नयाँघरेकोे याकजी विमोचन

इनेप्लिज २०७९ वैशाख १० गते १३:१० मा प्रकाशित

 

 

काठमाडौं,निबन्धकार तथा नियात्राकार युवराज नयाँघरेको ‘याकजी’ निबन्ध संग्रहको विमोचन सम्पन्न भएको छ।प्राज्ञ तथा प्रसिद्ध नाटककार अशेष मल्लले विमोचन गर्नु भएको उक्त नियात्राका कृति तल्लो र माथिल्लो डोल्पाको भूगोल, संस्कृति,जनजीवन र विकटताको वर्णन छ।विमोचनपछि नाटककार मल्लले भन्नुभयो–‘डोल्पाली समाजको असाध्यै सूक्ष्म वर्णन गरिएको यो कृति कला र शिल्पको हिसाबले महत्वपूर्ण छ।यो कृति यात्रा मात्रै नभएर सामाजिक रुपमा गहिरो अध्ययन गरिएको विशेष ग्रन्थ हो।’

समालोचक महेश पौडेलले भन्नुभयो–‘याकजी उपल्लो डोल्पाको समग्र अध्ययन र साहित्यिक स्वाद दिनको लागि सक्षम भएको छ।विवरणभन्दा अनुभूतिले भरिभराउ यो कृति यात्रा लेखनको एक मानक ग्रन्थ बन्न पुगेको छ।’

उहाँले भन्नुभयो–‘नयाँघरेशैली यहाँ पनि हामी मज्जाले भेट्न सक्छौं।’नियात्रा समाज नेपालका अध्यक्ष तथा नियात्राकार प्रतीक ढकालले–‘याकजी नेपाली यात्रा साहित्यमा एक अमूल्य कृतिका रुपमा आएको छ।कला,शिल्प र शैलीको एक विशेष र चमत्कारिक अनुहार हामी यहाँ भेट्न सक्छौँ।नयाँघरेको मौलिक भाषिक प्रयोग र ठेट नेपालीपनलाई यहाँ पनि आत्मसात् गरिएको अनुभव गर्न सकिन्छ। डोल्पाली समाजलाई अत्यन्तै सूक्ष्म र विशेष कलाकारिता प्रस्तुत गरी लेख्नमा नयाँघरे सफल छन्। भन्नुभयो।

समालोचक तथा प्रा.डा.सिर्जना शर्मा उप्रेतीले–‘नयाँघरेको लेखनबाट आफु प्रभावित भएको र यात्रा साहित्य मार्फत् समाजलाई बुझ्न एवं अनुभव गर्न ठूलो सहयोग पुग्ने’धारणा राख्नु भयो।उहाँले भन्नुभयो–‘याकजी पढ्नु भनेको हिमाली सभ्यता,संस्कृति र रहनसहन थाहा पाउनु हो।यो कृति आगामी दिनका लागि पनि भौगोलिक,सांस्कृतिक,प्राकृतिक एवं धार्मिक चरित्रहरुको थप बिस्तारपूर्वक अध्ययन गर्नका लागि सघाउने कृति बन्न पुगेको छ।’

याकजीका लेखक युवराज नयाँघरेले आफ्ना लेखकीय अनुभव बताउँदै– ‘कर्णालीको विकट क्षेत्रको यात्राबाट आफुले जीवनकै गहिरो दर्शन प्राप्त गरेको’ धारणा प्रस्तुत गर्नुभयो।नयाँघरेले भन्नुभयो–‘डोल्पा नेपालको एउटा विशेष प्रतिबिम्व हो।विकटताभित्र रहेको सरलता र शान्तिको एक विशेष अनुभूतिका लागि हामीले यी भूभागहरु घुम्नु पर्छ।यो यात्राबाट मैले समाज र सरकारलाई हेर्ने एउटा फरक भावना हुर्काएको छु।देश चिन्नका लागि डोल्पा एक विशेष स्थान हो।हरेक व्यक्तिले समय, समाज र संस्कृतिको समग्र अवस्था अध्ययनका लागि डोल्पा जस्ता विकट र कष्टकर भूभाग एक पटक भ्रमण गर्नु पर्छ।’

नियात्राकार नयाँघरेका यो १८औं कृति हो।रत्न पुस्तक भण्डारबाट प्रकाशित यो कृतिलगायत उनका आठौं नियात्राका कृतिहरु प्रकाशित छन्।मदन पुरस्कारलगायत विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित एवं पुरस्कृत नयाँघरे नेपाली निबन्ध र नियात्रा साहित्यका प्रतिनिधि लेखक मानिन्छन्।नियात्रा समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न साहित्यकारहरुको उपस्थिति रहेको थियो।

प्रस्तुतिः अरुण नदी खत्री

 

प्रतिक्रिया