कविता:रक्सीको स्वाद

अलका मल्ल,काठमाडौं २०७८ साउन २४ गते १३:१९ मा प्रकाशित

जब पाएं रक्सीको मिठो स्वाद
पिउन मन लाग्यो फेरी फेरी
भोज भतेरमा सजिलै पाइने
कसैको आनाकानी सुन्नै नपर्ने।

बौलाहा बनाउने स्वाद चखायो
लुकाएं मैले त्यो मातको बोतल
सिरानी मुनी,कहिले खाट मुनि
सुईंको नदिइ खाल्टा खु्ल्टी खनी।

जीवन अधुरो भो रक्सी बिना
मेरो मात देखेर लठ्ठिए अप्सरा
नशाले पछ्याउँछन् पासो थापेर
कोहि घृणा गर्छन् मलाई देखेर।

संसारको अनुपन आनन्द मिल्छ
तृप्त प्यासले झमेला भुल्छ
प्याला भरि सत्यता मात्र देख्ने
एक चुस्कीले धित मर्दै नमर्ने।

एक पटक पिएछी पिउँ पिउँ लाग्ने
यसको बातै यस्तै मातै यस्तै
रक्सी पिएर सत्य बोल्दै हिडें
आफ्नै भरोसामा मग्न भएं।

पत्तै भएन कता रात बिताएछु
घरले तलासेकी!भेउ पाएनछु
जड्याँहाको नामले चर्चा चलेछ
मेरो खोजीमा बथानै उठेछ।

पिडा भो आज रक्सी नमिल्दा
छट्पटि भो मात नलाग्दा
रक्सी जिउनुको सहारा भएछ
वाह ! बायोग्राफीको ताँती लागेछ।

-अलका मल्ल,काठमाडौ

 

प्रतिक्रिया