पुरस्कार

अरुणबहादुर खत्री “नदी” २०७९ वैशाख १६ गते ९:४७ मा प्रकाशित

तिलकप्रसाद स्कुल पढ्दादेखि नै साहित्यमा रुचि राख्थ्यो।साहित्यिक पत्रिकाहरु खोजेर पढ्ने गर्दथ्यो।हरेक शुुक्रबारको दिन स्कुलमा उसले आफूले लेखेका कविता सुनाउने पनि गर्दथ्यो।उसले विभिन्न साहित्यकारले निकालेका कृतिहरुको पढेर समीक्षा लेखेर विभिन्न पत्रिकामा प्रकाशित पनि गर्दथ्यो।

कहिले कविता कहिले कथा कहिले कृति समीक्षा लेखेर बस्दथ्यो।प्रायजसो आफूले देखेको सबै साहित्यिक पत्रिकामा आफ्ना रचनाहरु इमेल गरेर पठाउथ्यो।उसलाई कोही कोहीले मेरो सङ्ग्रह पढेर समीक्षा लेखिदिनु है भनेर दिने गर्दथे।धेरै साहित्यकारका किताबको समीक्षा लेखेर निकै छपाउन सक्यो उसले।उसलाई साहित्यकारहरुले तपाई त राम्रो समीक्षक बन्नु भयो नि भन्दथे।तर साहित्यिक संस्थाहरुले दिने पुरस्कार कतैबाट उसले पाउन सकेन।

पुरस्कार पाउन नसकेपछि उसको मन साह्रै दुख्यो र घरमा उसको कोठामा भरिएका साहित्यिक पत्रिका र सङ्ग्रहहरु खाली सिसी पुराना कागज भनेर घर घरमा कराउदै हिँड्ने कवाडीलाई दुई बोरा जति दिएर पठायो।खै मैले जति लेखेपनि पुरस्कार कतैबाट पाउन सकिन।लेखेर मैले के नै पाए र ? भन्दै लेख्न पनि छोड्यो।उसले लेख्न छाडेपछि उसलाई चिनेका साहित्यकारहरुले तपाईको रचना अचेल पढ्न पाउदै छाड्यो नि भन्न थाले।मैले कतैबाट साहित्यिक पुरस्कार पाउन नसकेकोले अब लेख्न मनै लागेन र लेख्नै छाडिदिए उसले भन्यो।

“कर्म गर फलको आशा नगर भन्ने नेपाली उखान नै छ नि तिलकजी लेख्न नछोड्नु आफ्ना मनमा उब्जेका सृजनाहरु लेख्दै जानु एक न एक दिन तपाईले राम्रै फल पाउनु हुनेछ” भनेर कवयित्री साथी संगीताले उनलाई सम्झाउन पुगिन्। नभन्दै तिलकप्रसाद साठी वर्ष नाघेपछि उसलाई ठाउँ ठाउँबाट सम्मान र पुरस्कारको लागि ग्रहण गर्न निम्तो आउन थाल्यो।त्यसपछि उसको मन खुशी हुन थाल्यो र साहित्यमा नै भिजेर समय बिताउदै गयो।

अरुणबहादुर खत्री “नदी”

सामाखुसी मार्ग,सरकारी धारा,
काठमाडौं
मोबाइल नं. ९८४१७९७६६४

प्रतिक्रिया