मैले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सेवा आयोगमा काम सुरु गरेपछि एक दिन उपकुलपतिको कार्यकक्षमा नेपाली साहित्य र यसप्रति नयाँ पुस्ताको रुचि सम्बन्धमा अनौचारिक कुराकानी भएको थियो । कुराकानीको प्रसङ्गमा वरिष्ठ वैज्ञानिक डा. सुरेश ढुङ्गेलले भने, “नयाँ पुस्तामा नेपाली साहित्यप्रति खासै रुचि देखिँदैन । मैले त छोराछोरीलाई लक्ष्मीप्रसाद देवकोटाको ‘लक्ष्मी निबन्ध सङ्ग्रह’, भैरव अर्यालको ‘जयभुँडी’ र भूपि शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पुस्तक पढ्न दिन्थेँ । मलाई लाग्छ नयाँ पुस्तालाई यी तीन पुस्तक पढ्न दिँदा पनि नेपाली साहित्यप्रति रुचि लिएनन्, रुचि बढाएनन् भने थप प्रयास नगर्दा पनि हुन्छ ।”
यी तीन पुस्तक नै किन भन्ने मेरो जिज्ञासामा डा. ढुङ्गेलले भने, “यी पुस्तक ज्यादै रुचिपूर्ण छन् । साहित्यमा रुचि नै नभएकाले पनि यी पुस्तक पढे भने साहित्य पढ्न रुचि बढ्छ । कवितामा त भूपि शेरचनको कविता पढेपछि त कविता पढ्ने भोक नै जाग्छ ।” डा. ढुङ्गेलजी आफैँमा वैज्ञानिक हुन् र वैज्ञानिक अनुसन्धानमा नै आफ्नो अधिकांश समय व्यतित गर्छन् । उनबाट नेपाली साहित्य र कविताप्रति देखाएको आस्था उच्च किसिमको थियो । उनले मोहन कोइरालाका कविता, बालकृष्ण सम, वैरागी काँइलाका कवितालगायत अन्य साहित्यकारबाट लेखिएका अन्य चर्चित कवितालाई दृष्टान्तका रूपमा लिएनन्, बरु भूपि शेरचनका कविता त्यसमा पनि ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ कविता सङ्ग्रहलाई नै लिए । उनले यस कविता सङ्ग्रहलाई नयाँ पिढीँमा कविता पठनको भोक जगाउने साधनका रूपमा लिएका रहेछन् ।
वि.सं. २०७५ सालको बैशाख १ गते काठमाडौंमा एक छन्द कवितासम्बन्धी कार्यक्रममा अतिथिका रूपमा उपस्थित हुन आमन्त्रण आयो । छन्दमा कविता वाचन गर्ने मेरो क्षमता नभए पनि छन्दमा वाचित कविता सुन्न मलाई निकै इच्छा थियो । आफूँ छन्द कवि नभए पनि कविता भनेको छन्दबद्ध हुनुपर्ने र छन्दअनुसार गति, यति र लय मिलाएर छन्दबद्ध कविता वाचन हुनुपर्ने मेरो सानैदेखिको मान्यता थियो । कहिलेकाहीँ गद्य कविता पनि लयात्मक र गेयात्मक किसिमले वाचन गर्दा ज्यादै मिठो लाग्थ्यो । पहिला पहिला त लयात्मक र गेयात्मक बिनाका गद्य कविता गोरखापत्रका समाचार जस्तै लाग्थे । यस्तै सोचाइ मनमा लिँदै म आमन्त्रण गरेको कार्यक्रममा गएँ ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका स्वनामधन्य साहित्यकार, विद्वान् तथा प्राज्ञ व्यक्तित्व थिए । प्रमुख अतिथिका रूपमा आएका व्यक्तित्व आफैँ स्थापित कवि पनि थिए, कविता पढाउँथे, कविता सिद्धान्तको व्याख्या पनि गर्थे । उक्त कार्यक्रमको उद्घाटन एउटा छन्दबद्ध कविता वाचन प्रमुख अतिथिबाट वाचन गराएर गर्ने तयर भएको रहेछ । कार्यक्रमका आकर्षक व्यक्तित्व तथा प्रमुख अतिथिले वाचन गर्ने कविता सुन्न म आतुर थिएँ, उत्सुक पनि थिएँ । तर, प्रमुख अतिथिले दिइएको छन्दबद्ध कवितालाई अन्य गद्य कविता जसरी वाचन गरिदिए । मलगायत उपस्थित सबै निराश भयौं । छन्द कवितासम्बन्धी कार्यक्रममा उद्घाटनका लागि राखिएको कविता पनि छन्दबद्ध वाचन नभएमा स्रोताहरू निराश पनि भए ।
माथिको घटनाबाट मलाई आधुनिक पुस्तामा कविताप्रतिको विकर्षण लयचेतना नहुनु हो भन्ने निचोडमा पुगेँ । शिक्षक स्वयम्मा कविताप्रति विकर्षण हुनु, कविताको मुख्य आधार लयबोध र भावबोधप्रति शिक्षक सचेत नहुनु र कविताको लयबोध गराउन शिक्षक सक्षम नहुनु नै नयाँ पुस्तामा कविताप्रतिको वितृष्णा हुनु नै मुख्य कारण भएको मैले निष्कर्ष निकालेँ । शिक्षकले कवितामा लयबद्ध रूपमा गाउन नसक्नु र विद्यार्थीलाई लयबोध नगराउनु पनि कविता शिक्षणका कमजोरी हुन् । त्यसैले, हिजोआज आख्यान पढ्ने मानिस धेरै छन्, कविता पढ्ने मानिस निकै कम छन् । कविता सुनाउन मानिस खोज्नुपर्ने अवस्था आइसकेको छ ।
पद्य कविता र गद्य कविताका सम्बन्धमा एकजना भाइले मलाई भने, “मलाई त गद्य कविता नै मन पर्छ ।” मैले भनेँ, “गद्य कविता त कुनै अनुच्छेद शब्द, शब्दावली, उपवाक्य टुक्राए जस्ता पनि हुन्छन् । पद्य कविता त छन्दबद्ध हुन्छ, गेयात्मक हुन्छ, सुन्दा पनि सुललित हुन्छ ।” मेरा कुरामा सहमति जनाए पनि उनी सन्तुष्ट थिएनन् र भने, “हामीले प्रायः सुन्ने गरेका पद्य कविताको छन्द उस्तै उस्तै हुने र कविताको लय सुनेपछि पहिल्यै सुनेको कविता जस्तो लाग्ने गर्छ । हामीले प्रायः उही शार्दूलविक्रीडित, मन्दाक्रान्ता, शिखरिणी, अनुष्टुप जस्ता छन्दका कविता सुन्छौं, लेख्नेले पनि प्रायः यिनै छन्द रोज्छन्, प्रायः छन्द दोहोरिरहन्छन् । अनि, छन्दमा लेख्ने कविले पनि लय हालेर पढ्दैनन्, कतिपयले त अरूलाई वाचन गर्न लगाउँछन् ।” मलाई त उनका कुरा अनौठा, कौतुहलपूर्ण, रमाइला लाग्यो । उनका कुरा सही नै हो कि जस्तो पो लाग्यो ।
+++++
छन्द र लय विधानले मात्र कविता अन्य गद्य रचनाबाट भिन्न भएको होइन । कविता र अन्य गद्य रचनामा विषयवस्तुमा नै भिन्नता छ (यहाँ गद्य रचना भन्नुमा कविता पनि गद्यमा पनि रचना हुने भएकाले भनिएको पनि हो) । यस सम्बन्धमा प्रसिद्ध अङ्ग्रेजी भाषाका स्वच्छन्दतावादी कवि सेमुअल टेलर कलरिज (एस टि कलरिज) को भनाइ बढी सान्दर्भिक देखिन्छ । कलरिज भन्छन्, “छन्द, लय, रूप पक्षभन्दा वस्तुगत पक्षमा नै कविता आधारित हुन्छ । कविताको निकटतम् प्राप्ति ‘आनन्द’ हो ।” कविता सत्यसम्म पुगे पनि यसले उपलब्धिका रूपमा ‘सत्य’ लाई भन्दा ‘आनन्द’ लाई स्वीकार्छ भन्ने कलरिजको मान्यता छ । कवि बरालका कवितालाई सत्यसँग दाँजेर नहेरिकन आनन्दसँग हेर्नुपर्छ । कवि बरालका कविता पढ्दा कलरिजको कवितासम्बन्धी मान्यता र कल्पना सिद्धान्तलाई सम्झिन पुगिन्छ । कवि बरालका कविता पढ्दा पर्याप्त आनन्दको अनुभूति हुन्छ ।
कवि बरालका कविता सम्प्रेषणीय छन्।उनका कविता पढ्दा बीसौँ शताब्दीका वरिष्ठ समालोचक आइभार आर्म्स्ट्रङ रिचर्डस् (आइ.ए.रिचर्ड्स) लाई सम्झिन पुगिन्छ। सम्प्रेषण भनेको अनुभूतिको हस्तान्तरण हो।एक व्यक्तिको अनुभूति दोस्रो व्यक्तिको मनमा पुग्नु हो । यहाँ स्रष्टा हृदय र भोक्ता हृदयको प्रसङ्ग आउँछ।स्रष्टा हृदयको अनुभूति भोक्ता हृदयमा पुग्न सम्प्रेषणीय हुनै पर्छ।भोक्ता हृदयमा सम्प्रेषण हुनाका लागि स्रष्टा हृदयसँग विशेष किसिमको सम्प्रेषण सामथ्र्य हुनै पर्छ तब कवि, कविता र पाठकबिच एकात्मक सम्बन्ध कायम हुन सक्छ कवितामार्फत् । स्रष्टा हृदयका अनुभूतिहरू भोक्ता हृदयमा पनि स्रष्टा हृदयका जस्तै समान अनुभूति हुन सक्नु कविताको सफलता हो ।
स्रष्टालाई भन्दा सृष्टिलाई अधिक महत्त्व दिने बीसौंँ शताब्दीका महान् समालोचक टमस स्टर्न इलियट (टि.एस.इलियट) को निर्वैयक्तिकता यस कविता सङ्ग्रहमा पाइँदैन । एउटै कविता सङ्ग्रहमा रिचर्डस् र इलियटको मान्यता पाउनु मुस्किलको कुरा हो । रिचड्र्स स्रष्टा हृदय र भोक्ता हृदयको कुरा गर्छन् भने इलियट स्रष्टा कविभन्दा सृष्टि कविताप्रति ध्यान केन्द्रित गर्छन् । इलियट भन्छन्, “कविले कवितामा आफ्नो व्यक्तित्वको अभिव्यक्ति गर्नु छैन । बरु, कवि सृष्टिको माध्यम हो, ऊ आफैँ सृष्टिको व्यक्तित्व होइन ।” ‘काव्यिक बिम्बको फूलबारी’ मा कवि आफैँ व्यक्तित्व भएर आएका छन्, आफैँ उपस्थित पनि भएका छन् ।
सन् २००१ मा साहित्यका लागि नोबेल पुरस्कार विजेता विद्याधर सूरजप्रसाद नैपाल (भि.एस. नैपाल) ले उच्चस्तरीय साहित्य जनबोलीमा लेखिन्छ भन्ने गर्थे । उनको विचारमा जति सरल र सुबोध्य भाषा, त्यति नै महान साहित्य । दुबोध्य साहित्य लेखकका लागि मात्र हुने र पाठकका लागि हुन नसक्ने उनको विचार थियो । ‘काव्यिक बिम्बको फूलबारी’ मा कविले जनबोलीलाई स्थान दिएका छन् ।
+++++
धनकुटामा जन्मेर विराटनगरलाई कर्म क्षेत्र बनाएका कवि हरिप्रसाद बरालको कविताको पहिलो सङ्ग्रह ‘काव्यिक बिम्बको फूलबारी’ (२०७८) बजारमा आएको छ । यस अगि बरालको ‘उद्घोषभित्र फूलहरू’ (निबन्ध–समालोचना), २०६८ र ‘पुस्तकहरूका माझैमाझ’ (२०७८) पनि बजारमा आइसकेका छन् । नियमित लेखिरहने बरालको सोख पुस्तकको पठन पनि हो । पेसाले शिक्षणलाई पेसाका रूपमा अँगालेका बराललाई विराटनगरतिर दैनिक कवि पनि भन्ने गर्छन् । वि.सं. २०५३ साल मङ्सिर १ गतेदेखि दैनिक कविता लेखन सुरु गरेका बरालले अझै पनि दैनिक रूपमा कविता लेख्ने गर्छन् । यसरी कविता लेख्ने गरेको पनि छब्बिस वर्ष पूरा भईसकेको छ ।
देवकोटाको ‘यात्री’, लेखनाथको ‘तरुणतपसी’, भूपि शेरचनको ‘हामी’, सिद्धिचरणको ‘वखलढुङ्गा’ जस्ता कविता पढेपछि आफूमा सोचमा परिवर्तन, संवेदनाको जागरण, हाम्रो वास्तविक धरातलको ज्ञान तथा जन्मभूमिप्रतिको प्रेम जगाएको कविको आत्म स्वीकृति छ (पृ.ग) । अग्रजको कविता पठनले कविमा निराशा हटाएको, आत्मा चम्कन सुरु गरेको, मनमा खुशी पलाएको भाव व्यक्त गर्दै कविता दिमागी उज्यालो भएको अनुभूत गर्छन् कवि । सबैले लेखेर सिद्धि प्राप्त गरिसकेका विषयमा लेख्न त लेखिएला तर नवीनता दिने काम निकै गाह्रो पनि हुन्छ भन्दै कवि यस कविता सङ्ग्रह ‘काव्यिक बिम्बको फूलबारी’ मा फरकफरक स्वादका कविता भएको बताउँछन् (पृ.ग) । विभिन्न शीर्षकका छत्तिस कविता सङ्ग्रहीत यस ‘काव्यिक बिम्बको फूलबारी’ मा बिम्ब, प्रतीक र मिथकको अधिक प्रयोग गरिएको छ । कविको आत्म स्वीकृति छ, “मैले जहाँ जहाँबाट कविता टिपेँ ती मिथकीय संसारबाट टिपेको हुँ, युगबोधको जीवनबोधको प्रकतिको कुरा, धर्मसंस्कृतिको कुरा, मानवीय क्रियाकलापको कुरा, दर्शनको कुरा कवितामा छिरेपछि त्यो एउटै सिद्धान्तमा अट्दो रहेनछ” (पृ.ङ) ।
+++++
कविताका कुरा गर्दा मलाई कवि धरणीधर कोइरालको साहित्य सुधा कविताको याद आउँछ । वैदिक साहित्यदेखि नेपाली साहित्यसम्म साहित्यको लोकप्रिय र सर्वाधिक चर्चा गरिने विषय कविता हो । शास्त्रीय र वार्णिक छन्दका कविताहरू श्रुतिमय मात्र होइनन्, लामो समयसम्म स्मरण गर्न सकिने किसिमका हुन्थे । श्रुति परम्पराबाट आएको वैदिक साहित्य लेख्य परम्परामा आउँदा पनि कविताको स्वरूपमा नै आएको थियो । भानुभक्तीय रामायण यसको ज्वलन्त उदाहरण हो हाम्रा सामु । भानुभक्तीय रामायण घर घरमा वाचन हुन्थ्यो, निरक्षरण मानिसहरू पनि भानुभक्तीय रामायणको यो श्लोकलाई शार्दूलविक्रीडित छन्द मिलाएर गाउँथेः ‘एक दिन् नारद सत्य लोक पुगिगया लोकको गरौँ हित् भनी । ब्रह्मा ताहीँ थिया प¥या चरणमा खुसी गराया पनि ।’ कवि धरणीधर कोइरालाले काव्यलाई सुधा (अमृत) सँग तुलना गरेका छन्, काव्यलाई औषधि मानेका छन् । मानव जीवन सार्थक बनाउन काव्य सुधाको रस पान गर्नुपर्छ भन्दै कवि धरणीधर कोइराला ‘साहित्य सुधा’ कवितामा लेख्छन्ः
अति सुन्दर मानव जीवन यो
अझ सुन्दर पार्नु कसो गरि हो ?
गरि काव्य सुधा–रस–पान अरे
गर मानव जीवन सार्थक रे
न त झाक्री न वैद्य न ज्योतिषीले
उपचार गरिकन शान्ति दिने
मन रोग निरोग गराईदिने
बुझ काव्य–सुधा–रस औषधी हो (साहित्य सुधा) ।
कविता रहरले लेख्न सकिँदैन । कवि पनि प्रतिभा सम्पन्न हुनुपर्छ । कविता लेख्न कवि हुनुपर्छ । कविले नै कविता लेख्छन् । नेपाली साहित्यका प्रतिष्ठित व्यक्ति पारसमणि प्रधान कवि र कविताका बारेमा भन्छन्ः
“कवि कविता होस्, कविता कवि होस् तब पो हुन्छ, शब्द थुपारीकन के हुन्छ भाव भए पो हुन्छ ।”
कवि कविता हुनुपर्छ, कविता कवि हुनुपर्छ, शब्द शब्द थुपारेको शब्द राशी कविता हुन सक्दैन । यस सन्दर्भमा कवि प्रधान आफूले बलैले कविता लेखेको र आफू कवि हुन कठिन भएको उल्लेख गर्दै ‘जाली माकुरो’ शीर्षकको कवितामा भन्छन्ः
“हुन त कवि म कैले सक्तथे बन्न ऐले । तर पनि कविता यो लेखि–हेरे बलैले (जाली माकुरो) ।”
कवि हरिप्रसाद बरालको ‘काव्यिक बिम्बको फूलबारी’ का कविता पान गरेर पाठकले सुधा पानको अनुभूति गर्न सक्छन् । कविले कविता पढ्दा आमा (माता), पिता, ईश्वर, धर्म, ईश्वरीय उज्यालो जस्ता विविध विषयका पाठकलाई औषधि रूपी सुधा पान गराएका छन् । हुनतः कविताभित्रका विषय सन्दर्भ कविका वैयक्तिक अनुभूति हुन् तर पाठकलाई कविता पढ्दा आफ्नै अनुभूति हुन् कि जस्तो लाग्छ । यस कविता सङ्ग्रहभित्रका कविता कविले करबलले नलेखी कविको प्रतिभाबाट निश्रित भएका छन् ।
+++++‘काव्यिक बिम्बको फूलबारी’ कविता सङ्ग्रहमा विभिन्न शीर्षकका छत्तिस कविता रहेका छन् । संरचनाका दृष्टिले हेर्दा अधिकांश कविता दुई पृष्ठमा अटेका छन् । चारओटा कविता तीन पृष्ठ, दुईओटा कविता एक पृष्ठमा र तिसओटा कविता दुई पृष्ठमा अटेका छन् । कवितामा जताततै कुनै सन्तले जीवन र जगत्को प्रवचन दिईरहे जस्तो लाग्छ । ईश्वरका सम्बन्धमा कवि भन्छन्,
केही भन्छन् ईश्वर छ
कोही भन्छन् ईश्वर छैन
म भन्छु ईश्वर छ
त्यसैले त म पनि छु ।
ईश्वर त्यहाँ बाँच्छन्
जहाँ विश्वास छ
(ईश्वर, पृ.८) ।
संविधान सभाबाट संविधान बनेपछि पनि देशमा सुशासन कायम नभएकामा कवि ‘अन्यायका लब्काहरू’ कवितामा असन्तुष्टि यसरी प्रकट गर्छन्ः
आज देशको संविधान धुरुधुरु रोइरहेछ
संविधान बनाउने हात हुरहुरी जलिरहेछन्
कसरी सास फेर्छ संविधान ?
(अन्यायका लब्काहरू, वृ.२४)
हाम्रो प्रवृत्ति र नियतिप्रति ‘नदीकिनारको बूढो रुख’ कवितामा कवि यसरी व्यङ्ग्य गर्छन्ः
रुख ढले पनि स्वाभिमान ढल्दैन
तर हामी ढल्नुभन्दा पहिले स्वाभिमान
ढलेको पनि हुन सक्छ ।
(नदीकिनारको बूढो रुख, पृ.२७) ।
सृष्टिको सर्वश्रेष्ठ प्राणी मान्छे मान्छे हुन नसकेमा बिम्बको विष्मय छ । ‘फालिन सक्छ जिन्दगी’ मा यसरी विष्मय प्रकट गर्छन् कविः
धत् मान्छे हुँ भन्न पनि लाज लाग्छ
यति अमूल्य जीवन पनि अर्कैले
चुइगम बनाएर चबाइरहेछ ।
(फालिन सक्छ जिन्दगी, पृ.५६) ।
वर्तमान राजनीतिक नेतृत्वप्रति कविको असन्तुष्टि र असहमति कवितामा प्रकट भएका छन् । ‘अब नसोचे हुन्छ’ शीर्षकको कवितामा कविको विद्रोह यसरी प्रकट भएको छः
धर्ममा विष मिसायौ,
संस्कारमा विष मिसायौ
नवनिर्माणको चेतनामा विष मिसायौं ।
भो, पुग्यो, अघायौँ
तिम्रा नारा पिएर पेट भरिएन,
तिम्रा भाषणको ढाकर अब बोकेर
फुच्चे बौद्धिकताको कपर्दी खेल्नु छैन,
दिमागमा नयाँ राष्ट्र जन्माउन परेको छ ।
(अब नसोचे हुन्छ, पृ.६८) ।कविता लेख्न कवि हुनुपर्छ । कविले नै कविता लेख्छन् । नेपाली साहित्यका प्रतिष्ठित व्यक्ति पारसमणि प्रधानले “कवि कविता होस्, कविता कवि होस् तब पो हुन्छ, शब्द थुपारीकन के हुन्छ भाव भए पो हुन्छ” भने जस्तै ‘काव्यिक बिम्बको फूलबारी’ मा कवि कविता भएका छन्, कविता कवि भएका छन् । कवि बराल ‘कविता मान्छेले नै लेख्छ’ शीर्षकमा भन्छन्ः
कविता जीवनको अर्थपूर्ण गहिराइ हो,
सुन्दरताको सगरमाथा हो,
हृदयको मिठास हो,
चेतनाको उच्चतम यात्रा हो,
जसलाई मान्छेले नै लेख्छ ।
आखिर कविता भित्र के हुँदैन?
त्यो कविता त मान्छेले लेख्छ ।
‘कविता मान्छेले नै लेख्छ’ पृ.५३–५५) ।
‘काव्यिक बिम्बको फूलबारी’ मा प्रशस्त बिम्ब र प्रतीकको प्रयोग भएको छ ।यस्ता बिम्ब र प्रतीक कति मिथकमा आधारित छन्, कति इतिहासका पात्रसँग सम्बन्धित छन्, कतिपय विज्ञानसँग सम्बन्धित छन्, कति धार्मिक ग्रन्थका पात्रसँग सम्बन्धित छन्।
यस कविता सङ्ग्रह भित्रको एक्काईसौं कविता ज्ञानको गहिराइ भित्र प्रयोग भएका बिम्ब, प्रतीक र रूपकलाई हेर्दा यस्तो देखिन्छः ऐतिहासिक साहित्यिक पात्रका बिम्ब प्रयोगमा रवीन्द्र बाबा (रवीन्द्रनाथ टैगोर) को ज्ञानको गहिराइ, देवकोटाको विचार, शेक्सपियरको दर्शन, कालिदासको साहित्य; विज्ञान र वैज्ञानिक पात्रका बिम्बमा न्युटन, आइन्सटाइन; विश्व प्रसिद्ध विचारकका बिम्बमा स्वामी विवेकानन्द, नेल्सन मण्डेला; विश्व चर्चित तानाशाहका बिम्बमा हिटलर; बुद्ध, गान्धी, माक्र्स, फ्रायड, लाओत्से, सोक्रेटस, माक्र्सवाद, सांस्कृतिक साम्राज्यवाद, धार्मिक साम्राज्यवाद आदि । त्यस्तै, पौराणिक बिम्बमा सत्ययुग, त्रेता युग, द्वापर युग, पौराणिक पात्रका बिम्बमा वेदव्यास, वाल्मीकि; धार्मिक ग्रन्थका बिम्बमा चार वेद, अठार पुराण, महाभारत, रामायण; रूपकको प्रयोगमा अन्धकाररूपी; अन्य बिम्ब र प्रतीकमा खुशीको पाल, आश्वासनका साँढेहरू, कष्टको हिमाल, भावको व्यापार, कुविचारको लेदो, कुसंस्कारको ढुङ्गा, विज्ञानको सद्बीऊ आदि ।
कविता सङ्ग्रहमा अत्याधिक प्रयोग भएका मिथकीय पात्र र घटनाले गर्दा नव पाठकका लागि केही दुर्बोध्य हुन सक्छ । मिथकीय कथा र पात्रसँग परिचित नहुँदासम्म कविताको भाव आउँन कठिन हुन्छ । यसरी प्रयोग भएका मिथकीय घटना र पात्रहरू हुन्ः स्वर्ग, नरक, देवता, दैत्यहरू, राम र रावण, कौरव र पाण्डव, लक्ष्मी र सरस्वती, देवलोक, सञ्जीवनी, पुष्पक विमान, युधिष्ठिर, अर्जुनदृष्टि, गीता, चक्रव्यूह, कुन्ती, कृष्ण, कर्ण, सीता, महिषासुर, जरासन्ध, किच्चक, दुर्योधन, शारदेय माता, कामधेनु गाई, क्राइष्ट, महमद, बुद्ध आदि । कविता बुझ्नका लागि पौराणिक तथा ऐतिहासिक घटना र पात्रको जानकारी लिनैपर्ने हुन्छ । नेपालका ऐतिहासिक पात्र बलभद्र कुँवर, भक्ति थापा, पृथ्वीनारायण जस्ता पात्रको कवितामा प्रयोग गरिएको छ (पृ.७१) । कविता बुझ्नका लागि यस्ता ऐतिहासिक पात्रको जानकारी जरुरी हुन्छ । यो काम पाठककै हो ।
भूमि शेरचनको चर्चित कविता सङ्ग्रह ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ भित्रको ‘हामी’ कवितामा प्रचुर बिम्ब, प्रतीक र मिथकको प्रयोग भएको पाइन्छ । यो कविता पढ्दा ‘कथामा वर्णित ‘गुलिभर’, ‘हामी ‘लिलिपुट’ का मानव हौं’, ‘हामी लघुमानव हौं’ जस्ता बिम्ब र प्रतीक प्रयोग भएको छ । कविताका भावलाई बुझ्नका लागि गुलिभर ट्राभल पढ्नैपर्ने हुँदोरहेछ, अन्यथा कविताका भाव नै बुझिदोरहेनछ । यस कविता सङ्ग्रहको ‘कुविचारको सिरेटो’ कवितामा ‘लिलिपुट’ शब्द प्रयोग भएको छ (पृ.५१) । यस कविता सङ्ग्रहमा प्रयुक्त नित्सेको दर्शन बुझ्नका लागि नित्सेका सम्बन्धमा जान्नुपर्ने हुन्छ (हिजोको सपना आजको जीवन कविताबाट, पृ.२८) ।
त्यस्तै, जोन अफ आर्क, लक्ष्मीबाइ, दुर्गावती, योगमाया, म्याडमक्युरी जस्ता बिम्ब र प्रतीक प्रयोगले कविताको भाव ग्रहण गर्नका लागि पाठकलाई यी व्यक्तिका सम्बन्धमा थप जानकारी लिनुपर्ने कविताले सङ्केत गर्छ । यद्यपि पादटिप्पणीमा यी पात्रका सम्बन्धमा साङ्केतिक परिचय दिइएको भने छ।
+++++
समग्रमा ‘काव्यिक बिम्बको फूलबारी’ भित्रका कविता सुक्तिमय छन् । लयचेतना कविमा प्रबल छ । कविता सङ्ग्रह पठनीय छ, सङ्ग्रहणीय छ । भाषा सरल छ, सुबोध्य छ, अर्थ सहज छ । कविता पढ्न थालेपछि नसकिकन उठ्न सकिँदैन । कविमा युगचेतना, आफ्नो विगतको वैभव र गौरवप्रति असाध्यै आस्था छ । गलत कामप्रति खबरदारी र गलत प्रवृत्तिप्रति व्यङ्ग्य छ । भविष्यप्रति आशा छ । कवितामा बिम्ब, प्रतीक र मिथकीय प्रयोग प्रशस्त छन् । कविताको समग्र भाव ग्रहणका लागि कवितामा उल्लिखित बिम्ब, प्रतीक र मिथकका सम्बन्धमा पाठकले जानकारी भने लिनैपर्ने हुन्छ । यस्तै, सुक्तिमय र सरल कविता भावी दिनमा पनि पढ्न पाइयोस्, हार्दिक शुभेच्छा ।
+++++
कृतिः “काव्यिक बिम्बको फूलबारी”
विधाः कविता
लेखकः हरिप्रसाद बराल
प्रकाशकः लेखक स्वयम्
संस्करणः पहिलो (२०७८)
पृष्ठः ७४
मूल्यः रु.२००÷–
प्रतिक्रिया