मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त भयो

इनेप्लिज २०७८ मंसिर १ गते १०:५६ मा प्रकाशित


विराटनगर,१ मङ्सिर।प्रदेश नं १ को मुख्यमन्त्री राजेन्द्रकुमार राईले आज विश्वासको मत प्राप्त गर्नुभएको छ।

उहाँको पक्षमा पाँच राजनीतिक दलका गठबन्धनका ५० मत र विपक्षमा नेकपा एमालेका ४१ सांसद मध्ये सदनमा उपस्थित २९ जनाले मतदान गरेका थिए।

गठबन्धनमा नेपाली कांग्रेसको २१,नेकपा माओवादी केन्द्रका १५, नेकप एकीकृत समाजवादीका १०,जनता समाजवादी पार्टी नेपालका तीन र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च नेपालका एक मत मुख्यमन्त्री राईको पक्षमा मतदान गरेका थिए।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश नं १ को प्रदेश सभा नियमावली,२०७४ को नियम १२८ को उपनियम(४) बमोजित प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सभामा विश्वासको मतका लागि सदनमा प्रस्ताव पेश गर्दै सभामा सहभागी सबै राजनीतिक दलका सांसदहरुसँग पक्षमा मत माग्नुभएको थियो।

उहाँले यो सरकार संविधान र कानून अनुसार चल्ने भन्दै संविधान सम्मत बनेको यो सरकार जनताको अधिकारलाई थप सुदृढ गर्दै लैजाने कुरामा जोड दिनुभयो। मुख्यमन्त्री राईले राजनीतिक परिस्थितिले संविधान र जनताका अधिकारलाई कमजोर बनाउने काम भएकाले वर्तमान गठबन्धन बनेको जिकिर गर्दै परिवर्तनका सम्वाहक यो सरकारले संविधानको रक्षा गर्ने कुरामा जोड दिनुभयो।

विश्वासको मतको प्रस्तावमा छलफल

नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले हठ्ठी र जिद्धी स्वभावले नै नेकपा एमालेको दुई तिहाई बहुमतको सरकार गुमेको चर्चा गर्दै राजनीतिक परिवर्तन भएपनि राजनीतिक दलका नेताहरुमा चेतनाको वृद्धि नभएको कुरामा जोड दिनुभयो।उहाँले वर्तमान गठबन्धन संविधान रक्षाका लागि भएकाले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताउनुभयो।नेता कोइरालाले विकृति,विसंगति र प्रतिगमनको विरुद्ध बनेको यो गबन्धनले निरन्तता पाउने विश्वास व्यक्त्त गर्नुभयो।

नेकपा एमाले दलका तर्फबाट प्रदेश सभा सदस्य एवं पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्कीले हाम्रो पार्टी सहमति र सहकार्यको विरोधी नभएको बताउनुभयो।

उहाँले गठबन्धनसँग चुनावी प्रतिस्पर्धा गर्न तयार रहेको भन्दै हाम्रो पार्टीले मुख्यमन्त्री राईले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने स्पष्ट पार्नुभयो। उहाँले लोकतन्त्रको सुदृढीकरण र बलियो बनाउन राजनीतिक दलमा पनि सुदृढीकरण हुनु पर्ने तर्क गर्दै नेकपा एमाले सदनमा प्रमुख प्रतिपक्षको भूमिका रचनात्मक ढङ्गले गर्ने धारणा राख्नुभयो।

छफलमा उठेका विषयमा मुख्यमन्त्री राईले जवाफ दिँदै अरुको पार्टीको चिन्ता नगर्न आग्रह गर्नुभयो।

उहाँले आफ्नो पार्टी चलाउने ढङ्ग नभएकै कारण केन्द्र देखि प्रदेशसम्म सरकारबाट बाहिरनु परेको धारणा राख्दै समय छोटो र काम धेरै गर्नुपर्ने भएकोले नै समयसीमा भित्र विश्वासको मत लिन प्रस्ताव गरेको बताउनुभयो।उहाँले विश्वासको मत नलिई कुनै पनि महत्वपूर्ण कार्य नगर्ने भन्दै विश्वासको मतमा नेकपा एमालेलाई सहभागी हुन पुनः आग्रह गर्नुभयो।

मुख्यमन्त्री राईले सदन पछि अब सरकार छिट्टै विस्तार गर्ने भन्दै गठबन्धनको केन्द्रको निर्णय हाँसीहाँसी स्वीकार गर्ने विचार राख्नुभयो।प्रदेश सभाको बैठक अर्को सूचना जारी नभएसम्म स्थगन भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया