विराटनगर महानगरपालिकामा वाढीका कारण तीन जनाको मृत्यु–रु ५० हजार राहत दिने निर्णय

इनेप्लिज २०७८ कार्तिक ६ गते २:०० मा प्रकाशित


विराटनगर,५ कात्तिक।गएको कात्तिक १ र २ गते परेको अविरल बर्षाका कारण आएको वाढीले विराटनगर महानगरपालिकाभित्र तीन जनाको मृत्यु भएको छ।

महानगरपालिकाका प्रमुख भीम पराजुलीले आज यहाँ वसेको महानगरस्तरीय विपद् व्यवस्थापन समितिको बैठकमा उक्त जानकारी दिदै मृतकका परिवारलाई तत्काल राहत स्वरुप रु ५० हजार उपलव्ध गराउने निर्णय गरिएको बताउनु भयो।

उहाँले बाढी र डुबानबाट विस्थापित परिवारलाई खाना खुवाउनुका साथै यसबाट भएको क्षतिको विवरण महानगरले संकलन गरिरहेको जानकारी दिनु भयो। बाढीका कारण प्रभावित भएका कृषक र व्यवसायीलाई तत्काल राहत उपलब्ध गराउन प्रदेश र सङ्घीय सरकार समक्ष माग गरिने प्रमुख पराजुलीले बताउनु भयो ।

वर्षाका कारण विराटनगरका अधिकांश वडाहरु डुवानमा परेको महानगरपालिकाका राजेन्द्र प्रधानले जानकारी दिनु भयो।प्रारम्भिक तथ्याङक अनुसार हालसम्म दुई हजार ६९० घर परिवार बाढी र डुवानबाट प्रभावित भएको उहाँले बताउनु भयो। विराटनगर –१ मा सवैभन्दा वढी छ सय घर परिवार डुवानमा परेका छन्।

प्रतिक्रिया