मोरङ कारागार सुधार हुनु पर्ने

इनेप्लिज २०७८ चैत १५ गते २२:०७ मा प्रकाशित

 

विराटनगर,१५ चैत।सङ्घीय कानून न्याय तथा मानव अधिकार समितिले मोरङको कारागार आज निरीक्षण एवं अवलोकन गरेको छ।

बन्दी र हिरासतमा रहेका कारागारको वास्तविक स्थिति बुझ्न, मानवअधिकारको अवस्था कस्तो छ,कारागारको वर्तमान संरचना तथा भौतिक अवस्था,दैनिक पाउने सिदा,स्वास्थ्य अवस्था,खाना र बसोबासका बारेमा विस्तृत जानकारी लिन समितिले निरीक्षण एवं अवलोकन गरेको मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिनुभयो।

सुरक्षाकर्मी,सञ्चारकर्मी,प्रदेश नं १ का प्रदेश सभा सदस्य एवं प्रदेश सचिवालयका कर्मचारी सहितको टोलीले निरक्षण क्रममा कारागारको स्थिति राम्रै देखिए पनि २५० पुरुष र ५० महिला कैदी रहने क्षमताको सो कारागारमा पुरुष कैदी ८९३ र महिला कैदी ७० जना रहेको कारागार प्रमुख मोहनसिंह खड्काले जानकारी दिनुभयो।उहाँले प्रत्येक कैदीले दिनको रु.६० र सिदा ७०० ग्राम चामल पाउँछन जानकारी दिनु भयो।कारागारमा क्षमता भन्दा बढी कैदी रहेकाले कैदीहरुमा छाला रोगको समस्या,सुत्न समस्या,पानी र शौचको समस्या देखिएको छ।र अहिले कारागारको नयाँ संरचना बनिरहेकाले कलान्तरमा कैदी र हिरासतमा रहेका मानिसहरुले भोग्ने समस्या अन्त्य हुने कारागार प्रमुख खड्काले बताउनुभयो।

निरीक्षण एवं अवलोकन पछि आयोजित अन्तरक्रिया कार्यक्रममा समितिका सभापति कृष्णभक्त्त पोखरेलले कानून, न्याय र अधिकारको क्षेत्रमा काम गर्ने यो संस्था मिनी संसद हो र यो समितिले सरकार कानून अनुसार चलेको छ कि छैन निरन्तर सुझाव दिइरहेको चर्चा गर्नुभयो । उहाँले कारागारलाई व्यवस्थित गर्न प्राप्त सुझावहरु सरकारले दिने भन्दै कारागारमा रहने बन्दीलाई मानवोचित व्यवहार हुनु पर्छ भत्रुभयो।

कारागार निरीक्षण एवं अवलोकन समितिका संयोजक मीनकुमार विश्वकर्माले कारागार यातना गृहको रुपमा नभएर सुधार गृहको रुपमा विकास गर्नु पर्ने कुरामा जोड दिनुभयो।

उहाँले गएको दुई वर्षमा करिव १९ जना मानिस मोरङ कारागारमा मृत्यु भएकाले यसको सुधार र व्यवस्थापनमा राज्यको ध्यान जानुपर्ने बताउनुभयो।

सांसद रामकुमारी चौधरी, गोपी अछामीले पनि कारागारलाई सुधार गृहको रुपमा विकास गरी राज्यले यसमा रहने कैदी बन्दीबाट लाभ लिनु पर्ने कुरामा जोड दिनुभयो।

मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले अबको कारागार युग सुहाउँदो र समयसापेक्ष हुनु पर्ने भन्दै कारागार मात्र होइन अन्य सुधारका काम गर्न जिल्ला प्रशासन कार्यालयलाई बजेटको व्यवस्थापन हुनु पर्ने माग गर्नुभयो।

कार्यक्रममा नेपाली कांग्रेस मोरङका उपसभापति भक्त्ति माझी,नेकपा एमाले मोरङका सचिव रुपेश खतिवडा, विष्णु शर्मा, देवी दाहाल,रुकमणि खतिवडा, संगीता खतिवडा लगायतले कारागार सुधारको विविध पक्षमा बोल्नु भएको थियो।

प्रतिक्रिया