प्रदेश नं १ मा १२ लाख ३८ हजार ३८७ लाई टाइफाईड खोप लगाइने

इनेप्लिज २०७८ चैत २५ गते २२:०२ मा प्रकाशित

विराटनगर,२५ चैत।प्रदेश नं १ मा राष्ट्रिय खोप कार्यक्रम अन्तर्गत टाइफाइड रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाइफाइड खोप लगाउने कार्य आजदेखि शुभारम्भ गरियो।

प्रदेश नं १ का स्वास्थ्यमन्त्री जयराम यादवले प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाद्वारा विराटनगरको आदर्श उच्च माविमा आयोजित खोप कार्यक्रमको शुभारम्भ गर्नु भयो।

चैत २५ गतेदेखि बैशाख १८ गतेसम्म प्रदेशका १४ जिल्लामा १२ लाख ३८ हजार ३८७ जना १५ महिनादखि १५ वर्ष उमेरका बालबालिकालाई खोप लगाइने छ।

प्रदेशका १३७ पालिकाको ९ हजार ७७८ खोप केन्द्रमा ९ हजार ७६८ स्वास्थ्य कर्मी र १९ हजार ३५० स्वयंसेवकले खोप लगाउने कार्यमा सहयोग पुर्याउने निर्देशनालयका निर्देशक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनु भयो।

सो अवसरमा स्वास्थ्यमन्त्री यादवले स्वास्थ्य नै धनको हो भन्ने महत्वलाई वुझेर अभिभावक एवं शिक्षकशिक्षिकाले आफ्नो बालबालिकालाई खोप लगाई अभियानलाई सफल बनाउन आग्रह गर्नु भयो।

निर्देशनालयका निर्देशक बस्नेत, आदर्श उच्च माविका प्राचार्य सन्तोष पोखरेलले खोपबाट जीवन सुरक्षित हुने भएकाले खोप लगाउनका साथै सरसफाईमा ध्यान दिनु पर्नेमा जोड दिनु भयो।

प्रतिक्रिया