असहाय परिवारको नभेको चुलो बाले अमेरिकामा बस्ने व्यवसायी कृष्ण र भरतले

वीरेन्द्र रावल २०७८ जेठ २५ गते २३:३१ मा प्रकाशित


मोहन्याल,जेठ २५।सात समुन्द्र पारीको सहयोगले राहतको चामल पाएपछि कैलाली जिल्लाको मोहन्याल गाउँपालिका वडानम्बर ६ सोल्टाकी ६५ बर्षिय असहाय जलु भुलले हर्षका आँशु झार्दै भन्नु भयो:अव त यो चामल चार महिना सम्मका लागि खान पुगाउँछुँ।

निःसन्तान जलु भुल बढेसकालमा अरुको सहारमा बाँच्नु पर्ने बेलामा एक गास खानाका लागि साँझ विहान छिमेकीका ढोका चाहार्दै जोहो चलाउँदै आउनु भएको छ।

उहाँ भन्नु हुन्छ–छिमेकीसंग एक छाक खाना माग्दा माग्दा दिक्क मान्छन् होला भनेर कति दिन त पानी पिएर,चामलको माड पकाएर त कहिल्यै भोक भोकै बस्नु पर्ने अवस्था आएका बेला राहत चामल पाउँदा भगवाननै प्रकट भए जस्तो अनुभुति भयो।

शारिरीक अवस्थामा एकदमै कमजोर अवस्थाकी जलु भुलले भन्नु भयो – चार महिना सम्म चामल पुगेपछि त्यसपछि यस्तै अरु दाता आएपछि अर्को चार महिनाको जोहो पुग्ने थियो । भगवानले हामी जस्ता गरिव विपन्नका लागि यस्तै दाताहरु पठाई दिनेछन् भन्ने आशा पनि जलुभूलले व्यक्त गर्नु भएको छ ।
कोरोना कहरका कारण नेपालमा बन्दा बन्दीको अवस्था लागु भएपछि रोजगारीका कुनैपनि माध्यम नभएका कारण साँझ विहानको छाक टार्न समेत समस्या परेको बताउनु हुन्छ :मोहन्याल ७ कै अर्की वृद्धा बिष्णा टमटट।

 

५८ बर्षिा बिस्ना गाउँघरमा किसानहरुका खेती पातीको काममा सघाएर र मजदुरीबाट आफ्नो जीविकोपार्जन गर्दै आईरहनु भएको भएपनि बन्दा बन्दीका कारण भने एक महिना देखि साँझ विहानको छाक टार्न धौ धौ परिरहेका बेलामा राहत पाउँदा निकै खुसी भएको बताउनु भयो।

यस्तै मोहन्याल गाउँपालिका वडानम्बर ३ फलेबिसौनी घर भएका जन्मजात दुवै आँखाका नानी गुमेका कारण नारकीय जीवन यापन गर्दै आईरहेका विपन्न परिवारका बालक धिरेन्द्र बुढाले समेत आफुले राहत पाएकोमा खुशी हुँदै भन्नु भयो–काम पनि गर्दैनस्,खान मात्र सक्छौ भनेर घरपरिवारका सदस्यले बचन लगाउन नसक्ने भएपछि मनमा चिन्ता हटेर गएको छ।

मजदुरी गर्न भारतमा गएका श्रीमान बन्दा बन्दीका कारण घर फिर्ता नभएपछि १० दिननदेखि आधा पेट खाएर बस्न बाध्य भएकी मेहेरे दमाईकी पत्नी ईन्द्रा दमाईले प्राप्त राहतले ७ बालबालिका र आफुगरि ८ जनाले १० दिनसम्म भात खान पाईने भएपछि खुसी त लागेको छ त्यसपछि आउने समस्याको समाधान कसरी गर्ने होला भन्ने चिन्ताले सताएको बताउनु भयो।

बन्द बन्दीका कारण काम काज ठप्प भएपछि मजदुरी गरेर खाने माध्यम समेत नभएपछि घरमा खाद्य संकट उत्पन्न भएको अवस्थामा राहत पाएपछि हर्षित बन्नु भएकी ईन्द्राले भन्नु भयो–१५ दिनपछि खाद्य संकटलाई कसरी समाधान गर्ने भन्ने चन्ताले सताएको छ।

उद्योग,धन्दा कलकारखाना सबै बन्द भएपछि मजदुरी गरेर पेट गुजारा चलाउने माध्यमनै नभएका कारण राज्य र गैर सरकारी संस्थाले खाद्य समस्याको समाधान गरिदिनु पर्ने धारणा व्यक्त गर्नु हुन्छ अधिकाँश विपन्न परिवारहरु।

युगअस्त्र दैनिकका प्रकाशक÷सम्पादक वीरेन्द्र बहादुर रावलको पहलमा अमेरिका बस्ने व्यवसायी कृष्ण आर्चाय,भरत भुल र नेपालको कोहलपुरमा बस्ने प्रशान्त आर्चायको आर्थिक सहयोगमा कैलाली जिल्लाको अति विकट पहाडी गाँ पालिकाका बाढी पिडित,सुकुम्बासी,भूमिहिन र असहाय परिवारलाई खाद्यान्न र स्वास्थ्य सामग्री वितरण गरिएको छ।

खाद्यान्न र स्वास्थ सामग्री गाउँपालिकाको वडा नम्बर ३, ६ र ७ का अति विपन्न परिवारलाई वितरण गरिएको युगअस्त्र दैनिकका प्रकाशक सम्पादक वीरेन्द्र बहादुर रावलले जानकारी दिनुभयो।उहाँले एक लाख १० हजार बराबरको चामल,नुन,तेल र स्वास्थ्य सामग्रीहरू ६५ जनालाई वितरणा गरिएको बताउनु भयो।

वितरण कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका प्रमूख सूर्यबहादुर थापाको पनि सहभागिता रहेको थियो।सहभागी कार्यक्रममा बोल्दै प्रमूख थापाले राहात वितरणका लागि सहयोग गर्नुहुने अमेरिकामा बस्नु हुने कृष्ण आर्चाय र व्यवसायी भरत भुललाई धेरै धेरै धन्यवाद दिनु भएको छ।

उहाँले भन्नुभयो,गाउँपालिका भित्रका हातमुख जोड्न गाह्रो भएकाहरूलाई आफूले पनि सहयोग गर्ने सो अवसरमा बाचा गर्नु भएको छ।

सात समुन्द्रपारी (अमेरिकामा) बसेर पनि बन्दा बन्दीका बेला चरम खाद्य संकटमा परेका पहाडी गाउँपालिकाका बाढी पिडित,भूमिहिन मानिसहरुलाई खाद्यान्न,स्वास्थ्य सामग्री,तेल,चामल र नुन जस्ता अत्यावश्यक राहत सामग्रीहरु प्रदान गरेकोमा व्यवसायी कृष्ण आचार्य,भरत भुल तथा प्रशान्त आचार्यलाई प्रमूख थापाले धन्यवाद व्यक्त गर्नु भएको छ।

यस्तै कैलालीकै पहाडी गाउँपालिकाका थप १५ जना अति विपन्न परिवारलाई केहि दिन भित्र थप राहत प्रदान गरिने गर्ने बारे तयारी भैरहेको समेत पत्रकार एवं सामाजिक अभियान्ता वीरेन्द्र रावलले जानकारी दिनु भएको छ।

-वीरेन्द्र रावल

 

 

वीरेन्द्र रावल

वीरेन्द्र रावल पत्रकार/लेखक हुनुहुन्छ ।

प्रतिक्रिया