विश्वासको मतको प्रस्ताव पेश

इनेप्लिज २०७८ कार्तिक ६ गते १:४९ मा प्रकाशित


विराटनगर,५ कात्तिक।प्रदेश नं १ प्रदेश सभाको आज बसेको बैठकमा मुख्यमन्त्री भीमप्रसाद आचार्यले विश्वासको मतका लागि सभामा प्रस्ताव पेश गर्नुभयो।

नेपालको संविधानको धारा १८८ को उपधारा(२) तथा प्रदेश नं १ को प्रदेश सभा नियमावली,२०७४ को नियम १२८ को उपनियम(४) बमोजिम सदनमा सो प्रस्ताव पेश भएको हो।

मुख्यमन्त्री आचार्यले प्रस्ताव पेश गर्नुअघि केही दिन अघि अबिरल बर्षाका कारण भएको जनधन क्षतिपप्रति दुःख व्यक्त्त गर्नुभयो।उहाँले अबिरल बर्षकै कारण प्रदेशमा ७० जनाले ज्यान गुमाएको,१८ जना घाइते भएको र १२ जना बेपत्ता, ४० वटा घर बगाएको र एक हजार ८२५ घरमा आंशिक क्षति भएको जानकारी गराउनुभयोृ।

उहाँले अबिरल बर्षाकै कारण प्रदेशमा १० हेक्टर जमीनमा लगाइको धानबाली पूर्णरुपमा क्षति भएको र लगभग ५० हजार हेक्टर जग्गाको धानबालीमा आंशिक क्षति भएको र अन्य क्षतिको विवरण आउन बांकी रहेको जनाउँदै मृतक परिवारलाई रु.एक लाख,पूर्ण क्षति भएको घरलाई रु.तीन लाख,आंशिक क्षति भएको परिवारलाई रु.३५ हजार र सामान्य क्षति भएको परिवारलाई रु.१५ हजार राहत स्वरुप प्रदेश सरकारले प्रदान गर्ने जानकारी दिनुभयो।

मुख्यमन्त्री आचार्यले धानबालीमा भएको क्षतिप्रति प्रदेश सरकारले कृषकको क्षतिमा २५ प्रतिशत राहत प्रदान गर्ने बताउनुभयो।

प्रदेश सभाको अर्को बैठक कात्तिक ७ गते मध्यान्ह १२ः३० बजे बस्ने र विश्वासको मत मत विभाजनबाट हुने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो।

प्रतिक्रिया