युनिफाइड अस्पतालमा निःशुल्क सेवा, एक हप्तामै १५० विरामी भर्ना

इनेप्लिज २०७८ जेठ २६ गते २:३५ मा प्रकाशित

वीर अस्पतालको कोभिड १९ युनिफाइड केन्द्रीय अस्पतालमा कोरोना संक्रमित विरामी उपचार गराउन आउनेक्रम दैनिक रुपमा बढ्ने गरेको अस्पतालका प्रमुख कार्यकारी अधिकारी प्रा.डा. जागेश्वर गौतमले कोरोनाले बताए ।

अस्पतालमा निःशुल्क खाना र औषधीसहित कोरोना संक्रमित विरामीलाई उपचार सेवा दिएको उनले जानकारी दिए । आर्थिक रुपमा कमजोर भएका , संक्रमण भएर घरखेत बेचेर उपचार गराउन पर्ने डरमा छन्, उनीहरु यस वीर अस्पतालको युनिफाइड अस्पताल आए सरकारले निःशुल्क गरिरहेको डा. गौतम बताए ।

अक्सिजन सेवा सुविधासहित एक हप्ता अघि सञ्चालनमा आएको यस अस्पतालमा शुरुमा ५० बेड सञ्चालनमा आए पनि अहिले एक सय ५० भन्दा बढी विरामीले उपचार पाइरहेको उनले जानकारी दिए ।

उनले विस्तारै बेडको संख्या र आइसीयूलगायत अस्पताललाई आवश्यक पर्ने सामाग्रीहरु थप्दै जान थालेको अस्पतालका प्रमुख कार्यकारी अधिकारी गौतमले बताए ।

तत्काल एक सय आइसीयू थप गर्न थालेको जानकारी दिँदै अक्सिजन टयाङक र प्लान्ट जडान पनि अबको केही दिनमै हुने उनको भनाइ छ । वीरको अर्को भवनमा उपचाररत कोरोना संक्रमित विरामीलाई पनि नयाँ भवनमा ल्याउने र अरु भवनमा कोरोना बाहेकका विरामीलाई मात्रै उपचार गराउने र यो भवनमा कोरोना संक्रमितको मात्र कोभिड विशेष अस्पतालको रुपमा उपचार गराइनेछ ।

उनका अनुसार यस सर्जिकल भवन पाँच सय बेड क्षमताको रहेको छ । आपतकालीन अवस्था आए बेड थपेर ६ सयसम्म विरामीको उपचार गर्न सकिनेछ ।

यो भवन खासगरी विरामीको शल्यक्रियाको लागि मात्र बनाएको भए तापनि अहिले देखिएको कारोनाको महामारीलाई मध्यनजर गरेर कोभिड अस्पताल बनाइएको हो ।

युनिफाइड अस्पतालबाट देशै भरका अस्पतालसँग समन्वय गरिने भएको छ । अन्य सरकारी, निजी र सामुदायिक अस्पतालमा कोभिडका विरामीको अवस्थाबारे यस अस्पतालबाट समन्वय गरी विरामीको उपचार गर्ने व्यवस्थासँगै दैनिक अस्पतालको रिपोर्टिङ वीरको युनिफाइट अस्पतालबाटै हुनेछ । कस्तो अवस्थाको विरामीलाई कुन अस्पतालमा रिफर गर्नेदेखि व्यवस्थापनको काम यहीँबाटै हुने उनले जानकारी दिए ।

प्रतिक्रिया