नामले स्यानी विचारले ठुली

डा.गणेशप्रसाद भट्टराई भक्तपुर २०७९ वैशाख २ गते २:२९ मा प्रकाशित

डा.खगराज बरालको स्यानी सामाजिक यथार्थपरक औपन्यासिक आख्यान हो । यसमा उपन्यासकारले आफूलाई नै पात्र बनाएर आमाको मृत्युपश्चात् विगतका संस्मरण, अर्ती, उपदेश र प्रशंसनीय कार्यको विवरणात्मक र आत्मपरक प्रस्तुति गरेका छन्।उपन्यासका प्रत्येक घटनापरिघटनामा विगतले आगतलाई सचेत तुल्याएको छ।यसअर्थमा यो मृत्युबोध,पीडाबोध,धैर्य र परिवेशबोधको सञ्चेतना हो।

स्यानीमा जीवनयापन,जीवनोपयोगी शिल्प,जीवनबोध र दिनचर्यालाई दैनिकीको स्वरूप दिइएको छ।स्थानीय भाषिक रङ र सहज संवादात्मक शैलीले उपन्यासको आदि, मध्य र अन्त्यमा पोखराका खेत,गरा,चौतारा र मझेरीमा डुलाउँछ।यसले पाठकलाई छिनमै भक्कानो पार्छ र छिनमै स्मित सन्तुष्टि प्रदान गर्छ। यसले विश्वास र अन्धविश्वास,आदर्श र यथार्थ तथा विगत र आगतको संयोजन गरेको छ।यसमा मानिसका दैनिक व्यवहारभित्रको रोदन र खुसी, निरक्षरबिचको पत्राचार र सन्देश,पशुपालन र तिनप्रतिको ममत्व, मृत्युसंस्कार र काजव्रिmयाका विधिविधानलाई दृश्यशब्दात्मक चित्रमा उतारेको छ।उपन्यासकारले आमाको काजव्रिmयाका हरेक दिन र गरुड पुराणका हरेक अध्यायमा आमा,आमाको आदर्श, आमाको महिमा र आमाले सिकाएका कर्तव्यलाई साक्षात्कार गर्दै सन्तानका लागि आमाको भूमिका जीवनका लागि प्राणवायुसरह रहेको पुष्टि गरेका छन्।उनले प्रत्येक पाठकलाई जीवित आमालाई सम्मान गर्न र मृत आमालाई श्रद्धा प्रकट गर्न पाठ पढाएका छन् । स्यानीप्रतिको उपन्यासकारको सद्भावले पाठकमा जननी र जन्मभूमि दुवैको महिमाबोध गराउँछ।

स्यानीमा जिउँदी आमा र मृत आमाको वर्णन एवम् स्मरण र श्रद्धाभाव मात्र छैन।यसमा छोरी अन्माउने क्षणमा बेहुलीको छटपटी र आमाको छोपिएको रोदन तथा त्यसकै वैपरीत्य रत्यौलीको रमाइलो वर्णनले जीवनको दोछाया देखाएको छ।यसभित्र वर्णन गरिएका रोपाइँ,दाइँ,तत्कालीन समयमा तल्ला जात मानिएका मानिससँग नाता गाँसिदिएर बच्चालाई मृत्युभयबाट बचाउने अन्धविश्वास र सर्पसँगको डर एवम् नागका नाममा सर्प संरक्षण गर्ने सन्देशको रोचक वर्णन छ।यसमा जीवन र प्रकृतिको समन्वय गर्छ । स्यानीमा पानीपँधेरो, घाँसदाउरा,खेलकुद र मनोरञ्जन,तरकारी र फलफूलका बिउ रोप्ने परम्परा, क¥याङकुरुङजस्ता चराले खेती लाउन गर्ने सङ्केत आादिको वर्णनले प्रकृति, माानिस र खेतीपातीको त्रिकोणत्मक सम्बन्ध उजागर गरेको छ।

उपन्यासकारले माानिसले गर्नुपर्ने संस्कारलाई बचाउनुपर्ने सन्देश दिन कपाल खौरिएर व्रतबन्ध गराइदिने आमालाई कपाल खौरिएरै इहलोकबाट बिदाइ गरेको प्रसङ्ग वर्णन गर्दै मानिस कर्मविहीन हुन नसक्ने सन्देश दिन खोजेका छन्।यसमा बिरालाले बाटो काट्दा, अचानक सर्प देखिँदा, काग कराउँदा, सपना देख्दा मानिसले भावी सङ्केतको अनुभूति गर्ने सामाजिक सोचलाई पनि आमा र आमाको शिक्षासँग जोडिएको छ।यसमा उपन्यासकार स्वयम् स्यानीका सुपुत्रका रूपमा गरुड पुराण र स्वास्थानीको विश्लेषक, समीक्षक र व्याख्याता पनि देखिएका छन्।उपन्यासमा पटक पटक वर्णन गरिएको उपन्यासकारको घरनजिकैको तीनपुस्ते चिन्नेको रुखजस्तै स्यानीको सेवादायिनी व्यक्तित्वलाई मार्मिक, रोचक र संवेदनशील ढङ्गले प्रस्तुत गरिएको छ।

मेरो दृष्टिमा स्यानी आमा र सन्तानको मायाजाललाई व्याख्या गर्ने, पोखराको आञ्चलिक परिवेशको जीवन भोगाइलाई दृश्यचित्रमा उतार्ने,सन्तानको भविष्यका लागि आँसु र रोदन लुकाएर हर्ष र खुसी सुम्पने मातृवात्सल्य छताछुल्ल पार्ने र सन्तानलाई आमाको भूमिका र आफ्नो दायित्वको गूढार्थ सिकाउने सफल शिल्प हो।पटक पटक आँसु पुछ्दै पाना पल्टाउनुपर्ने लोभलाग्दो शैली,पढिनसकी छाड्नै नसकिने कुतूहल, पूर्वस्मृतिको भविष्यपरक दृष्टिकोण र सम्पूर्ण इन्द्रिय चेतले भरपुर स्यानी आख्यान र सन्देशका दृष्टिले ‘ठुली’ हो।

– डा.गणेशप्रसाद भट्टराई भक्तपुर

प्रतिक्रिया