महानगरलाई दोस्रो ठूलो शहर बनाउने–प्रमुख पदका पाँच जना उम्मेदवारहरु

इनेप्लिज २०७९ वैशाख २० गते २२:३१ मा प्रकाशित

विराटनगर,२० वैशाख।विराटनगरको ऐतिहासिकतालाई जोगाई विकसित र दोस्रो ठूलो शहरको रुपमा विकास गर्ने महानगरका प्रमुख पदका उम्मदेवारहरुले आफ्नो योजना बताउनु भएको छ।

विकल्प अल्टरनेटिभद्वारा आज यहाँ आयोजित विराटनगर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारहरुसँग अन्तरक्रियामा उम्मेदवारहरुले यस क्षेत्रमा बालवालिकाको लागि पुस्तकालय,गुणस्तरीय सामुदायिक विद्यालय, अनुसन्धानका लागि वजेटको व्यवस्था, दुव्र्यसन मुक्त शहर निर्माण गर्ने लगायतका धारणा राख्नु भयो।

राप्रपाका प्रमुद पदका उम्मेदवार प्रल्हाद प्रसाद साहले यस क्षेत्रमा औद्यागिक वातावरण तयार गरि रोजगारी सिर्जना गर्ने योजना व्यक्त्त गर्नु भयो।

विवेकशिल साझा पार्टीका अमलेश कर्णले शिक्षित युवालाहरुलाई स्वरोजगार बनाउन न्यून दरमा ऋण उपलव्ध गराउनुका साथै विराट राजाको दरवार संरक्षण गरि धार्मिक पर्यटक आकर्षित गर्ने विचार राख्नु भयो।

नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले महानगरलाई भ्रष्टचार शुन्य बनाउने प्रतिवद्धता व्यक्त्त गर्दै नगरवासीले तिरेको राजश्व नगरको विकासमा खर्च गर्ने धारणा राख्नु भयो।

नेकपा एमाले सागर थापाले रुग्ण उद्योग संचालनको वातावरण सिर्जना गरी रोजगार वृद्धितर्फ ध्यान दिनुका साथै महानगरलाई स्वास्थ्य उपचार केन्द्रको रुपमा विकास गरी विदेशी मुद्रा आर्जनमा मद्दत पुर्याउने बताउनु भयो।

स्वतन्त्र उम्मेदवार उमेश यादवले सुकुम्वासी मुक्त महानगर बनाउन उनीहरुलाई घर निर्माण गर्ने,महानगरमा नगरवासीको सहज पहुंचका साथै रोजगारी वृद्धिका लागि शिपमूलक तालीमको व्यवस्था र करको दायरा वृद्धि गरी कर घटाउने कार्य गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

विकल्पका वसन्त अधिकारी लगायत विभिन्न युवायुवातीहरुले भ्रष्ट्राचार,पारदर्शी योजना,रोजगारी, महानगरको विकास,पर्यटन र आर्थिक समृद्धि लगायतका विषयमा जिज्ञासा राख्नु भएको थियो।

प्रतिक्रिया