बर्षौं पछि मैले बुनेको ऊनको टोपी,गलबन्दी,सल र पन्चो !

शशी के.सी २०७८ माघ ८ गते २३:१५ मा प्रकाशित

एकदिन धागोको बट्टामा ऊन बुन्ने कुरूस भेंटे।कुरूस देखेर बाल्यकाल याद आयो।म भनेको अहिलेको इन्टरनेट मात्र हैनकी नेपालमा टेलिभिजन नआउॅंदाको वा भनौं रेडियो सुनेर हुर्केको पुस्ता।हाम्रो बाल्यकालमा मनोरंजन भनेको की घरबाहिर टोलमा सेभेन स्टोन,गट्टा,चुंगी,डण्डी बियो,फुटवल,व्याटमिन्टन आदी खेल्नु की घर भित्र रेडियो सुन्दै कांटा,कुरूसले ऊनका टोपी,मोजा,गलबन्दी,सल,पन्चो र अलिक जान्नेले स्वेटर बुन्नु त हुन्थ्यो।

बुन्न शुरू वा सिकेको चाहीं याद आएसम्म मैले घरमा अलिक सानो हुंदा कुचोको डांठमा ऊनको पुरानो घागो भेला पारेर हो।तर स्कुलमा चार कक्षा पढ्दा पहिलो ऊनको गलबन्दी बुनेको हो।त्यसपछि बिस्तारै दश कक्षा पुग्दासम्म ऊनको टोपी,पन्जा,मोजा, स्वेटर बुन्न सिकें।

हामीले स्कुलमा पढेनौं मात्र।पढाई सधैं व्यवहारिक शिक्षा सहित हुन्थ्यो।कृषी कक्षामा कसरी खेती गर्ने बारेमा पढ्ने देखिलिएर स्कुलको सानो करेसाबारीमा खन्ने, रोप्ने,उमार्ने,स्याहारसुसार गर्ने र त्यॅंहा उम्रेको तरकारीहरू गृह बिज्ञानको कक्षामा पकाएर खाने सम्म हुन्थ्यो।त्यस्तै ईतिहास कक्षामा उहिल्यैका राजाहरूको बारेमा पढाउने साथै काठमाडौं,पाटन,भक्तपुरको दरवारको शैक्षिक भ्रमण लग्थ्यो।अतिरिक्त क्रियाकलाप अन्तरगत खेलकुदमा खेल्ने,नाच्ने,गाउने,नाटकखेल्ने,कथा,कविता लेख्ने,आर्ट कक्षामा बिभिन्न आर्ट आदी गर्नु पर्थियो ।

अझ प्राक्टिकलबाट सजिलै नंबर पाईन्छ।र एस.एल.सीमा राम्रो डिभिजन आउॅंछ भनेर धेरै जसोले दश कक्षामा ऐच्छिक बिषय गृहबिज्ञान,खाध्यबिज्ञान लिएर पढ्थे।यी बिषयहरूमा त बिभिन्न किसिमको पौष्टिक खाना पकाउन,घर,फूलसजाउन,लुगा सिलाउन आदी धेरै कुरा सिकाईन्थ्यो।

स्कुल छुटेको बर्षौंपछि पहिलो पटक बुन्दा गज्जबै लाग्यो।कांटा र कुरूस चलाउन बिर्सेको त रहेनछु।क्रिसमसको समयहुनाले रातो,सेतो र हरियो मिसिएको ऊन पनि रहेछ पसलमा,त्यही किनेर ल्याएं।र एउटा ऊनको स्काफ कुरूसले बुने।

आजकल त सजिलो छ।केही जान्नु परे एक क्लिक इन्टरनेटमा गुगल गरे भेटिहालिन्छ।त्यस्तै युट्यबमा त भीडियो सहित बिभिन्न भाषामा सबै कुरा हुन्।स्काफ, गलबन्दी,टोपी,पन्चो आदी बुन्ने तरीका पनि निक्कै रहेछ।त्यही हेरेर बुने।

यो पटक बुन्दै जांदा के अनुभव भयो भने बुन्दा हातको कसरत साथै दिमाग पनि चंगा हुने रहेछ।केही महिना अगाडी फ्रोजन सोल्डरको समस्या भोगेको थिंए र लेख लेखेको थिंए।https://www.enepalese.com/2021/12/338219.html

ओहो बुन्दा त हातको दुखाई कम हुन पनि मद्दत नै मिल्यो। अनि दुई बर्षदेखि संसार कोरोना भाईरसको मारमा परेको रदिनरात तेसैको असरले भोगिरहेको समस्या हेर्दा र सुन्दा मन सधैं डराई रहेको अवस्था थियो। बुनिरहॅंदा त ध्यान बुनाईतिरकेन्द्रित भएर कोरोना त बिर्सेछु। मन नै हलुका महशुस हुन थाल्यो।

अझ क्रिसमसको उपहार दुईचार टोपी बुनेर घर परिवार र साथिहरूलाई पनि दिंए। अरूलाई उपहार दिंदा बर्षौं अगाडीअमेरिका भरखर आएकोबेला एकजना अमेरिकन बुढीआमाले तिम्रो छोरालाई “उपहार” भनेर टोपी दिएको सम्झें। ओहोकति खुशी भएर दिएकी थिईन । लिंदा हांसेर धन्यवाद त भने तर अहिले सोच्दा उसले दिंदा दर्शाएको खुशी जस्तो लिंदातेती खुशी दर्शाइन की जस्तो लाग्छ।

 

खासमा अमेरिकामा बृद्धाश्रममा बस्ने बुढी आमाहरूले बर्षभरि बिभिन्न सामानहरू प्राय: टोपी, सल, स्काफ आदी बुन्ने गर्छनर बुनेको सामानहरू हस्पिटल,अनाथ आश्रम आदीमा उपहार दिने गर्छन।त्यो बेला हामी विदेशी बिध्यार्थीको बच्चाहरूको लागि भनेर बुढीआमाहरूले बुनेका सामानहरू उपहार दिएका थिए।

तर जे होस् आफुले बुनेर अरूलाई उपहार दिंदा मन खुशी चाहीं हुने रहेछ।

अन्त्यमा, तॅंपाईसॅंग पनि बुन्ने सीप छ भने बुन्न शुरू गर्नुस। फुर्सद छैन नभन्नुस्। टि.भी हेर्दै बुन्न सकिन्छ। के बुन्ने र कसरीबुन्ने युट्युबमा हेर्न सकिन्छ।

अझ घरमा बच्चाहरू छन् भने त बुन्न सिकाउनुस। बुन्न मात्र हैन अरू घरायसी काम पकाउने, फूलबारी स्याहार गर्ने, बत्तीकात्ने, टपरा बुन्ने, सिलाई बुनाई आदी आफुले जानेको सीप सिकाउनुस्। पछि ठुलो भएपछि धन्यवाद भन्लान्।बच्चाहरूले छिट्टो सिक्छन पनि। पढाई बिग्रन्छ नसोच्नुस्। आजकलका बच्चाहरू धेरै समय कम्प्युटर अगाडी पढेर बसेजस्तो बसिरहन्छन्। तर खासमा संधैं पढेका हुन्नन्। सोसलमिडियामा वा गेम आदी पनि खेलिरहेका हुन सक्छन्। जसरीहामीले हाम्रो पालामा किताब भित्र कमिक, फिल्मको म्यागेजिन, उपन्यास आदी राखेर पढेको जस्तै !

-शशी के.सी

 

 

शशी के.सी

लेखिका

प्रतिक्रिया