विश्व बैंक र आईटीसीसँग सभापति सुमार्गीको छलफल, बन्यो त्रिपक्षीय सहमति

इनेप्लिज २०७८ साउन ६ गते १०:२४ मा प्रकाशित

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको कृषि उद्यम केन्द्र (एईसी) ले आज विश्व बैंक र अन्तराष्ट्रिय व्यापार केन्द (आईटीसी) सँग छलफल गरेको छ । केन्द्रका सभापति अरुणराज सुमार्गीले विश्व बैंक आईटीसीका प्रतिनिधिसँग आफ्नै कार्यकक्षमा छलफल गरेका हुन् ।

नेपाली कफीको विश्व बजारमा बजारीकरण र उत्पादन बढाउन गर्नुपर्ने कामका विषयमा आजको छलफल केन्द्रित थियो । छलफलमा सभापति सुमार्गीले नेपालको कफी उत्पादन हुने र हाल भईरहेका क्षेत्रमा व्यवसायीक कफी उत्पादनमा उत्पादकहरुलाई प्रेरित गर्न केन्द्रले अंगिकार गरेका योजनाबारे सहभागीलाई जानकारी गराएका थिए ।

छलफलमा सहभागी विश्व बैंकका प्रतिनिधि राजन शर्माले कफीको अन्तराष्ट्रिय बजार अत्यन्त राम्रो रहेको बताएका छन् । उनले जापानमा मात्रै हाल नेपाली कफीले केही मार्केट लिएको र अन्य देशमा निर्यात गर्न उत्पादन नै बढाउन नसकिएको बताए । एईसीका सभापति सुमार्गीलाई नेपाली कफीको उत्पादन बढाउने योजनाको खाका तयार पार्न आग्रह गर्दै उनले यसका लागि विश्व बैंकबाट लगानीको व्यवस्थापनको लागि आफूले पहल गर्ने आश्वासन पनि दिएका छन् ।

छलफलमा आईटीसीका प्रतिनिधि विनायक मल्लले नेपाली कफीको विश्व बजारमा माग रहेको र सिक्किम, दार्जलिङको भन्दा पछिको बिरुवा भएकाले नेपाली कफी स्वादिष्ट पनि रहेको बताए । उत्पादन बढाउँदै कोरिया, भियतनाम लगायतका देशमा नेपाली कफीको बजारीकरण गर्नुपर्ने उनको भनाई छ ।

आजको छलफलले एईसी, विश्व बैंक र आईटीसीबीच नेपालको कृषि क्षेत्रको विकासका लागि मिलेर काम गर्ने र यसका लागि आगामी दिनमा कसरी अगाडी बढ्ने भन्नेबारे निरन्तर छलफल जारी राख्ने त्रिपक्षीय सहमति पनि बनेको छ । यद्यपी, पहिलो चरणमा एईसीको तर्फबाट प्रारम्भिक प्रस्ताव पार्ने र त्यसमा विस्तृत अध्ययन पश्चात बाँकी काम अगाडी बढाउने भनिएको छ ।

प्रतिक्रिया