शिक्षालाई सीपसँग जोड्नु पर्ने

मोहम्मद सदरुल÷ मनोज दाहाल २०७८ भदौ २३ गते २२:१३ मा प्रकाशित

विराटनगर,२३ भदौ (रासस):शिक्षालाई सीपसँग जोड्न सकियो भने शिक्षित बेरोजगारको समस्यालाई समाधान गर्न सकिन्छ।

सीपले नै मानिसलाई जीवन निर्वाह गर्न आधार खडा गरेको पाइन्छ।अहिले पनि सीपमा पोख्त सिकर्मी,डकर्मी र ग्यारेजमा काम गर्ने र सिलाई कटाईको काम गर्ने मानिसहरु नेपाल सरकारको उच्च ओहदामा रहेका कर्मचारीहरु भन्दा बढी आय आर्जन गर्दछन्।

आज अन्तर्राष्ट्रिय साक्षरता दिवसको सन्दर्भमा‘मानव केन्द्रित पूर्ण लाभका लागित साक्षरता,प्रविधि प्रयोगको असमानतामा न्यूनता’नाराले पनि यो पुष्टि गर्दछ की सीपले मानिसलाई स्वरोजगार प्रादन गर्दछ।

हाम्रो देशमा नयाँ शिक्षा प्रणाली लागु हुनुभन्दा पूर्व सरकारी विद्यालयमा कृषि, काठका सामान बनाउने तालिम दिइन्थ्यो।तर अहिले ती विषयहरुलाई पाठ्यक्रमबाट हटाएको छ।जसले गर्दा घरका सामान्य काम गर्न पनि मानिसले बाहिरबाट नै बोलाउने गर्दछ।अहिले पनि विद्यालयमा व्यावसायिक शिक्षाको महत्व बढिरहेको महसुस गर्न सकिन्छ।

विगतका तुलनामा विद्यालय र विद्यार्थीहरुको सङ्ख्या बढ्दै गएको छ।न्यून साक्षरता भएको हाम्रो देशमा अहिले साक्षरताको प्रतिशत उच्च रहेको पाइएपनि सीपमा साक्षरता हुन नसक्नु हाम्रो शिक्षा प्रणालीमा सुधार गर्नु आवश्यक देखिन्छ ।
प्रदेश नं १ मा शिक्षाको अवस्था

प्रदेश नं १ अन्तर्गत १४ जिल्लामा उच्च शिक्षामा छात्राको सङ्ख्या ज्यादा रहेको छ।

प्रदेशका तराई ,पहाड र हिमालका जिल्लामा कक्षा ९ देखि १२ सम्म अध्ययन गर्ने छात्रको तुलनामा छात्रा ज्यादा रहेको सामाजिक विकास मन्त्रालयबाट उपलव्ध गराएको तथ्याङ्मा उल्लेख रहेको छ।

प्रदेशका कक्षा ९ मा अध्ययन गर्ने छात्राको संख्या ४७ हजार ८७५ रहेको छ भने छात्रहरु ४७ हजार २९३ गरी जम्मा ९५ हजार १६८ रहेका छन्।यसैगरी कक्षा १० मा अध्ययन गर्ने छात्राहरु ४३ हजार ०२१ छन भने छात्र ४० हजार ७८३ गरी जम्मा ८३ हजार ८०४ जना रहेका छन्।

यस्तै कक्षा ११ मा अध्ययन गर्ने छात्राको सङ्ख्या तराईको सुगम सहित १४ जिल्लामा अध्याधिक रहेको छ।उक्त्त कक्षामा अध्ययन गर्ने छात्रा २९ हजार ०५० छन् भने छात्र २४ हजार ९२५ गरी जम्मा ५३ हजार ९७५ जना रहेका छन्।

यस्तै कक्षा १२ मा सम्पूर्ण १४ जिल्लामा छात्राको सङख्या २६ हजार २८२ रहेको छ भने छात्र २१ हजार ५१५ गरी जम्मा ४७ हजार ७९७ रहेको मन्त्रालयले जनाएको छ।यस्तै प्रदेशमा कक्षा १ देखि ५ सम्म छात्रा दुई लाख पाँच हजार ४९१ रहेका छन् भने छात्र दुई लाख ८१ हजार ६८९ गरी पाँच लाख ४७ हजार १८० जनाले अध्ययन गरिरहेका छन्।

यस्तै कक्षा ६ देखि ८ सम्म अध्ययन गर्ने छात्राको सङख्या एक लाख ४२ हजार २६३ रहेको छ भने छात्र एक लाख ४७ हजार ८२० गरी जम्मा दुई लाख ९० हजार ०८३ जना रहेका छन्।

जुन रुपमा विद्यालय र विद्यार्थीहरुको सङ्ख्या बढ्दै गएको छ त्यही रुपमा विद्यालय तह देखि नै सीममूलक शिक्षाको अवस्था सुदृढ भएर जाने हो भने शिक्षाले रोजगार बढाउँछ र बेरोजगारी समस्या समाधान हुन्छ।

प्रदेश सरकारले विदेश पलायन हुने युवाहरुलाई स्वदेशमा स्वरोजगार र रोजगार उपलब्ध गराउन प्राविधिक शिक्षामा जोड दिएको छ।

प्रदेश अन्तर्गतका विभिन्न विद्यालयहरुमा प्रि डिप्लोमा र तीन वर्षे डिप्लोमाको अध्ययनका लागि सामुदायिक तथा निजी विद्यालयहरुलाई जोड दिएको मन्त्रालयका उच्च शिक्षा प्राविधिक शाखाका प्रमुख गोपालप्रसाद दाहालले बताउनु भयो।

प्रदेशमा बाली विज्ञान,सिभिल,कम्प्युटर,इलोक्ट्रोनिक,पशु लगायतमा अन्य प्राविधिक विषयहरुमा सिटिइभिटीकोको सम्बन्धमा विद्यालयहरु संचालन रहेका छन्।

प्रदेशमा सिटिइभिटीको आङ्गिक शिक्षालय सात वटा संचालनमा रहेको छ भने साझेदारी १२ वटा सञ्चालित छन्।

यस्तै सिटिइभिटीका सम्बन्धमा प्राप्त सामुदायिक ३८ बटा विद्यालय टिइसिए संचालित छन् भने शिक्षा विभागबाट सञ्चाालित प्राविधिक तथा व्यवसायिक शिक्षा( प्राविधिक धार)९३ वटा सामुदायिक विद्यालयमा विद्यार्थीहरुले अध्ययन गरिरहेका छन्।

यस्तै सिटिइभिटीबाट सम्बन्धन लिई ५३ बटा शिक्षालयले विभिन्न प्राविधिक विषयमा अध्ययापन गराइरहेको प्रमुख दाहालले जानकारी दिनु भयो।

प्रदेश अन्तर्गतका विभिन्न प्राविधिक धारमा एक हजार ७०० विद्यार्थीहरु अध्ययन गरिरहेका छन् भने सिटिइभिटीको सम्बन्धमा आठ हजार विद्यार्थीहरुलाई विभिन्न विद्यालयहरुले अध्यापन गराइरहेको छ।

सरकारले प्रदेशमा विद्यार्थीहरुलाई दक्ष बनाउन प्राविधिक शिक्षामा जोड दिएपनि गुरुकुल तथा मदर्शामा अध्ययनरत विद्यार्थीहरुमा विशेष ध्यान दिएको मन्त्रालयका सूचना अधिकारी सदानन्द भट्टराईले बताउनु भयो।

उहाँले मन्त्रालय धार्मिक शिक्षाको आवश्यक बजेटको व्यवस्था गरेपनि अहिले बाँडफाँड हुन बाँकी रहेको जानकारी दिनु भयो।

मन्त्रालयका उप सचिव कृष्णप्रसाद पोखरेलले वर्तमान समयमा सम्पूर्ण नागरिकहरुलाई सूचना प्राविधिक ज्ञान प्राप्त होस् भत्रे उद्देश्यले सरकारले सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावकहरुलाई सूचना प्रविधि सम्बन्धी ज्ञान ( साक्षरता) प्रदान गर्न आवश्यक बजेटको व्यवस्था गरेको बताउनु भयो।

उहाँले प्रदेशका विभिन्न विद्यालहरुमा शिक्षकलाई सूचना प्रविधि सम्बन्धी तालीमका साथै आवश्यक कम्प्युटर व्यवस्था गरी बिहान बेलुक अभिभावकहरुलाई सूचना प्रविधि सारक्षाता अभियान शुरु गरेकोमा कोरोना महामारीको कारण केही समस्या उत्पन्न भएको बताउनु भयो।

उप सचिव पोखरेलले अभियानबाट स्थानीय अभिभावक लाभान्वित भएमा सो स्थान समृद्ध हुने भएकाले स्थानीय निकायले सहयोग गर्नुपर्नेमा जोड दिनु भयो।
जिल्ला शिक्षा समन्वय इकाई मोरङका प्रमुख टङ्क गौतमले मोरङमा आधारभूत तह देखि माथिसम्मका ७९० वटा विद्यालय छन्।हाम्रो शिक्षा परम्परागत एवं साक्षरता बनाउने नै हो।यस्तो शिक्षाले समग्र देशको बेरोजगारी समस्या समाधान गर्नुको सट्टा बढाउने भएकोले यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्ने बताउनुभयो।

उहाँले मोरङका धार्मिकता अध्ययन गराउने ५७ वटा मदर्शा छन्।मदर्शामा अध्ययन गर्ने विद्यार्थीहरुले अङ्ग्रेजी,नेपाली, उर्दू र अरबी भाषा सिक्नु निकै मुश्किल काम हो।यसलाई परिमार्जन गर्नु पर्छ।एउटा भाषा सिक्न त मानिसलाई हम्मे हम्मे पर्छन् भने कलिला बालबालिकाले चारचार वटा भाषा सिक्नु पर्ने बाध्यतालाई हटाउन मदर्शा शिक्षामा विशेष अनुसन्धान हुनुपर्छ नभए ती बालबालिका त्यही विद्यालयमा सीमित भएर हराउने छन्।

-मोहम्मद सदरुल÷ मनोज दाहाल

प्रतिक्रिया