विराटनगर,३० पुस।प्रदेश नं. १ सरकारले कोभड –१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचार सम्बन्धमा आज राजनीतिक दलहरूसँग प्रदेशस्तरीय सर्वदलीय सर्वपक्षीय छलफल गरेको छ।
मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा मुख्यमन्त्री एवं मन्त्रिपरिषदको कार्यालयमा आज बसेको वैठकले रोगविरुद्ध जनचेतना बढाउन र आवश्यक तयारी गर्न छलफलको आयोजना गरिएको हो।
मुख्यमन्त्री राईले कोभड –१९ सङ्क्रमण, रोकथाम, नियन्त्रण र उपचारका लागि राजनीतिक दलको सहयोगको खाँचो देखिएकाले कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो ।उहाँले राजनीतिक दलहरूको दलीय संयन्त्र आधारभूत तहसम्म हुने भएकाले दलहरू र तिनका भातृ संगठनको परिचालनले रोगविरुद्ध लड्न सकिने विश्वास व्यक्त्त गर्नुभयो।
‘सरकारको प्रयासमा दलहरूले साथ दिए कोभीडविरुद्ध तय गरिएका योजना सफल हुन सक्छन्’–मुख्यमन्त्री राईले भन्नुभयो।उहाँले प्रदेशमा खोपको पर्याप्त व्यवस्था भए पनि पछिल्लो समय खोप लगाउन आउने सङ्ख्यामा कमी आएकोमा राजनीतिक दलहरूलाई यसप्रति जागरण पैदा गरिदिन अपिल गर्नुभयो।
कोरोनाको तेस्रो लहर सकेसम्म निषेधाज्ञा वा बन्दाबन्दी गर्ने अवस्था नआउनेगरी सामाना गर्नुपर्नेमा जोड दिंँदै मुख्यमन्त्री राईले बन्दाबन्दीले जनताको दैनिकी, रोजीरोटीसहित मुलुकको अर्थतन्त्र चौपट हुनेतर्फ सरकार सम्वेदनशील रहेको बताउनुभयो।
आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले कोभीड रोगविरुद्ध संङ्घ, प्रदेश र स्थानीय तीनै तहको सरकार मिलेर लड्नुपर्ने धारणा व्यक्त्त गर्नुभयो।उहाँले रोगविरुद्ध अग्रपंङ्तिमा खटिने स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलाई बुस्टर डोजका रुपमा खोप दिन सरकार प्रतिवद्ध रहेको बताउनु भयो।उहाँले रोगको सङ्क्रमण फैलिएको अवस्थामा एकले अर्कामा जिम्मेवारी पन्छाएर भन्दा पनि एक आपसमा मिलेर अघि बढ्न आग्रह गर्नुभयो।
सामाजिक विकास मन्त्री जयराम यादवले रोगको सङ्क्रमण फैलिएको अवस्थामा राजनीतिक दलहरूलाई भीडभाड हुने खालको कार्यक्रम नगरी दिन अपिल गर्नुभयो।उहाँले विगतमा आफूहरू सरकारमा नभएको अवस्थामा पनि कोभीड विरुद्धको अभियानमा आफ्नो राजनीतिक दलको तर्फबाट गरेको सहयोगको स्मरण गर्दै रोगको जोखिमको अवस्थामा कसैबाट पनि गैरराजनीतिक चरित्रको अपेक्षा नभएको स्पष्ट पार्नुभयो।
राजनीतिक दलका तर्फबाट नेपाली कांग्रेस प्रदेश अध्यक्ष उद्धव थापा, सोही पार्टीका संसदीय दलका सचेतक सुयर्माराज राई,नेकपा माओवादी केन्द्र अध्यक्ष हर्कबहादुर नेम्वाङ,नेकपा एकीकृत समाजवादीका पोलिटब्यूरो सदस्य तथा प्रदेश सचिव महेश रेग्मी,जनता समाजवादी पार्टी प्रदेश अध्यक्ष प्रवीण चाम्लिङ, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चाम्लिङ,राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश सचिव वासुदेव भट्टराई लगायतले आ–आफ्नो दलका तर्फबाट जनताको स्वास्थ्य सुरक्षा र कोभीड नियन्त्रण र रोकथामका लागि सदैव सहयोग रहेने धारणा राख्नुभएको थियो।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव कालीप्रसाद पराजुली र सामाजिक विकास मन्त्रालयका तर्फबाट वरिष्ठ जनस्वास्थ्य प्रशासक सागर प्रसाईंले रोगविरुद्ध भए गरेका प्रयासबारे प्रकाश पार्नुभएको थियो।
छलफलमा मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल,सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव,१ नं. प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुणकुमार बिसी,सशस्त्र प्रहरी बल पकलीका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक कमल गिरी,राष्ट्रिय अनुसन्धान १ नं.प्रदेश कार्यालयका प्रमुख अनुसन्धान निर्देशक प्रकाशराज पाण्डे,नेपाली सेना थलाहा गणका प्रमुख सेनानी अमृत थापा मगरले कार्यालयबाट भए गरेका कामका बारे जानकारी गराउनुभएको थियो।
प्रतिक्रिया