नतिजामुखी कार्य संस्कृतिको अवलम्बन र अवसर

अच्युत कुइकेल रजिष्ट्रार (सहसचिव) उच्च अदालत तुलसीपुर,बुटवल इजलास २०७८ जेठ १४ गते १०:२० मा प्रकाशित

 

निश्चित उद्देश्य राखेर निर्धारित कार्यविधिको अवलम्बनबाट गरिने कार्यबाट प्राप्त नतिजा सकारात्मक हुने आशा गरिन्छ।सकारात्मक नतिजा प्राप्तिका पछाडि गरिने कार्यहरु सहि एवं निर्धारित पद्दतिको अवलम्बनले महत्वपुर्ण भुमिका निर्वाह गर्दछन।अपेक्षित नतिजा प्राप्तिमा परिचालित हुने जनशक्ति,आर्थिक पक्ष एवं श्रोत र साधनहरुको प्रभावकारीपुर्ण उपयोग हुनु जरुरी हुन्छ।मानव स्वभावैले असलता चाहने संघर्षशिल एवं विवेक भएको प्राणी भएका कारण उसले गर्ने कृयाकलापहरुबाट समाजलाइ हानी पुग्ने अपेक्षा राखिंदैन। सकारात्मक नतिजाका लागि गरिने अनगिन्ति प्रयत्नहरुका वावजुद अपेक्षित नतिजा प्राप्त नहुने विषय आम समस्याको रुपमा रहेको पाइन्छ।

कानुनत :निर्धारित कार्यविधिको अवलम्बनका विषयमा होस वा समाजका अगुवाहरुको इच्छामा हुने विविधताले होस, कुनै निश्चित कार्यहरुको नतिजा समयमा नै प्राप्तिमा कठिनाइ भएकै देखिन्छ।सार्वजनिक जिवनमा कुनै कार्य गर्नका लागि गरिएको कानुनी प्रवन्ध एवं सो अनुरुप तर्जुमा गरिने योजना ,कार्ययोजनामा देखिने सुनौलापनाका बावजुद एकै प्रकृतिका समस्याहरुको पुनरावृत्ति भइ नतिजा प्राप्तिमा अपेक्षा अनुरुप हुन सकेको पाइदैन।समाजका हरेक तह तप्का र क्षेत्रमा व्यक्तित्वहरु असलपनको वृद्दि गर्दै समाज विकासमा योगदान पुर्याउन तल्लिन देखिंदा देखिंदै पनि हाम्रो कार्यशैली ,कार्यपद्दति समेतका विषयमा सोचाइ र गराइमा बढदै गएको दुरीका विषयमा थप सोचिनु जरुरी देखिन्छ।

नैतिक शिक्षाका पाठ हामीले विद्यालय तहमा विगतका दिन देखि नै प्रत्यक्ष एवं परोक्ष रुपमा पढाइ आएका नै छौं।सुचना एवं सन्चारका क्षेत्रमा भएको प्रगतिका कारण हामी विश्वकेन्द्रित घटना क्रमलाइ बढि नियाल्ने बनेकै छौं।मुलुकको कार्यकारी पद देखि विशिष्ट पदहरु सम्ममा नियुक्ति पश्चात सुधार कार्ययोजना सार्वजनिक गरेकै छौं।जन प्रतिनिधिहरु दलिय हिसाबमा घोषणापत्र मार्फत होस वा पद बहाली का अवसरमा आफ्नो प्रतिवद्दता व्यक्त गरेकै छौं।कार्यालय प्रमुखको बदली हुंदा समेत प्रायश: भावी कार्ययोजना पस्कने गरेकै छौं।सुधारमा यति धेरै चासो चिन्ता र सरोकार हुंदा पनि हामीले अपेक्षित गतिमा नतिजा प्राप्त गर्न सहज नभएको देखिन्छ।

राज्यका श्रोत साधनहरुको विनियोजनको प्रभावकारीताका लागि कानुनहरु तर्जुमा भएका छन।विनियोजित बजेट खर्च गर्ने कार्यविधिहरु निर्धारित छन। अनियमितताको गुन्जायस भएमा कानुन बमोजिम कारवाही गर्ने साधिकार निकायहरु सक्रिय छन।योजना एवं प्रतिबद्दताहरु नभएको भए नतिजा प्राप्तिमा हुन सक्ने ह्रासका सन्दर्भमा वर्तमानमा भएका उपलब्धिहरुलाइ समेत उल्लेख्य प्रगतिका रुपमा लिनुपर्ने हुन्छ।यद्यपी हाम्रा श्रोत साधनहरुको परिचालन गर्दाकै बखत हामी सबैले थप अलि मेहनत गर्न सके नतिजामा सकारात्मक वृद्दि गर्न सकिने हुंदा हामी सबैको ध्यान त्यस तर्फ मोडिनु आवश्यक छ ।कतिपय विषयमा समय अन्तरालमा हुने प्रगतिहरुलाइ स्वभाविक रुपमा लिइ समयले ल्याएको परिवर्तन भनेर बुझ्ने समेत गरिएको पाइन्छ ।तर ति नतिजा प्राप्ति तर्फको कदमहरु समयमा नै नचालिएको भए स्वत नतिजा आउन कठिनाइ हुने कुरा हामीले बुझ्न सक्नुपर्छ।

सेवाग्राहीको काम घाम छंदै सक्ने दृढता कर्मचारी तन्त्रमा हुनुपर्छ।बजेटको विनियोजन एवं परिचालन प्राथमिकता र आवश्यकताका आधारमा हुनु जरुरी छ ।पहुंच,प्रभाव ,प्रदर्शन जस्ता अमुक विषय श्रोत साधन प्राप्तिको आधार बन्नु हुंदैन।

वर्तमान परिवेशमा कोभिड संग जुधिरहेको विश्वसमुदायको एकताबद्ध प्रयास कोभिड नियन्त्रण रोकथाम एवं उपचारमा प्रगति उन्मुख पथमा छ ।ग्लोबल भिलेजको अवधारणा अनुरुप नै विश्वका राष्ट्रहरु एक अर्कामा सहयोगको आदान प्रदानका माध्यमबाट कोभिड विरुद्धको साझा लडाइमा तल्लिन छन।यो क्षणिक एवं सामयिक दुर्दिन बिस्तारै हटेर जाने क्रममा छ।भोलीका दिनमा हामी हाम्रा नियमित दिन चर्यामा फर्कंदाका लागि आवश्यक पर्ने भौतिक श्रोत साधन,खाद्यान्नको उपलब्धता एवं गुमेका रोजगारीका अवसरहरुको पुनरुत्थानका लागि समेत समयसारिणी सहितको कार्यसन्चालन जरुरी छ।फेरी पनि सकारात्मकता तर्फ ध्यान दिइ नतिजामुखी कार्यसंस्कृति अवलम्बन गर्न ढिलाइ गरिनु हुंदैन।कुनै गह्रुंगो ढुंङ्गा बोकेर उभिंदैमा विज्ञानले त्यसलाइ कार्य भन्दैन,जब सम्म ढुंङ्गा बोक्ने व्यक्तिले निश्चित दुरी पार गर्दैन।हामिले पनि कार्य गर्ने बहानामा नचाहिंदो ढंगले नमिल्ने शैलिमा कठिनाइ व्यहोरे पनि अपेक्षित नतिजा प्राप्त हुन सक्दैन। कार्य गर्ने शैली ,सिप एवं कौशलको अज्ञानता भएको क्षेत्र एवं वर्गमा सो सम्बन्धि ज्ञानको प्रबर्द्धन गरिनु आवश्यक हुन्छ।तर लापरवाही ,हेलचेक्र्याइ एवं उदासिनताको अवस्थाबाट गुज्रिएर कार्य सम्पादन हुने अवस्थाको अन्त्य गर्नुपर्छ।

घर हरेक व्यक्तिको पहिलो पाठशाला हो।नैतिकता एवं सदाचारका विविध आयामहरुको अनुशरण हरेक परिवारबाट हुने वातावरण निर्माण गरिनुपर्छ ।श्रोत साधनको दुरुपयोगलाइ निरुत्साहित गरि नतिजामुखी कार्यसंस्कृतिको अवलम्बन जरुरी हुन्छ।जबसम्म स्पष्ट बदनियत भेटिंदैन तबसम्म कामकारवाही गर्ने अधिकारीहरुलाइ पुर्णत अधिकार सम्पन्न बनाइ नतिजा प्राप्तिका लागि समसामयिक निर्णय गर्न सक्ने बनाइनु पर्दछ।भोलीका दिनमा हुन सक्ने अमुक कारवाहीको त्रासले निर्णय गर्ने अधिकारीहरुमा बढदै गएको उदासिनता हटाउन कदम चालिनु पर्दछ।भ्रष्टाचार एवं अनियमितता पुष्टि हुने आधार नभइ कारवाही शुरु गरिदिंदा अपेक्षित नतिजा त प्राप्त हुंदैन नै,हतोत्साहका कारण सैद्धान्तिक रुपमा अब्बल ठानिएका निर्णयाधिकारीहरुबाट समेत निजहरुको क्षमता अनुरुपको कार्यसम्पादनको अपेक्षा कमै मात्रामा गर्न सकिन्छ।

विज्ञानले कार्य नभन्ने गरि गह्रौं ढुंगाको भारी बोकेर उभिएर दुख पाउने खालको कार्य संस्कृतिको अब हामीले परित्याग गर्नु पर्दछ ।कार्यशैलीमा परिमार्जन गरी आवधिक रुपमा हाम्रा श्रोत साधनहरुको परिचालन कति प्रभावकारी भए समिक्षा गरि आगामी दिनमा कार्यशैली र मार्ग पहिल्याउनु जरुरी छ ।कार्यसंस्कृतिमा रणनैतिक हस्तक्षेप यथासमयमा नै हुनु जरुरी छ।आम नागरिकको मौलिक हक एवं मानव अधिकारको रक्षा एवं प्रभावकारी परिचालन प्रति संवेदनशिल बन्दै राज्यका तर्फबाट चालिने कदमहरु नतिजा मुखी हुन सक्नु पर्दछ । राज्यले यसका अंगहरु वा कार्यालयगत रुपमा पर्याप्त बजेट विनियोजन गरि वैदेशिक सहायता वा अन्य कुनै आधारमा श्रोत प्रदान गर्ने कार्य बन्द गरिनु पर्दछ ।कुनै अमुक निकाय एवं अन्य कुनै दातासंगको आपसी सम्बन्धका आधारमा श्रोत प्राप्तीको आशा गर्नुपर्ने परिस्थितिको अन्त्य गर्न सक्नुपर्दछ।न्यायिक कामकारवाहीहरुलाइ नतिजामुखि तुल्याइ आम नागरिकको विश्वास एवं भरोसा कायम गराइ राख्न न्यायपालिकामा शुरु गरिएको आधुनिक प्रवधिको प्रयोगलाइ बढावा दिइनु जरुरी हुन्छ ।न्यायालय प्रविधिमैत्री बनाइ थप प्रभावकारीताका लागि नतिजाहरुको सामयिक विश्लेषण गरी कार्ययोजना ,कार्यशैली एवं कार्यविधिहरुमा आवश्यकतानुसार परिमार्जन गरिनु पर्दछ। सुधारका लागि बनेका रणनैतिक योजनाहरुका लागि आवश्यक बजेटको विनियोजन आवश्यक छ।

मुलुकभरका जमिनहरुको उच्चतम उपयोग गर्न उपलब्ध श्रम शक्तिको अभिलेखिकरण गर्ने,स्वदेश भित्रै रोजगारको सुनिश्चितताका लागि कृषिको आधुनिकीरण, औद्योगिक क्षेत्रको प्रवर्द्धन, योजनाहरुको आवधिक रुपमा समिक्षा , श्रोत साधनको वितरणमा औचित्यताको पुष्ट्याइ ,आम नागरिकमा अधिकार प्रतिको सचेतना संग कर्तव्य एवं जिम्मेवारी बोधको भावनाको विस्तार गर्दै नतिजामुखी कार्य संस्कृतिको अवलम्बन गर्न सके मुलुकको विकासको गतिमा उन्नयन भइ आम नागरिकको भविष्य उज्ज्वल हुने आशा गर्न सकिन्छ।

लेखक परिचय
अच्युत कुइकेल
रजिष्ट्रार (सहसचिव)
उच्च अदालत तुलसीपुर, बुटवल इजलास
इमेल [email protected]

 

प्रतिक्रिया