सहभागी हुनुहुन्थ्यो ।
कार्यक्रममा हरि अधिकारी, मुक्ति गौतम, सुवास देवकोटा, कुमुद श्रेष्ठ र बुद्धिबल श्रेष्ठले आ-आफ्नो पर्यावरणीय कविता वाचन गर्नुभएको थियो ।
कार्यक्रमको निचोडको रुपमा वन तथा वातावरण लेखक संजाल विस्तार गर्ने, सृजनात्मक लेखन कार्यशाला संचालन गर्ने, लेखन परिमार्जनको लागि मेण्टरशिप कार्यक्रम गर्ने, वि. सं. २०७९ भित्र एउटा संयुक्त प्रकाशनको पहल गर्ने, र वन तथा वतावरणिय पेशामा संलग्नहरुलाई पर्यावरणीय साहित्य लेखनमा अभिप्रेरित गर्ने साझा अवधारणा तय भयो ।
प्रतिक्रिया