मदन पुरस्कार विजेता निलम निहारिकाको ‘द्रौपदी अवशेष’ सार्वजनिक

इनेप्लिज २०७८ साउन १ गते १४:१० मा प्रकाशित
नीलम कार्की निहारिकाद्वारा लिखित उपन्यास ‘द्रौपदी अवशेष’ सार्वजनिक भएको छ ।

कर्णाली प्रदेश, त्यसमा पनि हुम्लाको उच्च हिमाली भेगको कथामा आधारित ‘द्रौपदी अवशेष’ एक सांस्कृतिक उपन्यास हो ।

हिमाली क्षेत्रमा अझै कायम रहेको बहुपति प्रथाको बारेमा लेखिएको यस कृतिका बारेमा हुम्ला बाट निर्वाचित प्रतिनिधि सभा सदस्य छक्कबहादुर लामा लेख्नुहुन्छ – ‘ … उपन्यासकारले यस कृति मार्फत दुर्गम र पिछडिएको एक सीमान्तकृत जनजातिको लोक ब्यबहारमा सीमित एउटा अलिखित र लोपोन्मूख सामाजिक संस्कारलाई लिखित साहित्यका रुपमा ढालेर बाह्य जगतलाई बोधगम्य बनाउने जुन चेस्टा गर्नुभएको छ, त्यो साह्रै सराहनीय कार्य हो ।

‘द्रौपदी अवशेष’ उपन्यासको औपचारिक बिमोचन हुम्लामा नाम्खा गाउपालिका वडा नम्बर ६ का अध्यक्ष श्री पाल्जोर तामाङ लगायत स्थानीयको उपस्थितिमा भएको छ ।

उपन्यासका सम्बन्धमा लेखक भन्नुहुन्छ – ‘ जुन माटोको कथा थियो त्यहि लोकार्पण भएकोमा म निकै खुशी छु । स्थानियको साथ सहयोग यो उपन्यास लेख्ने सन्दर्भमा पनि धेरै पाएको छु, र यसलाई त्यहि भूमिमा सार्वजनिक गर्न सहयोग गर्नुहुने सबैमा आभार प्रकट गर्दछु ।

हुम्लामा हिमपातको कारण मेरा पात्र हुम्लाबाट नेपालगंजको लागि जहाज चढ्न नसकेको एक दृश्य पुस्तकमा छ । हुम्लामा पानी परिरहेको कारण नेपालगन्जबाट हुम्लाको लागि जहाज नउडेको हुँदा पुस्तक दुई दिन ढिला गरि हुम्ला पुगेको आजको यथार्थ हो ।

यहि यस्तै यथार्थ संग संगै समाज अघि बढी रहेको छ । बहुपति प्रथा एक संस्कृति हो । भौगोलिक जटिलता संग पनि प्रत्यक्ष-परोक्ष सम्बन्ध रहेको छ । यही संस्कृतिलाई आख्यानीकरण गरेर पाठक सामु पुराउने मेरो प्रयास हो – द्रौपदी अवशेष ।

प्रतिक्रिया