बियर कारखानामा आगलागी, चार दमकल प्रयाेग, पुरानाे भवन भत्काइँदै

इनेप्लिज २०७८ जेठ १९ गते १४:५८ मा प्रकाशित

पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको चौधरी उद्योगमा आगलागी भएको छ ।

बुधबार बिहान ८ ः३० बजे उद्योग परिसरको सिजि ब्रुअरी नेपाल प्रालिको बियरको कार्टुन राखेको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्व नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले बताए ।

आगो नियन्त्रणका लागि अहिले चितवनबाट समेत गरेर चारवटा दमकल प्रयोग गरिएको छ । आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।

अहिले बियर राखेको गोदामतर्फ पनि आगो फैलिएपछि पुरानो भवन भत्काउने काम गरिएको छ । मानवीय क्षति भने भएको छैन् । आगो विद्युत् सर्ट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ ।

दमकल सेना , प्रहरी , सिजी प्रशासनको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।

प्रतिक्रिया