हरेक शीर्षकमा पूर्णः ‘मालामा नउनिएका फूलहरू’

–उद्धव विष्ट ‘चुम्लुङे’, झापा २०७९ वैशाख २३ गते २२:१४ मा प्रकाशित

बिस वटा अलग, अलग लेखहरूलाई सङ्कलन गरेर प्रकाशित पुस्तकका प्रत्येक लेखले छुट्टाछुटै स्वाद पस्किएको पाइन्छ । प्रत्येक शीर्षक आफैँमा पूर्ण भएकाले अगाडि, पछाडि जुनसुकै शीर्षकबाट अध्ययन गर्दा पनि हुन्छ, कुनै क्रमभङ्गताको आभाष हुँदैन । पुस्तक अध्ययनको अनुभूतिलाई साञ्चै यहाँ व्यक्त गर्ने हो भने त प्रस्तुत पुस्तकभन्दा पनि बढी पृष्ठको हुन जान्छ जस्तो लाग्दछ । पुस्तकमा पाइएका विशेषताहरूलाई सारांशमा केही बुँदाहरू निम्नानुसार उल्लेख गर्न चाहन्छुः

पारिवारिक सचेतता, समाजलाई सन्देश

हामी सबै परिवारमा जन्मन्छौं, हुर्कन्छै र व्यवहार गर्दछौं । यस्तो अवस्थामा बाबाआमा लगायतका पुर्खाले गरेको सबै बिर्सन्छौं र सबै आफैँले गरेको सम्झन्छौं । ‘बाबाआमालाई समेत मैले पालेको छु’ भन्छौं । ‘म बाबाआमासँग बसेको छु’ भन्न नजान्नेहरूलाई यस पुस्तकले राम्ररी सम्झाएको लाग्दछ ।

लेखकले आफ्नो बाल्यकालको उदाहरण दिँदै तत्कालीन समयको सामाजिक अवस्थाको चित्र प्रस्तुत गर्दै अबका नानीबाबुलाई दिइएको सन्देश अत्यन्त मननीय लाग्दछ।आजका प्रत्येक आमाबाबाले, शिक्षकहरूले यस पुस्तक अध्ययन गरेर विद्यार्थीहरूलाई अध्ययन गर्ने प्रेरणा प्रदान गर्नु अति उपयोगी लाग्दछ । ‘अपरिचित परिचित भएपछि’ शीर्षकमा पनि बाल्यकालको प्रसङ्गसहित डि बी सरसँगको साथीत्व, अपनत्व र स्मरणलाई जीवन्त बनाएर प्रस्तुत गरिएको, जिल्ला शिक्षा अधिकारीको पदमा रहेका व्यक्तिले समेत विवेक गुमाएर ठाडो र रुखो शब्द प्रयोग गरेको नमीठो प्रसङ्ग (पृ.१५८) उल्लेख गर्दै पदीय र मानवीय शब्द प्रयोग गर्न डि बी सरले जस्तै दिल खोलेर हाँस्न र खुसी हुन सङ्केत गरिएको पाइन्छ ।

स्वार्थी कर्मचारीहरूको व्यवहारलाई चित्रण गरिएको

सासू बिमारी भएकाले त्यहीँ बहानामा हेरचाह गर्न काठमाडौँ सरुवा मागेका व्यक्तिलाई ‘ल हुन्छ तर विमारीको साप्ताहिक विवरण पेस गर्नुपर्ने छ हैं’ भने पछि पुनः फर्केर भित्र नगएको (पृ.१०), ‘हजुरआमालाई पालेको छु’ भनेर सरुवा माग्ने व्यक्ति पनि निस्केर हिडेका (पृ.११), दाजुभाइ कर्मचारी दवैले एकै ठाउँबाट बेग्लाबेग्लै जिल्ला सरुवा हुँदा आमाबाबा लैजाने भनेर १८९ फारम भर्ने गरेका तर बुझ्दा घर नजिकैको तीर्थ पनि नगराएका (पृ.१५), वैदेशिक भ्रमणबाट फर्केका कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लनासाथ त्यहीँबाट अर्को वैदेशिक भ्रमण चाहने, वैदेशिक भ्रमणबाट आइपुग्ना साथको भेटमा ‘फेरि अर्को भ्रमणको आशा राखेको छु है सर’ भन्न गाह्रो नमान्ने, बैठकमा आमन्त्रितहरूको भीड लाग्न खोज्ने, विवाह ब्रतबन्धमा जान काज माग्ने, बिदाको दिनमा अनावश्यक गाडीको पास माग्ने, एक दिन काम गरेको सट्टामा कञ्चनपुरदेखि भद्रपुरसम्मको भ्रमण बिल स्वीकृत गराइ माग्ने (पृ.२९७) जस्ता विषयहरू सविस्तार उदाहरण सहित व्याख्या गरिएका पाइन्छ ।

कुकुरका सोखी नव धनाढ्यहरूलाई शिक्षा

कुकुरका कुरा पौराणिक कालदेखि वर्तमान कालसम्मका यथार्थता उल्लेख गरिएको मात्र होइन, जापान र दक्षिण कोरियामा कुकुर पाल्ने तरिका र कुकुरको उपयोगलाई स्पष्ट पार्दै घरमा कुकुर पालेर आधुनिक खानदानी देखिन खोज्ने नेपालीहरूले सार्वजनिक स्थल र बाटामा फोहोर गराउने गरेको सार्वजनिक मर्मलाई तिखो प्रहार गर्दै समझदार बन्न सुझाइएको पाइन्छ । यहाँका केही पृष्ठ नै कुकुर पाल्नेहरूका गेटमा टाँस गरिदिन समेत सान्दर्भिक लाग्दछन् ।

परम्परागत विविधताको जानकारी

पोखराको नवीन स्कुलमा अध्यापन गर्दाको समयमा लेखकलाई आफ्नो गाउँमा अन्य गाउँको भन्दा भिन्न संस्कार भएको अनुभूति भएको । लेखकका गाउँमा मानिस मरेपछि शङख नबजाउने तर सहयोगका लागि “गुहार, गुहार” भन्ने, मलामी गएका मानिसहरूलाई पैसा दिने चलन रहेको जो अन्य नेपाली गाउँको भन्दा फरक भएको उल्लेख गर्दै लेखकले पुस्तकमा यस्ता प्रचलनलाई व्यावहारिक र यथार्थपरक ढङ्गले पुष्टि गरिएकाले विविध ग्रामीण परम्पराको जानकारी गराइएको पाइन्छ । मृत्यु संस्कारका बारेमा पोखरा क्षेत्र र बझाङ क्षेत्रको प्रचलनको विश्लेषण गरिएको छ । पुस्तकमा उल्लेख नभएको तर जानकारीका लागि मैले प्रस्तुत गर्दा पूर्वी नेपाल, खोटाङ, भोजपुर जिल्लातिर घरका सबै छोरीबुहारीहरूले पूरै तेह्र दिन जुठो बार्ने र मानो चामल लैजाँदा किरियामा बसेका मानिसहरूले एकछाक खान पुग्ने गरेर लाने चलन छ ।

इन्डोनेसिया र नेपालको मिल्दो चलनको प्रसङ्ग

नेपालमा माइलो, साइलो भनेर बोलाउने चलन भए झैं इन्डोनेसियाका मिस्टर फोरको उल्लेख छ पुस्तकमा । छुवाछुत नभए पनि इन्डोनेसियामा विवाह गर्दा ब्रह्माण जातिले अरूसँग विवाह नगर्ने गरेका, आउट ब्रिडिङ विवाह बढी मन पराउने गरेका कुरा ‘बालीको बास’ शीर्षकको पाठ पढ्दा जानकारी मिल्दछ । इन्डोनेसियाको बाली संसारकै मलिलो स्थान भएकोले बाह्रैमास धान फल्ने र त्यहाँका मानिसहरू नेपालकै जस्तो दिनमा तीन पटकसम्म भात खाने चलन रहेको जानकारी पाइन्छ । विश्वकै दामी र महङ्गो बुमबुम कफी इन्डोनेसियामा पाइने, बुमबुम कफी बनाउने, वर पीपल उमार्ने र अलैंचीको बीऊ बनाउने एउटै तरिका यस पुस्तकमा पाइन्छ ।

विदेशी प्रभावमा नपर्न राष्ट्रियताको सन्देश

लेखकको वैदेशिक भ्रमणको क्रममा मनिलाको कन्सुलेट अफिसमा भेट भएका एक भारतीय शर्मा थरको व्यापारीले “नेपालमा पश्चिमाहरूले क्रिश्चियन धर्मको प्रचार गर्दै गरेका र उनीहरूको प्रभावमा परेपछि राजनीति पनि उनीहरूका पोपले दिएको निर्देशनमा जान्छ है” भन्दै भारतको मिजोरम र नागालैन्डको उदाहरण दिँदै चिन्ता प्रकट गरेको प्रसङ्ग ज्यादै राष्ट्रियताले भरिएको जस्तो लाग्दछ (पृ.२२४) । भ्रमणमा पथ प्रदर्शन गर्ने मिलेसाले आफ्नो देश फिलिपिन्सको सङ्क्षिप्त र महत्त्वपूर्ण राजनीतिक इतिहाससहितको जानकारी गराएर कुशल पथ प्रदर्शकको भूमिका निभाइएको उल्लेख छ ।

नेपालको अस्थिर राजनीतिक फेहरिस्त प्रस्तुत

नेपालमा देशको अस्थिर राजनीतिको मार कर्मचारी वर्गमा पनि परेको (पृ.२३५) उदाहरण प्रस्तुत गरेर तत्कालीन अवस्थालाई परिचित गराइएको पाइन्छ । वि.सं. २०४८ सालमा बहुमतको सरकार गठन भएर पनि आफ्नै दलका सांसदहरूको असहयोगका कारण सरकार असफल भएर अस्थिरताको राजनीति प्रारम्भ भएकामा पटक पटक बहुमतको सरकार गठन हुँदा पनि आफ्नै दलका सांसदहरूको असहयोगका कारण वि.सं. २०७८ साल आइपुग्दासम्म नै नेपालको राजनीति अस्थिर रहिरहेको फेहरिस्त उल्लेख छ ।

मेकालेको शिक्षा नीतिबारे सविस्तार वर्णन

मेकाले (थोमस वैबिङ्गटन मेकाले) को सन् १८३५ शिक्षा नीतिको प्रसङ्गमा लेखकको अनुभूति छ कि हाम्रो शिक्षा पद्धतिले आफैँ केही गर्न सिकाएकै रहेनछ । अरूकामा नोकरी गर्ने, लाएअह्राएको काम गर्ने प्रवृत्तिको विकास गराएको रहेछ । सके स्वदेशमा अरूको काम गर्ने, नसके विदेशमा काम गर्ने । यस्तो प्रवृत्तिको विकास गराउने शिक्षा मेकालेको शिक्षा पद्धति रहेछ (पृ.२४७) । मेकालेको शिक्षा नीतिले हाम्रो परम्परागत शिक्षा प्रणालीलाई ध्वस्त पारेर नयाँ शिक्षा प्रणालीलाई पर निर्भर गरिदियो । मेकाले नयाँ शिक्षा पद्धतिलाई अङ्ग्रेजी भाषामा ढालेर भारतीय संस्कृतिलाई लोप गराउन चाहन्थे । उनले अङ्ग्रेजी भाषालाई शिक्षाको माध्यम भाषा बनाए । अङ्ग्रेजी भाषा जान्ने भारतीयहरूलाई नोकरी दिने पनि बनाए । भारतीयलाई नोकरी दिँदा इस्ट इन्डिया कम्पनीलाई फाइदा थियो किनभने भारतीयले कम तलबमा काम गर्दथे । सोही कामका लागि ब्रिटिसले धेरै तलब लिन्थे । मेकालेले अङ्ग्रेजी भाषालाई शिक्षाको माध्यम बनाएर भाषिक साम्राज्यको पनि सुरुवात गरे (पृ.२५३) ।

दार्शनिक ज्ञानको व्याख्या

यस पुस्तकमा वैदिक दर्शन, गुरुकुलीय शिक्षाका आधार बारेमा व्याख्या गरेको पाइन्छ । बुद्धले दिएका चारवटा ज्ञानबारे विस्तृत वर्णन गरिएको छ ।

(क)    दुःख छ । जन्मनु, बुढोहुनु, रोगी हुनु, मर्नु, चाहेको पूरा नहुनु, शोक र चिन्ता गर्नु दुःख हो ।

(ख)    दुःखको कारण छ । अज्ञान र तृष्णा नै दुःखको कारण हो ।

(ग)    दुःख हटाउन सकिन्छ । साँचो ज्ञान प्राप्त गरेर, तृष्णा त्यागेर दुःख हटाउन सकिन्छ ।

(घ)    दुःख हटाउने उपाय छ । आस्टाङ्गिक मार्ग अपनाएर दुःख हटाउन सकिन्छ ।

समाजका इमान्दार र सन्तोषी मानिसहरूका व्यवहारको फेहरिस्त

यस पुस्तकमा त्रेता युगका श्रीराम र भरतको त्यागदेखि दधिचि, राजा शिवी, राजा हरिश्चन्द्र, राजा वलि, युधिष्ठिर, बोधिसत्व, आचार्य चाणक्य, कलियुगका नेलसन मण्डेला, हाम्रै देश नेपालका गणेशमान सिंह, जनक शिक्षा सामग्री केन्दंमा ज्यालादारीमा काम गर्ने इमान्दार श्यामकृष्ण पौडेलm(पृ.३०३) देखि पत्रकार कनकमणि दीक्षितलाई भीरबाट झिकेर बचाउने साहुको भारी बोकेर हिड्ने इमानदार ढाक्रे पालुङटार नगरपालिका ९ भोर्लेका लोकबहादुर लामा (पृ.१६) साइला लामासम्मको इमान्दार कामको वर्णन पाइन्छ । सिराहा जिल्लामा शिक्षक पेसाबाट अनिवार्य अवकाश पाएका एकल महिला शिक्षकले पेन्सनको कागजातका लागि सिफारिस नपाउँदा सम्झना वनले सहयोग पुर्याएको प्रसङ्गले समाजमा सहयोगी भावना भएका अदावी मानिसहरू पनि रहेको उल्लेख पाइन्छ ।

अनावश्यक दावी नगर्ने व्यक्ति नै सञ्चा किसिमले सुखी हुन सक्तछ (पृ.२८४) । अत्यन्त धनी व्यक्ति पनि बेचैनीमा रहेको हुन सक्छ । अत्यन्त गरिब पनि रातको समयमा मस्तसँग निदाउन सक्छ । भारतीय प्रधानमन्त्री लालबहादुर शास्त्रीको सरल जीवन र उनले जेलमा बस्दा पाटीबाट पाएको सुविधा मासिक रु ५० बाट कटाएर रु ४० गराउन निवेदन दिएर कटाएको प्रसङ्ग उल्लेख छ । आचार्य चाणक्य प्रतापी राजा चन्द्र गुप्ताको प्रधानमन्त्री भएर पनि दुई वटा टुकी पालो गरेर सरकारी कामको समयमा सरकारी मट्टीतेल लगाएको टुकी र व्यक्तिगत कामको समयमा आफ्नै पैसाले किनेको मट्टीतेल लगाइएको टुकी बालेको प्रसङ्गले राज्य ढिकुटी संरक्षणको उदाहरण दिइएको पाइन्छ । हाम्रा देशमा सरकारी स्तरबाट बाँडिएको राहत लिन कारमा आउने मानिस पनि देखिएको छ (पृ.३०६) । अर्कातिर बि पी, गणेशमान, कृष्णप्रसाद र गिरिजाप्रसादसँग राजनीति गरेका र बि पीसँगै वनारस निर्वासन बसेका शिव कङ्गालजस्ता इमान्दार राजनीति कर्मीको प्रसङ्ग पनि ल्याइएको पाइन्छ (पृ.३२१, ३२२) ।

शिक्षा, दर्शन, धार्मिक सत्सङ, आशीर्वचन आदिले व्यक्ति सच्चिन सक्तैन । व्यक्तिले भित्रैबाट आफूलाई सच्चिन तयार बनाउनु पर्दछ (पृ.३२३) भन्ने सन्देश यस पुस्तकले प्रदान गर्दछ । यस पुस्तक समाजका भद्र व्यक्तित्व, शिक्षक, अभिभावक र विद्यार्थी सबैका लागि पठनीय र लाभदायी लाग्दछ । लेखकप्रति आभार व्यक्त गर्दै नमन गर्दछु । लेखकका अन्य नवीन पुस्तकहरूको स्वाद लिने प्रतीक्षासहित अहिले विश्राम लिन्छु ।

कृतिः मालामा नउनिएका फूलहरू

विधाः गैह्र आख्यान (अनुभूति)

लेखकः डा. खगराज बराल

प्रकाशकः शिखा बुक्स प्रा.लि.

संस्करणः पहिलो (२०७८)

पृष्ठः ३२४

मूल्यः रु.४७५

प्रतिक्रिया