गण्डकीमा दीपक मनाङले मुख्यमन्त्री गुरुङलाई साथ नदिने

इनेप्लिज २०७८ जेठ २७ गते २:४७ मा प्रकाशित

गण्डकी प्रदेशमा आज मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिँदै छन् । प्रदेशमा नेकपा –एमालेबाट २७ जना सांसद रहेका छन् । अन्य दलहरुले मुख्यमन्त्री गुरुङविरुद्ध गठबन्धन बनाएका छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, जसपा र राष्ट्रिय जनमोर्चाको यो गठबन्धनलाई गुरुङले नै युवा तथा खेलकुद मन्त्री बनाएका राजीव गुरुङ दीपक मनाङेले पनि साथ दिने भएका छन् । अर्थात् उनले मुख्यमन्त्री गुरुङलाई अब साथ नदिने भएका हुन् ।

योसँगै गुरुङसँग अब २७ मत मात्र रहेको छ । नेकपा एमाले माधवकुमार नेपाल पक्षका एक सांसदले भने गुरुङलाई साथ दिने यसअघि नै बताएका छन् ।

गण्डकी प्रदेश सभामा ६० जना सदस्य छन् । यीमध्ये एमालेका २७ सांसद रहेका छन् । एमालेका यी सांसद पनि अहिले दुई पक्षमा बाँडिएका छन् । तर, गण्डकीमा माधव नेपाल पक्षका एक जना मात्र सांसद रहेका छन् । उनले यसअघि नै आफूले गुरुङलाई नै साथ दिने बताइसकेका छन् ।

अर्कोतिर विपक्षी गठबन्धनले मुख्यमन्त्री गुरुङलाई विश्वासको मत नदिने निर्णय​ गरेका छन् । विपक्षी गठबन्धनमा नेपाली कांग्रेस, माओवादी, राष्ट्रिय जनमोर्चा र जसपा रहेका छन् ।

यो गठबन्धनका लागि बहुमत पुर्याउन एक मतको आवश्यक रहेको छ । जनमोर्चाका तीन सांसद एकजुट नहुँदा गण्डकीमा विपक्षी गठबन्धनले पनि बहुमत पुर्याउन नसक्ने अनुमान गरिएको छ ।

गण्डकीमा नेकपा एमालेका २७, कांग्रेसका १५, माओवादीका सभामुखसहित १२, जनमोर्चाका ३, जसपाका २ र एक स्वतन्त्र सांसद रहेका छन् । विपक्षी गठबन्धनबाट नेपाली कांग्रेस संसदीय दलका नेता कृष्ण चन्द्र नेपालीलाई भावी मुख्यमन्त्रीका रुपमा अगाडि सारिएको छ ।

त्यसैले आजको गण्डकी प्रदेश सभालाई विशेष रुपमा हेरिएको छ । अब सत्ता र विपक्षी दुवैले बहुमत नपुर्याउँदा गण्डकीमा मध्यावधि निर्वाचन हुनसक्ने अनुमान पनि भएका छन् ।

प्रतिक्रिया