भुजङ्गप्रयात छन्दकाे अभ्यास गर्दै “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२०” सम्पन्न !

इनेप्लिज २०७८ फागुन १४ गते २०:४६ मा प्रकाशित

काठमाडाैं, टुक्का साहित्य समाज काे आयाेजनामा २०७८ फागुन ११ गते बुधवार “छन्दमा टुक्का अभ्यास श्रृङ्खला-२०” अन्तर्गत भुजङ्गप्रयात छन्द  (वार्णिक छन्द) मा टुक्का लेखन अभ्यास सम्पन्न भएकाे छ ।

टुक्का प्रशिक्षक अनिल खग्रासकाे संयाेजन तथा प्रशिक्षणमा सञ्चालन भएकाे उक्त कार्यक्रममा नेपाल भारत लगायत विश्वका विभिन्न देशहरूबाट २४ टुक्का सर्जकहरूकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रमकाे समापन गर्दै टुक्का साहित्य समाजका अध्यक्ष ताराप्रसाद चापागाईंले अक्षर संख्या बराबर गरेर तुक् (अन्त्यानुप्रास) मिलाएर दुई हरफमा पूर्ण हुने गरि लेखिने नेपाली माैलिक प्रयाेगवादी लघुत्तम काव्यिक विधा “टुक्का” लेखनमा विविधता ल्याउने क्रममा छन्दमा टुक्का लेख्ने साप्ताहिक अभ्यास श्रृङ्खलाहरू सञ्चालन गरेर नेपाली भाषा साहित्यमा विशेष याेगदान पुर्याउने प्रयास गरिदै आएकाे भन्दै अभ्यासमा सहभागी सम्पूर्ण टुक्काकारहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्नु भएकाे थियाे।

भुजङ्गप्रयात छन्द
~ १२ अक्षर हुन्छन्।
~ चारवटा य गण हुन्छन्
~ सूत्र – ISS ISS ISS ISS
मध्यमा विश्राम

अभ्यासका क्रममा सङ्कलन भएका भुजङ्गप्रयात छन्द मा सिर्जना गरिएका टुक्काहरू

[१]
लियाैनी हरेरै रुवायाै नि लाेक
चलाएर अस्त्रै बनायाै बिजाेक।
✍️ ताराप्रसाद चापागाईं
धुनिबेसी ।

[२]
१.
अटेरी हुदैछौ भनेको नमानी
बुझेको छ छैनौं चढेको जवानी।
२.
नबोली बसेको भयो धेर बेला
रिसानी भयो के परे झैं झमेला ।
३.
म भोकै थिएँ सोधिनौ एक वाक्य
बसें आशले पर्खिदै भोज पाक्य।
✍️ होम प्रसाद न्यौपाने
धरान, सुनसरी ।

[३]
१.
गलेका भुतुक्कै , थुचुक्कै बसेका
थिए सात जोगी , खरानी धसेका ।
२.
निदाए भुसुक्कै, भिखारी कहाँका
हराए सबै लौ, शिकारी  यहाँका ।
३.
निदाई सुतेको खरायो हरायो
मुसाले उठायो बिरालो करायाे।
✍️ गुणनिधि घिमिरे
पाँचथर मोरङ हाल अमेरिका

[४]
१.
भनेका कुरा ता गरिनौ कहिल्यै
तिमीले भनेका म गर्थेँ जहिल्यै।
२.
भनेका कुराले मनैमा बिझायो
बुवाका डरैले बडाबा रिझायो।
✍️ बिक्रम तिरुवा सलिन

 जुम्ला ।

[५]
१.
गलेका सडेका नराम्रा कुराले
विगार्छ मितेरी सुटुक्कै सुराले।
२.
तिमीले सधैँ नै सिकायौ जुहारी
बनायौ कमारी बिचारी बुहारी।
३.
बहाना बनाई जलायौ डढायौ
बुहारी र छोरी कता खै पढायौ?
✍️ अरुण कुमार भुजेल
गाेरुबथान कालेबुङ्ग ।

[६]
छ राम्रो चुरा यो तिमीले भनेको
लगाऊँ कि पूरा सुनौलो बनेको।
✍️ पुष्पा सायरा

[७]
१.
नसोधी नखोजी कहाँ हो गएकी
भनेको नमानी किनारा भएकी।
२.
भनेको नटेरी नमानी गरेको
नबिर्स्यौ तिमीले मलाई भनेको।
३.
चढेको बढेको नयाँले गनेको
गएको दिनैमा रिसाई भनेको।
✍️ बेदु न्यौपाने
काठमाडाैँ ।

[८]
१.
उनीले दिएको वनैमा गएर
जचाऔँ लगाऔँ मनैमा भएर।
२.
गुनीले दिएको भलैमा भएकी
उनीले लिएको मनैमा पसेकी।
✍️ जमुना आचार्य
सिन्धुपाल्चाेक ।

[९]
१.
खरानी धसेको पुरानो छ जोगी
नयाँ पो म भन्ने सबै भुक्तभोगी।
२.
चिया खान लागें उ भेटी बिहानी
उनी छिन् रुपासी बनाएँ निशानी।
३.
चिसो रात ठण्डी बढ्यो लौ सिरेटो
रसैमा लिने हो कि हड्डी,सपेटो।
✍️ म्यामराज राई
हतुवागढी,भोजपुर ।

[१०]

निभेका रहेछन् त्यहाँ दीप सारा
नदेख्ने भएछन् उसै चाँद तारा।

यसै धेर नाता हराए जलाई
सधैं पीर चिन्ता भएको मलाई ।
✍️भगवती दवाडी
झापा ।

[११]
१.
म घुम्दैछु सारा हिमाली  धरामा
कहाँ छौ तिमी आज नेपाल आमा।
२.
छ नेपाल हेर्दा अति सौम्य हाम्रो
हिमाली तराई सबै फाँट राम्रो ।
३.
बचाएर मेची, र काली सिमाना
बनाऊँ पुराना, यहाँ पूर्ण छाना ।
✍️ तारा घिमिरे
संखुवासभा ।

[१२]
कसैले रुवाए कसैले हँसाए
यिनैले फसाए बिपत्ता बनाए ।
✍️ ऋषिराम खनाल

मध्यबिन्दु-६, नवलपुर ।

[१३]
१.
सजाएछु मैले सुटुक्कै लुकाई
भयो भूल के खै दिलैमा सजाई ।
२.
छ काँडा बिझेको दुखेको छ घाहा
खुसी देख्छु स्वार्थी रहेछौ लताहा ।
३.
जलायौ तिमीले खरानी बनायौ
थियो चाह भेट्ने नभेट्दै डढायौ ।
✍️ वसन्त अनुभव
घोराही उपमहानगरपालिका १४, दाङ

[१४]
१.
सुवासै छरेरै धपक्कै वलेछौ
सजायौ खुशीले हिडेरै गलेछौ।
२.
हिराको सिरानी गरुँगो रहेछौ
पिडाको  नसामा रमेरै सहेछौ।
✍️ अम्विका अधिकारी
झापा विर्तामोड ।

[१५]
१.
म चोरेर हेर्थेँ तिमी स्नान गर्दा
दियौ आज धोका लगाएर पर्दा।
२.
सधैँ देश सम्झी दुखेको छ छाती
कहाँ मिल्छ खै ओखती वैद्य जाती?
३.
भुलूँ देश प्यारी पिऊँ मात राती
नयाँ स्वप्न देखूँ निभाएर बाती।
✍️ रामशरण न्यौपाने
भक्तपुर ।

[१६]
१.
हिंडेको तिमीले भनेको नमानी
सुनेनौ त व्यर्थै नजाओस् जवानी।
२.
तिमीले दिएको छ माया मनैमा
बिचारेर बस्ने नभूल्ने धनैमा।
३.
छ खेतै भरी धान बाला झुलेकाे
बिचारा किसानै खुशीले खुलेकाे।
✍️ सहयात्री शाेभा अर्याल
रुपन्देही, बुटवल।

[१७]
सिकायौ नि बद्मास तिम्ले सिकायौ
नबोलेर आफ्नो कवाडी बिकायौ ।
✍️ रचना शर्मा प्रतीक्षा
ललितपुर ।

[१८]
१.
नखाेजी म पाएँ पुरानाे कहानी
पढे’सी डराएँ भिजाएँ सिरानी ।
२.
नसाेची गुमाएँ सुनौलो जवानी
कसाेरी बताऊँ अपूराे कहानी ।
✍️ रामकृष्ण दुवाडी
पाेखरा ।

[१९]
अँध्यारो हटाएर बालौ दियालो
जुटौं आज सारा नराेजाैँ पियालो।
✍️ सुर्यमणी रेग्मी
चितवन ।

[२०]
कराएँ, फकाएँ  स्वरै पो सुकाएँ,
घुमाएँ, डराएँ शिरै यो झुकाएँ।
✍️ अच्युत घिमिरे
भुटान ।

[२१]
छिमेकी गयो लौ सिमाना मिचेर ,
रह्यौँ चुप्प हामी खुकुरी झिकेर ।
✍️ बुद्धिमान चौधरी
कनकाई नगरपालिका ४ झापा

[२२]
दिएझैँ गरेको तिमीले लिदैछाै,
म माया गरेथे र धोका दिदैछाै ।
✍️ केशव ढकाल ‘प्रितबिज’
गाेरखा ।

[२३]
१.
तिमीले कसोरी मलाई हँसायौ,
दिएँ जिन्दगी यो सुटुकै फसायौ।
२.
तिमीदेखि झर्के रुँदै झन् कराएँ,
पियारा फकाऊ म सम्झेर आएँ।
✍️ कमला पाण्डे पराजुली
झापा ।

[२४]
१.
पियारी बनी ऊ फसाई मलाई,
सुनौलो कहानी छुरा पो चलाई।
✍️ अनुग्रह राना मगर ‘पुष्प’
संखुवासभा हाल मलेसिया

>>> जय टुक्का! जय साहित्य!! <<<

प्रतिक्रिया