स्थानीय तहमा नेकपा एमाले जित सुनिश्चित –अध्यक्ष ओली

इनेप्लिज २०७८ फागुन २५ गते २३:२२ मा प्रकाशित

विराटनगर,२५ फागुन।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले हाम्रो पार्टीप्रति जनलहर सिर्जना भएकाले स्थानीय तहको निर्वाचनमा जित सुनिश्चित रहेको बताउनुभएको छ।

नेकपा एमाले जिल्ला कमिटि मोरङद्वारा मोरङको रंगेलीमा आज आयोजित तराई मधेश बृहत जनसभालाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो।

अध्यक्ष ओलीले समृद्धिको यात्रामा कतैपनि नअल्मलिकन देशव्यापी रुपमा लाग्ने भन्दै लामो समयदेखि तराईमा देखिएको नागरिकताको समस्या समाधान हुनुपर्छ भत्रुभयो।उहाँले जन्मसिद्धको आधारमा प्राप्त गरेका नागरिकता नागरिकको सन्तानले नागरिकता पाउनु पर्ने भन्दै नागरिकताको समस्या समाधान गर्न हाम्रो सरकारले ल्याएको अध्यादेश नेकपा माओवादी केन्द्रले विरोध गरेको जनाउनुभयो।

अध्यक्ष ओलीले नेकपा एमाले भित्रको घुसपैठले नेकपा एमालेको सरकार विस्थापित भएको भन्दै पार्टीमा कुकर्म गर्नेलाई जनताले चिनेकाले उनीहरुलाई जनताले ठेगान लगाउने कुरामा जोड दिनुभयो।

उहाँले हाम्रो पार्टी जनताका माझमा निकै बलियो छ भन्दै विगतमा नेकपा एमाले सहि नीतिका कारण नेपालको भूमि फिर्ता ल्याएको धारणा राख्नुभयो।

नेकपा एमालेको नेतृत्वमा बनेका सरकारले रक्सौल काठमाण्डौं रेलसेवा,सुरुङ मार्ग,काठमाण्डौंमा सुख्खाबन्दरगाह जस्ता राष्ट्रिय गौरवको योजना ल्याएको बताउँदै अध्यक्ष ओलीले कोभिड–१९ को महामारीबाट नागरिकको जीवन सुरक्षा गर्न हरसम्भव प्रयास गरेको कुरामा जोड दिनुभयो।

उहाँले मेरो नेतृत्वको सरकारले एकै दिन ३९६ अस्पताल र २६५ वटा सडक शिलान्यास गरेको स्मरण गराउँदै जनताका हितका निम्ति आएका यस्ता योजनालाई सरकारले काट्न नहुने धारणा राख्नुभयो



सदरमुकाम जोड्ने बुटबल,ढल्केवर,गोरुसिङे,नेपालगञ्ज र धनगढीमा चार देखि छ लेनको बाटो बनाएको भन्दै जनतालाई अनुभूति गराउने किसिमको विकास गरेको दावी गर्नुभयो।

नेकपा एमालेका सरकारले ज्येष्ठ नागरिक,अपाङ्ग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता दिएर सामाजिक न्याय गरेको प्रसङ्ग उल्लेख गर्दै अध्यक्ष ओलीले हाम्रो पार्टी जनताको चाहना एवं भावना अनुसार काम गरेको उल्लेख गर्नुभयो।

सो अवसरमा नेकपा माओवादी केन्द्रको तर्फबाट निर्वाचित रंगेली नगरपालिका प्रमुख दिलीप अग्रवाल(बगडिया),उपप्रमुख केशवकुमारी खराल,वडा नं ७ का वडा अध्यक्ष रामचन्द्र मण्डल,वडा नं ५ का वडा अध्यक्ष महानन्द मण्डल र वडा नं १ का वडा अध्यक्ष महेश खनाल सहित छ हजार मानिसे विभित्र राजनीतिक दल परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको पार्टीका जिल्ला अध्यक्ष क्रृषि पोखरेलले जानकारी दिनुभयो।

नवप्रवेशी नगरप्रमुख अग्रवालले जनताको पीरमर्का बुझ्ने र राजनीतिक इमान्दारिता भएको पार्टी नेकपा एमालेमा प्रवेश गर्न पाउँदा खुशी लागेको जानकारी दिनुभयो।

प्रतिक्रिया