पुस्तक समिक्षा : स्वदेशमै भेटौला

सुशील निरौला, भक्तपुर २०७९ वैशाख १८ गते १३:०६ मा प्रकाशित

होमनाथ शर्माद्वारा लिखित २०२८ सालमा प्रकाशित ( पुन: प्रकाशन २०७८ साल ) ७३ पृष्ठको यस पुस्तकलाई सामाजिक उपन्यास नाम दिएको भए पनि मेरो बुझाईमा यो पुस्तक नियात्रा वा संस्मरण मात्र हो । किनकी भुमिका लेखक तानाशर्माको विचार र लेखक आफैले ताना शर्माले पोल खोलिदिएको स्वीकारोक्ति र पुस्तक पढिसके पछि पाठकको चेतना यो पुस्तक कल्पना प्रधान नभएर यथार्थ प्रधान हो भन्ने निचोडमा पुग्दछ । प्रभात भन्ने पात्र खडा गरेर लेखकले अमेरिका प्रवासमा आफुले भोगेको र देखेको भावना र दृश्यहरुलाई शब्दमा उतार्ने प्रयास गरेका छन् ।

विश्वविद्यालयको अध्ययन भ्रमणका क्रममा विदेशी भुमीमा लेखकले अन्तर्राष्ट्रीय बिध्यार्थी र विज्ञहरुसंग गरेका अन्तरक्रिया, अमेरिकी समाज र पध्दतिलाई नजिकवाट हेर्न र अनुभव गर्न पाएको अवसर अनी त्यो वेलाका युवा लेखकको सम्पर्कमा आएका महिला पात्रहरु संगको अन्तरङग सम्बन्धहरुलाई बढो ईमान्दारीका साथ पुस्तकमा पस्कने प्रयास गरेका छन् ।

अमेरिकी समाज र पध्दतिको अध्ययनलाई बुझाउने क्रममा लेखक प्रभात र न्यासीको संवाद मार्फत सम्बन्ध र विवाह सम्बन्धी विविधताको चर्चा गर्छन् भने काला जाती वारेको प्रवचन र सेक्स एजुकेशन ईन अमेरिका बिषयको चर्चाले अमेरिकी समाजमा यस बारेको धारण पनि प्रष्टाउन खोजेका छन् । अमेरिकी परिवारका साथमा विताएका पलहरुवाट लेखकले अमेरिकी पारिवारिक सम्बन्धका विभिन्न आयामहरुलाई देखाउने प्रयास गरेका छन् ।
यसका अतिरिक्त अन्तर्राष्ट्रीय मंचमा नेपाल वारेको वृस्तित चर्चा गर्न पनि चुकेका छैनन् ।

तर यो पुस्तक नेपाली पाठकको लागी लेखिएको हुदाँ ७३ पृष्ठको यो पुस्तकको ७ पृष्ठ केवल नेपालको भुगोल र संस्कृतिको बर्णन गर्नमा खर्चिदां उपन्यान्सको औपन्यासिकता हराएर एउटा भाषणको प्रति जस्तो छ जुन पाठकको लागी पट्यारलाग्दो हुन गएको छ ।

शशि र ध्रुवसंग प्रभातको कतै भेट भएको प्रशंग पुस्तकमा भेटिदैन तर पनि सम्भवत: सन्ध्यासंगको कुराकानी कै आधारमा शशि र ध्रुव जस्ता नेपालीहरुको आफ्नै चेलिहरु प्रति व्यक्त भएका सकारात्मक तथा नकारात्मक विचारहरुलाई पनि लेखकले सटिक ढंगले प्रस्तुत गरेका छन् भने ध्रुव पात्र मार्फत आफ्नो देश जे जस्तो भएपनि अध्ययन पुरा गरेपछि ज्ञान सिप स्वदेशमै लगेर खर्चिनु पर्छ भन्दै विदेशीएका नेपालीहरुलाई स्वदेश फर्कने संदेश पनि दिएका छन् ।

सामान्यतया प्रेम सम्बन्ध एक भेट वा एक बसाईमा प्राप्त हुन सक्दैन भन्ने मान्यता विपरित पुस्तकमा उल्लेख भएका प्रेम प्रशंगहरुको चर्चा अलिक अस्वाभिक लाग्दछन् । तर असम्भव नै चैं होईन । प्रभातको न्यान्सी र मिस यमनसंगको अन्तरङग सम्बन्ध र एक अर्का प्रति आशक्तिको संवाद र दृश्य देखाउँदै गर्दा कथाहरुले त्यसलाई पुष्टि गर्ने पुर्वाधार दिएको देखिदैन । प्रशंग पुष्टि गर्ने पर्याप्त संवाद, भेट र अवसरहरु कथामा नदेखिदां कथा अपुर्ण भएको अनुभव पाठकले गर्न सक्छन् ।

यस पुस्तकमा प्रेमको अझ अनौठो प्रयोग सन्ध्या र प्रभातको सम्बन्धमा देखिन्छ । प्रभातको पहिलो फोन कलवाट विचलित भएको सन्ध्याको मन हरेक प्रशंगमा चन्चलित भईरहेकोछ । जव की यी दुवै पात्रले नत एक अर्कालाई चिनेका छन् नत भेटघाट नै गरेका छन् ।कथाको अन्त्य तिर आईपुग्दा त यी दुईको प्रेम फोन कलमा नै परमान चडेकोछ । विभिन्न अडचनहरुले गर्दा अमेरिकाका भिन्न शहरहरुमा रहेका यी अचम्मका प्रेमीहरुको भेट अमेरिकामा हुन नसक्ने भएपछि “ स्वदेशमै भेटौला” भन्दै लेखक कथाको विट मार्दछन् र आफ्नो पुस्तकको सार्थकता पुष्टि गर्छन् ।

लेखकले हरेक बिषय बस्तुलाई छुने प्रयास त गरेका छन् । तर त्यस्को यर्थाथ तह सम्म पुग्न खोज्ने पाठकको तिर्खा मेटन भने सकेका छैन । अमेरिकी समाज र पध्दतिको वारेमा होस् या आफ्नो भोगाईका वारेमा होस् , प्रेमका प्रशंगहरुको वार्तालाप र दृश्यहरुलाई होस्, वृश्तित रुपमा चर्चा गर्न सकेको भए पुस्तकको आकार पनि केही ठुलो हुने थियो भने उल्लेख भएका बिषयहरुमा पाठकले बुझन चाहेको तिर्खा पनि मेटिने थियो भन्ने मेरो बुझाई छ ।

अन्त्यमा मेरो असन्तुष्टि पुस्तक प्रकाशन संग छ । त्यसै पाएको पुस्तकको कदर पाठकले गर्दैनन् । त्यसरी पाएको पुस्तक धेरैको दराजमा थन्किएर बस्छ या पढदै नपढी किलोको भाउमा साईकलवालाको बोरामा पुग्छ भने पढन ईच्छा राख्नेको हातमा किताब पुग्न सक्दैन । आगामी प्रकाशनमा मुल्य राखेर पसल सम्म पुस्तक पुग्न सक्ने वातावरण बनाउन सके मात्र प्रकाशनको सार्थकता हुन्छ भन्ने मेरो मान्यता छ ।

प्रतिक्रिया