क्षणिक खुशी (लघुकथा)

- कोमल अधिकारी,टिकापुर,कैलाली। २०७८ जेठ २५ गते ११:३० मा प्रकाशित

२०७२ साल बैशाख १२ गते।भूकम्पले नेपालैलाई हल्लाएको दिन।सबै तह र तप्काका मानिस चौरमा पाल लगाएर बसेका हुन्छन्।१० वर्ष अघि अरू कोही नभएर काकाको घरमा बसिरहेको बीरबललाई गरिब र लफङ्गो भनेर हेला गरेर घरनिकाला गरिएको बीरबल त्रिपाल ल्याउने,पानीको ब्यवस्था गर्ने काममा व्यस्त देखिन्छ। उसले उनै काकालाई एउटा त्रिपाल मुनि बस्ने व्यवस्था मिलाउँछ र सोध्छ: अहिले कस्तो छ? घरबाट निस्कन त ढिला भएन नि? भाइ बहिनीहरूलाई कुनै चोट-पटक त लागेन नि? अनि काकी खै त?

प्रश्नहरूको ओईरोले बीरबलका काका उत्तर दिनु त कहाँ हो कहाँ बरू ऊनको आँखाबाट आँसु पो बररर खस्न थाल्छन्।यो देखेर बीरबल झन् आत्तिन्छ र सोध्छ- के भो काका ! काकी खै??

आँसु पुछ्दै काका बल्ल बल्ल मुखबाट शब्द निकाल्छन्- ‘ बाबु ! मैले तँलाई बेलैमा चिन्न सकिनँछु,सम्पत्तिको मातले…यस्तो समाजसेवी मेरो भतिजोलाई मैले गरिब लफङ्गो भनेर निकालेँछु… त्यो समयमा मेरो बुद्धि कहाँ गा’थ्यो होला? काकी घरमा भएको केही खानेकुरो लिन गा’कि छ।हामी कसैलाई केही भएको छैन, यो त हर्ष र पश्चातपको आँसु हो बाबु।सक्छस् भने मलाई माफ गरी दे!

हैन काका,हाम्रो समाजै त्यस्तै छ, तपाईँले पनि खासै गल्ती नै गरेको जस्तो त लाग्दैन।अब राम्रोसँग बस्नुस् भनेर ऊ अर्को त्रिपालतिर लाग्छ तर, अरूलाई भूकम्पले पीडा दिईरहेको बेला उसलाई किन किन खुशी दिईरहेको जस्तो लाग्दैछ।बुवा-आमाको रूपमा पाएको काकालाई उसले १० वर्षपछि नजिकबाट भेटेर कुरो गर्न पाएको थियो। सबै आ-आफ्ना तह/तप्का बिर्सेर मानवीय व्यवहार गरिरहेछन्।के धनी के गरीब सबैएकै खालको जस्तो देखिन्छन्।उसलाई लाग्छ, मानिसहरूमा विभेद नभए संसार कस्तो स्वर्ग जस्तो हुन्थ्यो होला।यस्ता प्राकृतिक प्रकोप र महामारीलाई कति चाँडै परास्त गर्न सकिन्थ्यो होला… यस्तै यस्तै खुशी ( अझ भनौँ, ‘क्षणिक खुशी’) उसको अनुहारमा प्रष्टै देखिन्थ्यो।

प्रतिक्रिया