नार्पाभूमि गाउँपालिकाअध्यक्षमा कांँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी

इनेप्लिज २०७९ वैशाख ३१ गते ११:१२ मा प्रकाशित

मनाङ, मनाङको नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा नेपाली कांँग्रेसका कोन्जो तेन्जिङ लामा विजयी भएका छन्। उनी १५८ मतसहित गाउँपालिकाको अध्यक्षमा विजयी भएका हुन्। उनका प्रतिद्वन्द्वी स्वतन्त्र उम्मेदवार कृष्ण लामाले १११ मत पाएका छन्।

खसेको ३०४ मतमध्ये ३५ मत बदर भएको छ। उपाध्यक्षमा भने एमालेका फुन्चो लामा निर्विरोध निर्वाचित भइसकेका छन्।

नार्पाभूमि गाउँपालिकाको अध्यक्षमा ०७४ सालमा नेपाली कांग्रेसले नै जितेको थियो । त्यसबेला यहाँ निर्विरोध निर्वाचन भएको थियो ।

०७४ को चुनावमा स्वतन्त्र उठेर उपाध्यक्ष बनेका कोन्जो तेन्जिङ लामा नै अहिले काँग्रेसका तर्फबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

नार्पाभूमि गाउँपालिकालाई नार फु पनि भनिन्छ । यस पालिकामा कुल जन संख्याभन्दा मतदाता संख्या बढी छ । यस पालिकाको जनसंख्या ३९८ छ भने मतदाता संख्या ४४८ छ ।

यस पालिकामा पुरुषभन्दा महिला मतदाता बढी छन् । पुरुष मतदाताको संख्या १९८ छ भने महिला मतदाताको संख्या २५० छ ।

पालिकाको वेबसाइटमा नार्फूको परिचय यसरी दिइएको छ–

नार्पा भूमि गाँउपालिका एउटा अत्यन्तै सुन्दर गाउँ हो । २०७३ को पुनः संरचनामा यसलाई नार र फु मिलाई एउटा गाउँपालिका निर्माण गरिएको हो ।

यो गाउँलाई सन २००३ देखि पर्यटकका लागि खोलिएको थियो । यो गाउँ चीनको नजिक पर्ने भएको र खम्पाहरूले यसलाई आफनो कार्यक्षेत्र बनाएको पाइन्छ ।

यहाँ हिमालको सुन्दरता र करीब ११ हजार फिटको उचाइमा बसेको मानव बस्ती, उत्पादन र मानव जीवन संचालनको सुन्दरताको समागम स्थल नै यसको खास विशेषता भेटिएको छ ।

मनाङको नार्फूमा जस्तै गोरखाका शहीदलखन, सिरानचोक, भीमसेन र गण्डकी लगायतका पालिकाहरुमा पनि कुल जनसंख्या भन्दा मतदाता संख्या बढी देखिएको छ ।

यस्तो हुनुमा सरकारी अधिकारीहरु पुरानो मतदाता नामावली अद्यावधिक नगरिएको र जनगणना भने ०७८ सालमा अपडेट हुनुलाई कारक मान्छन् ।

प्रतिक्रिया