पहिरोले डोजर पुरिँदा धादिङमा दुई जना बेपत्ता

इनेप्लिज २०७८ असार ५ गते १०:५३ मा प्रकाशित

धादिङ।अविरल वर्षासँगै गएको पहिरोले डोजर पुरिँदा उत्तरी धादिङको सेर्तुङमा दुई जना बेपत्ता भएका छन्।अविरल वर्षासँगै शुक्रबार साँझ ६ बजे रुवीभ्यालि गाउँपालिकास्थित् सेर्तुङमा सडक खन्ने क्रममा पहिरो जाँदा डोजरसहित २ जना बेपत्ता भएका हुन्।

धादिङबेसी – तिप्लिङ सडकअन्तर्गत आदा खोलामा पहिरोले डोजर पुर्दा एक स्थानीय युवा र डोजर चालक बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काले बेपत्ता दुवैको खोजी भइरहेको जानकारी दिएका छन्।

प्रहरी उपरीक्षक खड्काका अनुसार बेपत्ता हुनेमा डोजर चालक सिन्धुपाल्चोक जिल्लाका २३ वर्षीय राजु पराजुली र सहचालक रुवीभ्याली गाउँपालिका वडा नम्बर ५ लापाका २० वर्षीय जोजो तामाङ रहेका छन् ।

डोजर खोलामा माटोले पुरिएको अवस्थामा केही भाग देखिएकाले त्यसतर्फ जाने तयारी भइरहेको प्रहरी उपरीक्षक खड्काले जानकारी दिए।

प्रतिक्रिया