प्रशिक्षक अनिल खग्रासकाे संयाेजनमा सञ्चालित उक्त अभ्यासमा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट २७ नेपालीभाषी सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।
छन्दमा टुक्का अभ्यास श्रृङ्खला विभिन्न छन्दहरू सिकाउँदै छन्दमा टुक्का कविता लेखनकाे विकास गरि नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने उद्धेश्यका साथ टुक्का साहित्य समाजका संस्थापक अध्यक्ष ताराप्रसाद चापागाईंकाे परिकल्पनामा प्रारम्भ भएकाे थियाे ।
यस श्रृङ्खलाका सहभागीहरूले लाेक छन्द अन्तर्गत सिलाेक छन्दमा टुक्काहरू सिर्जना गरेका थिए।
पहिले – पहिले छोरी माग्न जाँदा माइती र जन्ती पक्ष बिचमा जुहारी हुने र जन्ती पक्षले जितेमा मात्रै छोरी दिने चलन रहेछ, यसैलाई सिलोक भनिएको हो । अाधुनिकताकाे चपेटामा परेर लाेक संस्कृतिकाे रुपमा रहेकाे सिलाेक हाल लाेप हुँदै गएकाे छ ।
कार्यक्रमकाे समापन गर्दै संस्थापक अध्यक्ष चापागाईं तथा संयाेजक/ प्रशिक्षक खग्रासले लाेक संस्कृतिकाे रुपमा रहेकाे सिलाेकहरू हराउँदै गएता पनि त्यही शैलीमा प्रयाेगवादी नव काव्यिक विधा टुक्का कवितामा यसकाे प्रयाेग गर्दै केही मात्रामा भए पनि संस्कृतिलाई जाेगाउने प्रयास गरिएकाे र उत्साहपूर्वक सिलाेक छन्दमा सुन्दर टुक्काहरू सिर्जना गरिएकाेमा सहभागी सबै टुक्काकारहरूलाई बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे ।
सिलोक छन्द
सूत्र:- ३+३+३+३,२+२+३ = १९ अक्षर
बाह्र अक्षरमा विश्राम
अभ्यासकाे क्रममा सङ्कलन गरिएका लाेक छन्द अन्तर्गत सिलाेक छन्दका केही टुक्काहरू
[१]
१.
ए! सम्धी हजुर लौ छोरी दिनुहोस्, बोल्यौँ एकै मुखमा,
छोरो हो शिक्षक राम्रो छ तलब, राख्छ सदा सुखमा।
२.
छोरीको चाहना चल्दैन बहाना धन भन्दा मनको,
भए नि कुरुप हृदय सुन्दर, बनोस् वाह! जनको।
✍️ अनिल खग्रास
पर्वत
[२]
१.
कहाँको तिमी नि कहाँको हामी हौ,भेट भयो धरान,
गाऔँला गीत नि लगाई प्रीतले,जोडौँ एकै परान।
२.
शीतल हावामा बसौँला एकछिन्,पाखा खोला रमाई,
उकाली ओराली भञ्ज्याङ चौतारी,पाखुरिमा समाई।
✍️ होम प्रसाद नेउपाने
धरान,सुनसरी ।
[३]
१.
निष्ठुरी भनेर जानेकाे भए त, हुन्न भन्थेँ मायामा,
राेएरै बित्दै छ एक्लाे याे जीवन, गयाे घाम छायामा।
२.
घुमी र फिरी नि ल्यायाे है घेरेर, दुःखी मेराे याे कर्म,
मन त थिएन निष्ठुरी बन्नमा, बुझ्नु मेराे याे मर्म।
✍️ ताराप्रासाद चापागाईं
धुनिबेसी, हाल प्रवास
[४]
मायालु रसिलो पिरती कसिलो, सार हुन्छ जिउन,
तोडेर झस्काइ बाँचेको जीवन,भार हुने सिउन।
✍️ मनोहरी पौडेल
गैडाकोट १, नवलपुर
[५]
१.
तिमीले चुनाव लडेर जितायौँ ठुलो कुरा के होर?
देशमा विकास गरेर देखाऊ मीठो शब्द नी कोर।
२.
भ्रष्ट छ व्यवस्था महंगी बढाए दिनदिनै नेताले,
विदेश भाग्नु छ निमेक पाउन सधैँ बुढा केटाले।
✍️ सुरेशकुमार पान्डे
दाङ घोराही१८
[६]
१,
तिम्रो त्यो हँसिलो मुहार मलाई मन पर्यो बेसरी,
भनौँ म कसरी सुनौलो त्यो तिम्रो केश सुन केशरी।
२,
जिन्दगी भनेको कर्कला को पानी जस्तै हुँदो रहेछ,
सम्झेर ल्याउँदा दुख्दछ यो दिल अश्रु धारा बहेछ।
✍️ लक्ष्मी श्रेष्ट
बिर्तामोड झापा
[७]
१.
जमाना खराब देखिन्छ अचेल, राम्रोसँग जोगिनु
हेरेर पाइला अगाडि बढाए छैन कोही रोगिनु ।
२.
गलिन्छ थाकिन्छ अगाडि बढेर काम गर्दा गाउँमा
मायालु भाकामा बोलाए गइन्छ आफ्नै प्यारो ठाउँमा ।
३.
पिरती लाउँला मायामै बाचौँला साथसाथै रहौँला,
गरौँला वाचा र कसम मरौँला सँगै दु:ख सहौँला ।
✍️ राजेशराज गड्तौला
रतुवामाई- १०, मोरङ
हाल- प्रवास
[८]
पहिलाे नजर झुकेर हेर्दा नै, माया भरेँ मनमा
धनाढ्य घरकी रहिछ्याै तिमी त, पछि परेँ धनमा ।
✍️ निरज कोइराला
बेलका न पा १
[९]
१.
हजारौँ कठिन यात्रामा पनि त तिम्रो साथ छोडिनँ,
अनेक समस्या तारेर गएको बाचा मैले तोडिनँ ।
२.
लुकेर हानेछौ छातीमा तीरले मर्नै गाह्रो भएछ,
सम्झना कहिल्यै आएन साथमा ओैँठी चिनो रहेछ ।
३.
बिहेको दिनमा भेटेर गएको बेला माया बल्झेछ
सिलोक गीतको मजामा रहदा दिल त्यही अल्झेछ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड
[१०]
१
फुलेको फूलमा भमरा बनेर लौ है हामी आएछौँ,
रीति र संस्कार बुझाई लाने हो कन्यादान धाएछौँ।
२
कुलकी सुपुत्री पढेकी लेखेकी छैन केही संस्कारी,
कसरी पाल्दछौ खुट्टामा नउभी कतै हैनौ औतारी?
✍️ म्यामराज राई
हतुवागढी-६,होम्ताङ्,भोजपुर,हा
[११]
१.
उकाली ज्यानको बाँसैको लिङ्गुरो त हावाले नुहायो,
मादलु तालमा नाचेर बैनी हौ कति राम्रो सुहायो ।
१.
सुरिलो रुखको सुकेको हाँगामा नटेक्नु है लडिन्छ,
जान्नु न तान्नुको नगर्नु कर्म त आफैँ मान्छे सडिन्छ ।
२.
गल्ती त छिट्टै नै देख्दछ मान्छेले सबैको त्यो बानीले,
मान्छेको कर्ममा मद्दतै गर्छ रे भन्थी सानी नानीले ।
४.
नमस्ते भन्दैछु म व्यस्तै बन्दैछु यहाँ टुक्का लेख्नमा,
गर्न त गाह्रो छ लेख्न नी साह्रो छ सजिलो छ देख्नमा ।
✍️ गुणनिधि घिमिरे
[१२]
१.
गरेर असल सबैको हामीले, अघि अघि सरेर,
मरेर कसैले के छ र पाउनु, मरिहत्ते गरेर ।
२.
छोडेर आएको घरमा बाआमा, आफन्तीको भरमा
फर्केर आइजा भनेर बोलाए, बाआमाले घरमा।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही १४ बुटवल
[१३]
१.
घरमा बुहारी खाँचो छ आमाले तिमीलाई हेरेको,
खुलेर आइछ्यौ मिडिमा खै चोला सारी चाहीँ फेरेको?
२.
साथीले बोलायो पाखामा ऐँसेलु खाने जुन दाउमा,
दौडेर पुग्दा ऊ बनेली लैजाने गर्यो धुन छाउमा।
३.
जनता आजित भैसके नतिजा अझै धेर आएन
स्वतन्त्र व्यक्तिमा मत गो पार्टीमा दिलचस्पी लाएन।
✍️ रामशरण न्यौपाने
भक्तपुर
[१४]
१
नगरी सकिनँ स्याहार चटक्कै, छोड्न मन लागेन ,
एकता समय नमिले पटक्कै, अन्त तन भागेन ।
२
हेरेर मुहार कलिलो मुनाको, कट्दै दिन बितेछ,
जगत संसार अवश्य फेरियो, विश्व रथ जितेछ ।
✍️ जमुना आचार्य
सिन्धुपाल्चोक
[१५]
१.
साथमा प्रमाण लिएर आको छु डर मान्नु पर्दैन,
त्यो तिम्रो मनमा के कुरा सोचेको लुकाएर टर्दैन।
२.
छोरीको जिन्दगी पराई ठाउँमा जानुपर्छ भनेर,
यि कुरा मनमा खेल्दैछन् बेसरी सोच्दै थिएँ गनेर।
✍️ अच्युत घिमिरे
भुटान बाट 🇧🇹
[१६]
१.
आमाले खाेजेकाे मैले नै राेजेकाे, मेरी कान्छी नानीकाे,
भाे निन्दा नगर म शंका गर्दिन, छुकछुके बानीकाे ।
२.
लेखेको पाइन्छ देखेको हुँदैन, किन मन अमिलो ?
हितको मायालु काखैमा राखाैँला,मिले दिल गतिलो ।
✍️ केशव प्रसाद ढकाल`प्रीतबीज´
गाेरखा
[१७]
१.
रिसायौ कि कसो सोल्टिनी हजुर? बोल्ने मनै गरिनौ,
सोल्टिको प्रेमिल इसारा लत्याई , छेउ पनि परिनौ।
२.
हराई सकेको संस्कृति संस्कार, खोज्नै पर्छ ल आऊ,
सेउली समाई सिलोक जुहारी, खेल्ने भए नी जाऊ।
✍️ अरुण कु.भुजेल
गोरूबथान,कालेबुङ्ग,भारत।
[१८]
१.
आमाको मुहार झल्झली आउँदा रोएँ धेरै अहिले
पराई घरमा फुर्सद हुँदैन काम पर्छ जहिले ।
२.
पसिना बगाई घाेटिन्छु काममा भात खान पुग्दैन
सम्झेर ल्याउदा नयन भिजाएँ वर्षे झरी सुक्दैन ।
✍️ तारा घिमिरे
संखुवासभा।
[१९]
१.
आउन मायालु छेउमै बस न, किन गर्छौ अटेरो ,
परेको छैन है सँगै नि बस न, हान्दिउला झटेरो ।
२.
कसैको सम्झना बोकेर मनमा, कति दिन बाँच्नुछ ,
नभन त्यसरी मायालु तिमीले, भन भरी साँच्नुछ ।
✍️ बुद्धिमान दनुवार
कनकाई नगरपालिका ४ झापा
[२०]
१.
निष्ठुरी बनेर गएथ्यौ विदेश किन घुर्की लगायौ ,
आउँछु भनेर भनेका थियौ नि के को पत्र पठायौ ।
२.
चिरेर हेर यो छातिमा राख्याछु माया मैले भरेर ,
बसेकी छु यहाँ पिरमा डुबेर तिम्रै याद गरेर ।
✍️ बेदु न्यौपाने
भोजपुर, निवास काठमाडौ
[२१]
१.
आँखाकी पुतली बनाई राखुँला माया गरि आँतमा,
जिन्दगी भरिनै अटौली मुटुमा पक्का भए बातमा।
२.
बोलीमा मोहनी मिठास रसिलो मन्द हाँसो मधुरो,
बन्नेछ जीवन सुरम्य सुन्दर शान्त नहोस् अधुरो।
३.
जीवन पियारी मायालु दौतरी लाऊ माया सुजेर,
जुनेली रातमा नफस बातमा जाऊ कुरा बुझेर ।
✍️ बिबस पारदर्शी
भद्रपुर- २ झापा
[२२]
१
मायालुलाई नै कसरी फकाउँ दिल मेरेा धड्कियेा
साँचेर राखेकेा पिरती हेरन नदिएरै पड्कियेा ।
२
उज्यालो हँसिलेा मुहार हेरेर गीत राम्रो भनेर,
मायालु हृदय हाम्रो नै हो भनि मिठा बात गरेर।
✍️ पवन कुमार बुढाथेाकी
काठमाडौं ।
[२३]
१.
मायाको हिसाब गरेर तिमीले मेरो दिल सारेछौ
मै खोक्रो भएर सुखको दिनमा आफ्नै दिल हालेछौ।
२.
सुस्ताको कुरा त, उठेकाे हरायाे खै के भयाे देशैमा
त्यहाको मनिस, रुदैछ अहिले, मन दुख्ने बेसैमा।
✍️ एवाइ प्रभात
धनकुटा, हाल मोरङ
[२४]
बिहेमा आएका छौ कति सिलोक सुनी देऊ सबैले,
बेहुला बेहुली मिलेका जोडी छन् भनी देऊ कसैले ।
✍️ भगवती दवाडी
झापा
[२५]
१.
बाेलायाै तिमीले किनहाे भनिद्याै शंका भयो मलाई ,
टाेलायाै हेरेर कुनामा एकलै मन मुटु जलाइ ।
२.
मुटाव मनमा नराख बिल्कुल रिस राग खराबी ,
प्रेमी हुँ असल कर्तव्य सक्कल हाेइन म सराबी ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।
[२६]
१.
अजर अमर को छ र भनन, किन गर्छौ घमण्ड ?
अधैर्य नबन अब त अतिभो, तिम्रो दुष्ट उदण्ड ।
२.
चिन्ता जो गरेर रोएर बसिछौ, हरे दैव गुहारी !
आउन्न कोही त गएको आफन्त, भगवान पुकारी ।
३.
पाउँछ कति पो आनन्द नीरिह, निर्धो जीव ती मारी ?
पर्दछ जालमा अवश्य हेर न, एक दिन शिकारी ।
४.
पापीले लगेछ लुटेर सम्पत्ति, थैली सबै निखारी,
उनको मायामा बनेछु बाटोमा, हात थाप्ने भिखारी ।
✍️ गोपालकृष्ण डंगोल
काठमाण्डौँ, (हाल इटहरी)
[२७]
१.
फूलकाे वासना मायाकाे साथमा, खुबै हाँस्याे रमाइ ,
ममता तिमीले दिएमा सन्सार, फेर्ने इच्छा मलाई ।
२.
आमाकाे काखमा रमेर बसाैन, जन्मभूमि सजाइ ,
विदेश धाएर पराई नबन, बस मन कजाइ ।
✍️ प्रद्युम्न चालिसे
भक्तपुर
>> जय टुक्का! जय साहित्य!! <<
प्रतिक्रिया