संसद अधिबेशनको पहिलो दिनमै प्रधानमन्त्री देउवाले लिए बिश्वासको मत, पक्षमा १ सय ६५ मत र बिपक्षमा ८३ मात्र

टंक पन्त २०७८ साउन ३ गते १७:४५ मा प्रकाशित


काठमाडौ । संसद अधिबेशनको पहिलो दिनको बैठकबाटै प्रधानमन्त्री शेरबहादुरले अपेक्षा गरिए भन्दा बढी १ सय ६५ मत प्राप्त गरी बिश्वासको मत प्राप्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा २ सय ४९ जना मात्र उपस्थित हुनुहुन्थ्यो । २ सय ७५ जना सांसदमा ४ जना जेलमा छन भने भीम रावलले आइतबार मात्रै राजीनामा दिनुभएको थियो । अन्य सांसद अनुपस्थित भएका हुन । बिपक्षमा मतदान गर्ने एमाले ओली पक्षमा रहेका छन ।

देउवाको बिपक्षमा जम्मा ८३ मत मात्र परेको छ । प्रतिनिधिसभाको आइतबार बसेको दोस्रो बैठकमा प्रधानमन्त्री देउवालाई नेपाली काग्रेस , नेकपा एमालेका माधब नेपाल पक्ष , माओबादी केन्द्र , जनता समाजबादी , राष्ट्रिय जनमोर्चा र केपी ओली पक्षका ८ जनाले पनि मत दिएका छन ।

एमाले नेपाल पक्षका १० जना सांसद भने तठस्थ बसेका थिए । उनीहरुले कतै पनि मतदान गरेनन । माधब नेपाल पक्षका सांसदहरुले सल्लाह गरेर नै तठस्थ बसेको बताइएको छ । नेकपा एमालेको आइतबार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री शेरबहादुर देउवा विरूद्ध मत हाल्न सांसदहरूलाई निर्देशन दिएको एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका छन्।

त्यस मध्ये वरिष्ठ नेता माधव कुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका छन् भने नेपाल निकट १० सांसद तटस्थ बसेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन समावेदन दिदा हस्ताक्षर नगरेका योगेश भटराईले पनि देउवाको पक्षमा मतदान गर्नु भएन ।

केपी ओली सरकारमा वन मन्त्री भएका प्रेम आलेले शेरबहादुर देउवालाई विश्वासको मत दिएका छन्। त्यस्तै तनहुँ–१ सांसद कृष्णकुमार श्रेष्ठ किसानले पनि देउवाको पक्षमा मतदान गरेका छन्। हिरा केसी, पार्वती विसुंखे, गोपाल बम, विनादेवी बुढाथोकी, धनबहादुर बुढा, समिमा हुसेन, प्रेम आले, किसान श्रेष्ठले शेरबहादुर देउवालाई मत दिनुभएको छ । उहाहरुले देउवालाई प्रधानमन्त्री बनाउन राष्ट्रपति कार्यालय र सर्वोच्चको रिटमा हस्ताक्षर गर्नुभएको थिएन ।

माधब नेपाल पक्षका तठस्थ बस्ने निर्णयमा पुग्नुभएका झपट रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, सोमप्रसाद पाण्डे, दीपकप्रकाश भट्ट, यज्ञराज सुनुवार, नारायण खतिवडा, गोकर्ण बिष्ट, राजबहादुर बुढा दोस्रो बैठक प्रारंभ भएपछि संसदबाट बाहिरिनुभएको थियो ।

प्रधानमन्त्री बनाउन समाबेदन गर्ने सांसद १ सय ४६ जना मात्र थिए तर बिश्वासको मत पाउने बेला सम्म हस्ताक्षर नगर्ने पनि देउवाको पक्षमा उभिएपछि नेकपा एमालेको ओली पक्ष कमजोर बन्दै गएको प्रष्ट भएको छ ।

प्रधानमन्त्री देउवाले बिश्वासको मत पाए संगै प्रतिनिधिसभाको कार्यकाल पुरा हुने भएको छ । केपी शर्मा ओलीले प्रधानमन्त्री भएको बेला दुइ दुइ पटक प्रतिनिधिसभा बिघटन मात्र गर्नु भएन कि एक बर्ष सम्म अध्यादेशबाट शासन चलाउने काम गर्नुभयो ।

,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गर्ने सन्दर्भमा २०७८ श्रावण ३ गते प्रतिनिधि सभाको बैठकमा प्रस्तुत गर्नु भएको मन्तव्य :

माननीय सभामुख महोदय,

प्रतिनिधि सभा विघटन पश्चात सम्मानीय सर्वोच्च अदालतको फैसलाले प्रतिनिधि सभा पुनःस्थापित भएको छ । आज सभाको आठौं अधिवेशन प्रारम्भ भईरहेको छ । म सबै भन्दा पहिले सबै माननीय सदस्यहरुलाई हार्दिक बधाई दिन चाहन्छु । नेपाली जनताको ठूलो त्याग, तपस्या र बलीदानले देशमा संघीय, लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । इतिहासको लामो कालखण्डमा लोकतन्त्रका लागि भएका राजनीतिक संघर्षमा बलिदान गर्ने सम्पूर्ण शहिदहरुलाई सम्मानपूर्वक स्मरण गर्दै हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । लोकतन्त्रको स्थापना र संरक्षणका लागि योगदान गर्नु हुने सबै नेपाली नागरिकका प्रति हार्दिक सम्मान व्यक्त गर्दछु ।

पटक–पटकको प्रतिनिधि सभा विघटनका कारण विगत केही समय देशमा राजनीतिक अन्यौल र अनिश्चितताको स्थिति रह्यो । नेपालको संविधानको धारा ७६ (३) बमोजिम नियुक्त हुनु भएका निवर्तमान प्रधानमन्त्री माननीय के।पी। शर्मा ओलीजीले धारा ७६ (४) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत नलिई  धारा ७६ (५) बमोजिम प्रधानमन्त्री नियुक्तिका लागि प्रक्रिया प्रारम्भ गर्न सम्माननीय राष्ट्रपतिलाई अनुरोध गर्नु भएपछि नयाँ प्रधानमन्त्री नियुक्तिको प्रकृया प्रारम्भ भयो । केही समयको राजनीतिक र संवैधानिक अभ्यास पश्चात म नेपालको संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रधानमन्त्री नियुक्त भएको छु । र मेरो नेतृत्वमा मन्त्री परिषद् गठन भएको छ । मलाई प्रधानमंन्त्रीमा नियुक्त हुन सहयोग र समर्थन गर्नु हुने राजनीतिक दलका नेताहरु, माननीय सदस्यहरु लगायत सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । यो सरकारलाई भविष्यमा पनि निरन्तर सहयोग र समर्थन रहने विश्वास पनि लिएको छु ।

माननीय सभामुख महोदय,

अहिले मुलुक निकै जटिल अवस्थामा छ । विश्वव्यापी रुपले फैलिएको कोभिड–१९ को प्रकोपले हामी निकै प्रभावित भएका छौ । दैनिक रुपले संक्रमण बढी रहेको छ । मानिसहरुको मृत्यु भईरहेको छ । म कोभिड—१९ का कारण मृत्यु भएका सबैको आत्माको चीर शान्तिको कामना गर्दछु । शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु । अस्पतालमा उपचार गराईरहनु भएका सबैको शिघ्र स्वास्थलाभको कामना गर्दछु । कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि अहोरात्र खटेर काम गर्नु हुने सबैमा हार्दिक धन्यवाद दिन चाहन्छु । नेपाली नागरिकलाई कोभिड—१९ को प्रकोपबाट जोगाउने यो सरकारको पहिलो प्राथमिकता हुनेछ । सरकारले कोभिड—१९ को नियन्त्रण र रोकथामका लागि सबै उपायहरु अवलम्बन गर्नेछ भन्ने म प्रतिवद्धता व्यक्त गर्दछु ।

माननीय सभामुख महोदय
हामी याँहा उपस्थित सबै राजनीतिक दलहरुको प्रयत्नबाट नेपालको संविधान निर्माण भएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ । यसको संरक्षण र सुदृढीकरण पनि हामी सबैको प्रयासबाट मात्र सम्भव छ । बहुदलिय व्यवस्थामा फरक–फरक राजनीतिक बिचार हुने तीनका बिचमा प्रतिस्पर्धा हुने, स्वस्थ आलोचना प्रत्यालोचना हुने विषयहरु स्वाभाविक र राम्रा हुन । ती आवश्यक पनि छन । तथापी हाम्रा केहि साझा चुनौति, उद्देश्य र गन्तव्य छन । जस्का लागि हामीले सहकार्य र सहयात्रा गर्नु पर्छ । कोभिड—१९ हाम्रो तत्कालको चुनौति हो । गरीबी, वेरोजगारी, अशिक्षा जस्ता तमाम साझा समस्या छन । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता, स्वाभिमान हाम्रा साझा विषय हुन । नेपालको संविधानको संरक्षण र यसको असल कार्यान्वयन हाम्रो साझा गन्तव्य हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमवाट दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नु हामी सबैको साझा उद्देश्य हो । यसका लागि हाम्रा बिचमा सहकार्य र सहयात्राको आवश्यकता छ ।

सभामुख महोदय,

हामी सबैसंग आ–आफ्ना अनुभवहरु छन । माननीय केपीशर्मा ओलीले विगत साढे तीन वर्ष सरकारको नेतृत्व गर्नु भएको छ । वहाले गर्नु भएका असल कामका लागि म धन्यवाद दिन चाहन्छु । वहाको अनुभव हाम्रा लागि उपयोगी हुनेछ । विगतमा भएका राम्रा कामहरुलाई निरन्तरता दिदै कमी कमजोरी सुधार गर्दै लानु पर्नेछ । महत्वपूर्ण नयाँ कामहरु पनि गर्नुछ । देशमा सुशासन कायम गर्नुछ । यसका लागि सरकार, प्रमुख प्रतिपक्ष र सबै राजनीतिक दलहरु बिच निरन्तर सम्वाद, सहकार्य र सामुहिक प्रयत्न आवश्यक छ भन्ने मेरो मान्यता छ र यसका लागि म सदैव प्रयत्नशिल रहने छु । हामी राजनीतिक दलहरु एक अर्काका शत्रु होईनौ बरु हाम्रा साझा उदेश्य प्राप्तिका लागि सहयात्री हौ भन्ने भावनाका साथ काम गर्नु पर्दछ ।

सभामुखमहोदय,

संसदीय लोकतन्त्रको स्थापनाका लागि देशमा लामो त्याग तपस्या र बलीदानपूर्ण संघर्ष भएको हो । संसदलाई अधिकार सम्पन्न, जिवन्त र क्रियाशिल बनाउनु पर्दछ । सरकार संसदप्रति उत्तरदायी रहनु पर्दछ भने संसदले सरकारका सबै गतिविधिप्रति ध्यान दिई अनुगमन गर्नु पर्दछ । यसले लोकतान्त्रिक प्रणालीलाई बलियो बनाउँछ । निरन्तरको राजनीतिक अन्यौल, अनिश्चितता र अस्थिरताले लोकतन्त्रलाई नै कमजोर गर्दछ । तसर्थ अब हामी राजनीतिक स्थिरताको बाटोमा हिड्न जरुरी छ ।

सभामुख महोदय,

म नेपालको संविधानको धारा ७६ (५) बमोजिम नियुक्त प्रधानमन्त्री भएको हुँदा नेपालको संविधानको धारा ७६ को उपधारा ९६० बमोजिम विश्वासको मत प्राप्त गर्न सम्मानित प्रतिनिधि सभामा प्रस्तुत भएको छु । सबै माननीय सदस्यहरुले मलाई विश्वासको मत दिनु हुनेछ भन्ने विश्वास गरेको छु ।

धन्यवाद !

प्रतिक्रिया