कृति समीक्षा-प्रणयको गहिराइभित्र पसेपछि

अरुणबहादुर खत्री “नदी” २०७८ जेठ १९ गते १०:०६ मा प्रकाशित

“प्रणयको गहिराइ” नामक कविता सङ्ग्रह साहित्यकार एवं कवि भुवन शिवाकोटी चौघरेको २०७६ सालमा छैठौ कृतिको रुपमा प्रकाशित भएको छ। यस सङ्ग्रह भित्र कविता क्रममा पिता,बालापनको अतीत,म बदलिन्छु ऊ, आँखा र घाम,हृदयको तलाउ,मायाको परिधि,पराग सेचन,सम्बन्धको परीक्षा, बुर्काभित्रकी आमा लगायत विभिन्न शीर्षकका ९० वटा कविताहरु रहेका छन्।

उनको पहिलो कृति नेपाल आमाको फैसला नामक कविता सङ्ग्रह २०६७ सालमा निस्केको थियो।पिता शीर्षकको पहिलो कवितामा पुत्र तिमीले चाहेको उज्यालो खोज्न जब तिमी पिताको आाँगन नाघेर पर जानेछौं नयाँ समाजले तिमीलाई चिन्ने छैन जिन्दगी स्वयं चिन्नेछ भनिएको छ।बालापनको अतीत शीर्षकको कवितामा हिजो अस्ती जस्तै लाग्छ घर छेउको असारे कुलोमा कागजको ढुङ्गा बनाएर बगाउँदै कुदेको भनिएको छ।

लड्यो भुईचालोमा अग्लो घर
बाँचेन घरको अग्लो घमण्ड
त्यसरी नै थामिदैछ घटेर जीवनको गति

कवि भुवनका कविताहरु भावनात्मक मात्र छैनन्,जीवन र जगत्को वास्तविक छवि चित्राङ्कनमा जति सक्षम छन् त्यति नै प्रयोगका दृष्टिले पनि बेजोड र सशक्त छन्।मानवीय संवेदनालाई व्यावहारिक रुपमा लेख्न खप्पिस कवि भुवन मध्यमवर्गिक मानिसका पीडाहरु बोल्ने कवि हुन्।उनका कवितामा अक्सर मानिसले पूरा गर्न नसकेका सपना,आर्थिक अभाव र नासिएको सम्बन्ध र जीवनमा तक्माजस्तो पटक पटक मिलेका हारहरु भेटिन्छन्।कवि भुवन निराश छैनन् तर उनका कविताहरुले हारेका मानिसहरुको प्रतिनिधित्व गर्छ।शब्द र अक्षरहरुलाई अगाध माया गर्छन् कवि।अक्षर र अनुभूतिको यो गुच्छाले पाठकहरुको मनभित्र कलात्मक रङ र सुवास दिने कुरामा हामी विश्वस्त छौ। कवि भुवनले लेखेका कवितामा विषयवस्तुको विविधता पाइन्छ, त्यस्तै उनका शिल्प शैलीमा पनि विविधता भेटिन्छन्।उनले लेखेका कविताहरु सरल छन्।शब्द र वाक्य विन्यास पनि सामान्य छ।त्यसकारणले कवि भुवनका कवितालाई आम पाठकले ज्यादै सरल भयो पनि भन्न सक्छन्।कवि बारम्बार व्यग्रता प्रकट गर्दछन् उद्विग्न मन लिएर यो समय बिरुद्ध लड्न खोज्छन् किनकी दुःखको प्रहारले जनता बिचलित छन् राष्ट्रचालकहरु संवेदनाशून्य भई चरित्रहीन मार्ग पछ्याइरहेका छन्।ती दुःखीहरु जो हलो कोदालोमा बाँचेका छन् मजदुरीमा गलेका छन् तिनको कुनै जीवन छैन राज्य त्यहाँ पुग्दैन।

प्रिय घाम,
तिम्रो सामुन्ने बसेर
पीडा पिउनुमा जति मजा छ
खुशी हुनुमा त्यो मजा कहाँ छ

आँखा र घाम शीर्षकको कवितामा शरद् ऋतुको बिहानी आँखा अगाडि स्वतन्त्र उडिरहेका छन् चराहरु ढकमक्क सयपत्री फुलेको शङ्खमूल दोभानमा चुपचाप बगिरहेको छ बाग्मती कविले भनेका छन्।हृदयको तलाउ शीर्षकको कवितामा अग्लो हुँदै गएको छ पर्खाल छेक्दै छ तिम्रो अनुहार यति धेरै सकसमा छु म आफ्नो वरिपरि मृत्यु मात्र असमय एउटा विश्वास र प्रेमको कविले लेखेका छन्। कवि भुवनको कवितामा पाएको मूल कुरा काव्यिक इमान्दारिता र मौलिक बिम्बको खोजी हो।मायाको परिधि शीर्षकको कवितामा हृदय छोएर हेरे अकबरे खुर्सानी जस्तै पीरो पीरो पीर जुनिभरिको काँचो घाउ रहेछ कहिल्यै निको हुदैन भनिएको छ।यसमा समावेश गरिएका कविताहरु पढिसकेपछि पाठकलाई धेरै समयसम्म विविध किसिमका चिन्तनमा डुबाउन सक्ने क्षमता यसभित्र सङ्ग्रहित प्रत्येक कविताले राखेका छन्।यसले विविध किसिमका मननीय र विचारणीय विचार संप्रेषण पनि गर्न सकेको छ।कवि भुवन आफ्ना सृजनाहरुमा जहिले पनि कोशिस गरिरहेका हुन्छन् कि बिचारहरु निरासावादी नभएका सकारात्मक सन्देशमूलक हुन्।यस सङ्ग्रहमा शान्तिको सन्देश दिने खालको कविता पनि छन्।सामाजिक एवं मानसिक द्वन्दका र उचनीच,विकृत अवस्थाका कविताहरु प्रशस्त रुपमा आएका छन्।यसमा समृद्धि र देश विकासका सन्दर्भ आएका छन्।

पराग सेचन शीर्षकको कवितामा उर्जाशील कयौै वर्षहरु पर्खाइमै बिते उजाड फूलबारीमा कुनै रङ्ग देखिएन भनिएको छ।विश्वासको अँध्यारो संसार शीर्षकको कवितामा परिचित भनौ धेरै चिनेको छैन अपरिचित भनौ थाहा छ एउटा अनुहार विगतदेखि वर्तमानसम्म जोडिएको इतिवृत्तान्तको सारथी कविले लेखेका छन्। खील बसेकोे हृदय शीर्षकको कवितामा चौतारीमा धुँवा निभेपछि विस्तारै खुलेको हो आँखामा तुवाँलो भनिएको छ।यस सङ्ग्रहभित्रका कवितामा उनी यति कारुणिक बिम्बहरुसँग खेल्दै बगेका छन् एउटा साचो मनका कोमलता र संवेदनशीलता थोरै शब्दहरुमा सम्पूर्ण अभिव्यक्ति पोखेर प्रवाहित भएका छन्। नेपाली हुनुको गरिमाबोध कविमा छ।कविताहरुमा प्रयोग भएका बिम्ब र प्रतीकहरुले कविको कतित्वशक्तिको ऊर्जामा राम्रो प्रकाश पारेका छन्।प्रयोग गरेका शब्द र कवितामा सन्निहित भावहरुले प्रतिकात्मक रुपमा देश,काल, वातावरण,आन्तरिक र वाह्य परिवेश र परिस्थितिका अनेकौ पक्षमाथि प्रकाश पार्दै आधुनिकताका नाममा मानिसले अपनाउनु परिरहेको देखिन्छ।विश्वासको धीरता शीर्षकको कवितामा अहिलेसम्म बुझ्दैछु बाँधिएका हातखुट्टामा हिँड्दा जीवन सङ्घर्षको बाटोमा काँडामाथि टेकिनु कविले भनेका छन् । लडेपछि छेकिदैन बाहिरको संसार जसरी अर्को वस्तुु देख्नलाई देखिरहेको वस्तु छोप्नुपर्छ कविले सम्बन्ध शीर्षकको कवितामा उल्लेख गरेका छन्।कवितासङ्ग्रहमा प्रेम–विरह, प्रेमबाट उत्पन्न हुने मानसिक द्वन्द्वका कविताहरु प्रशस्त हुँदाहुँदै पनि आफ्ना अभिभावकप्रतिको सद्भाव, दायित्व र सम्मानका कविताहरु प्रशस्त आएका छन् ।

नेपालीको स्वाभिमान उनको रगतका कण कणमा बगेको छ।यस्तो गौरवमय नेपाल कतैबाट बिखण्डित हुन्छ कि भन्ने चिन्ताले उनलाई कोपरेको छ।कवि भुवनका प्रकृतिपे्रममा आधारित कवितामा स्वच्छन्द प्रकृतिचित्रण पाइन्छ।कवि भुवनका कविता स्वेरकल्पनाभन्दा बढी जीवन भोगाइलाई बोकेका यथार्थपरक कविता हुन्।धेरै कविताहरुले समाज र देशमा विद्यमान तीता विपर्यासहरुलाई निभिक रुपले सम्प्रेषण गरेका छन् भने केहीले एउटा आम नागरिकको कर्तव्यबोधलाई प्रतिनिधित्व गर्दछन्।उनका केही कविताले पारस्परिक शैलीमा उपदेश पनि दिएका छन्।यस्ता उपदेशलाई काव्यिक पाराले अभिव्यक्त गर्दा कविता बढी शक्तिशाली सामान्य सीमाहरुका बाबजुद, जीवन भोगाइका यथार्थ अनुभूतिहरुमा चुर्लुम्म भिजेको पाइन्छ।यसकिसिमका ओजस्वी कविताहरु नेपाली काव्यिक आकाशले पाएको छ।साहित्य र सम्मान शीर्षकको कवितामा देखिएको सत्य हो लेखनको सर्वाधिक उचाइमा आफैलाई देख्नेहरु आफै भन्छन् सबै लेखन उस्तै अग्ला हुँदैनन् भनिएको छ।कवितासङ्ग्रहको नामसँग जुधेको प्रणयको गहिराइ शीर्षकको कवितामा बादल भरिएका उसका नयनबाट अघरमा तप्लक्क खसे दुई थोपा आँसु भनिएको छ।यस कवितासङ्ग्रहभित्रको पीडाको पर्खाइ शीर्षकको अन्तिम कवितामा केही नुनिला थोपाहरु विस्तारै जसलाई हतार थियो हतारिदै खसे पर हुन खोज्नेलाई हृदयमा रोकेर राख्न सकिन भनिएको छ।कवि भुवनले समसामयिक समाजको यथार्थ,राजनीतिक परिवेश, मानिसका जिजीविषा र जीवनशैली अनि यसका सापेक्षतामा जीवनका विविध विषमता,अन्तद्र्वन्द्व, नैराश्य आदिको सूक्ष्म अध्ययनको परिचय दिएका छन् र थोरै शब्दमा कविता लेखेर धेरै शब्द बताएका छन्।रस परिपाककै आधारमा कविताको स्तर र मूल्य निर्धारण हुन्छ गरिन्छ।यो कृतिको मूल्य र स्तर पनि यिनै आधारमा आधारित रहेर निर्धारण गरिनुपर्ने हुन्छ।उनका कविता ज्यादै मार्मिक र पढ्न योग्य नै छन्।

पुस्तकः प्रणयको गहिराइ
विधाः कविता
लेखकः भुवन शिवाकोटी ‘चौघरे’
प्रकाशनः २०७६
प्रकाशकः सुनिता भेटवाल (शिवाकोटी)
पृष्ठः ९६
मूल्यः रु.३००।–

अरुणबहादुर खत्री “नदी”

सामाखुसी साहित्य समाज
ईमेल–[email protected]

 

 

 

 

 

 

प्रतिक्रिया