ओर्लाण्डोमा साहित्यिक कार्यक्रम सम्पन्न

इनेप्लिज २०७८ मंसिर ७ गते ३:२६ मा प्रकाशित

आन्मा नासियाको १६ औं संयुक्त सम्मेलनका अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आयोजनामा सम्मेलन स्थल ओर्लाण्डो,फ्लोरिडामा कविता प्रतियोगिता सम्पन्न भएको छ।प्रतियोगितामा पोखरा,नेपालका रोशन तिमिल्सिना प्रथम, फ्लोरिडाका डा.अम्बर कार्की द्धितीय र काठमाडौं नेपालका डम्बर विकेल तथा नर्थक्यारोलाइनाका चेत भट्टराई तृतीय भएका थिए।प्रतियोगितामा प्रथम,द्धितीय र तृतीय पुरस्कृतहरुलाई क्रमशः तीनसय,दुई सय र एक एकसय अमेरिकी डलर नगद पुरस्कारसहित र प्रमाण पत्र प्रदान गरिएको थियो।

कार्यक्रमस्थलमा उपस्थित भएर कविता वाचन गर्न असमर्थ कविहरुलाई जुम प्रविधि मार्फत प्रतियोगितामा सहभागिताको अवसर प्रदान गरिएको थियो। प्रतियोगितामा प्राप्त कविताहरु मध्ये उत्कृष्ट एघारवटा कविताहरु प्रतियोगितामा वाचन गरिएको थियो।प्रतियोगितामा वाचित कविताहरु छनोटका लागि अनेसासका पूर्व अध्यक्ष तथा साहित्कार ज्ञानेन्द्र गदाल,बोर्ड अफ ट्रष्टीका सल्लाहकार तथा साहित्यकार सीता पाण्डे तथा डा.चिरन्जीवी भट्टराई रहनु भएको मूल्याँकन समिति गठन गरिएको थियो।मूल्याँकन समितिका सदस्यहरुले प्राप्त कविताहरु, उत्कृष्ट कविताहरुको बारेमा र मूल्याँकनको नतिजाको घोषणा गरेका थिए।प्रतियोगितामा अनुभव गिरी,केशव बराल र अर्जुन सिग्देलले क्रमशः प्रथम,द्धितीय र तृतीय पुरस्कार रकम प्रदान गरेका थिए।

कार्यक्रममा अप्रतियोगी कविताहरु समेत वाचन गरिएको थियो।त्यस्तै विशेष अतिथि अनेसासका पूर्व अध्यक्ष तथा बोर्ड अफ ट्रष्टीका उपसभापति साहित्यकार पदम विश्वकर्माले आयोजक,सहभागी,सहयोगी,पुरस्कारदाता सबैलाई धन्यवाद ज्ञापन गर्दै पुरस्कृत कविहरुलाई बधाइ ज्ञापन गरेका थिए।कार्यक्रममा कार्यवाहक राजदुत डा कुमारराज खरेल,नासियाका पूर्व अध्यक्षहरु विमल नेपाल,डा. रामचन्द्र बराल,राजा घले,वर्तमान अध्यक्ष विनय अर्याल,नवनिर्वाचित अध्यक्ष कृष्ण श्रेष्ठ,अनेसास केन्द्रीय कार्यसमितिका सदस्य निजानन्द मल्ल,एनआरएन अमेरिकाका उपाध्यक्ष गोपेन्द्र भट्टराई,विडिएका संस्थापक अध्यक्ष डा.नन्द रेग्मी, एनआरएन फलोरिडा च्याप्टरका अध्यक्ष विकास देवकोटा,अनेसास फ्लोरिडा च्याप्टरका पदाधिकारीहरु,आन्मा,नासिया र विडिएका पदाधिकारीहरु,विभिन्न संघसंस्थाका अध्यक्ष तथा पदाधिकारीहरु,अनेसासका आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो।कार्यक्रम अनेसास फ्लोरिडा च्याप्टरका अध्यक्ष दिप कार्कीले सञ्चालन गरेका थिए।

 

प्रतिक्रिया