एनआरएनएमा आर्थिक अनुशासन कडाईका साथ लागु हुन्छ : महेश श्रेष्ठ,एनआरएनए उपाध्यक्ष पदका प्रत्यासी

इनेप्लिज २०७८ भदौ १४ गते ९:५१ मा प्रकाशित

लण्डन।गैर आवासीय नेपाली संघ (एनआरएनए) का वर्तमान कोषाध्यक्ष महेश श्रेष्ठले संघले नाफाभन्दा पनि विगतमा भएका घाटालाई अहिले पूर्ति गरिरहेको बताउनु भएको छ।

नेपाल पत्रकार महासंघ युरोपको बहस शृङ्खलाको ६३औं भागमा एनआरएनए १० औं महाधिवेशन नीति र नेतृत्वको बहस कर्यक्रममा बोल्दै कोषाध्यक्ष श्रेष्ठले विगतदेखि आजसम्म भएको घाटा मध्ये ११ करोड रुपैयाँको पूर्तिमा संघ लागिरहेको बताउनु भयो।

उहाँ एनआरएनए १० औं महाधिवेशनका लागि उपाध्यक्ष पदका प्रत्यासी पनि हुनुहुन्छ।उहाँ जापानमा बसोबास गर्दै आउनु भएको छ।

संघको हालको आम्दानी बारे उहाँ भन्नुहुन्छ,’असार मसान्तसम्म गरेर अहिले हाम्रो खातामा फिक्स डिपोजिट लगभग ५ करोड जति रहेको छ।र,सबै देशहबाट सदस्यता शुल्क ५ डलरको हिसाबले आउनेक्रममा छ।’

उहाँले अगाडि भन्नुभयो,’यो अधिवेशनसम्म हामीले ९, १० करोड जति आम्दानी गर्छौं।’

२००३ देखि आजसम्म आउँदा आर्थिक पक्ष अलि व्यवस्थित भएको पनि उहाँले उल्लेख गर्नुभयो।

हामीले विभिन्न प्रोजेक्ट र सचिवालय खर्चलगाएतका सबै खर्चको डिडिए गर्यौं र त्यसबाट हाम्रो खर्चबारे पूर्ण विवरण पायौं र त्यही अनुसार काम गर्यौं, कोषाध्यक्ष श्रेष्ठले भन्नुहुन्छ, ‘यसरी नै हाम्रो संस्थाको आर्थिक पक्ष पारदर्शिता भएको छ । साथै खर्च पनि व्यवस्थित भएको छ ।’

यस्तै, चुनावमा मतदान दिँदा मतदाताले आधार खोज्ने भएकाले एनआरएनए निर्वाचनमा राजनीतिकको प्रभाव पर्न सक्ने आंकलन उहाँको छ ।

यसैगरि, संघको आर्थिक पक्षलाई अझैं व्यवस्थित गर्न र आर्थिक अनुशासन पालना गर्न आफूहरु सचेत रहेको पनि उहाँले बताउनु भयो । साथै आफ्नै कार्यकालमा संघमा हुने धेरै अनावश्यक खर्चलाई पनि कटौति गरेको उहाँको भनाइ छ।

अनलाइनमार्फत सम्पन्न भएको उक्त कार्यक्रममा श्रेष्ठको प्रमुख आतिथ्य र पत्रकार महासंघमा कार्यरत विभिन्न देशलाई प्रतिनिधित्व गर्ने पत्रकारहरुको सहभागिता रहेको थियो।

प्रतिक्रिया