एलिट क्लवले नगरको चर्चा विश्वमा राखेको–महानगर प्रमुख पराजुली

इनेप्लिज २०७८ वैशाख १ गते २१:४१ मा प्रकाशित

विराटनगर,१ बैशाख।विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले विराटनगर –७ स्थित शनिहाट चोकमा रहेको एलिट क्लवको नव निर्माण गरिएको सभाहलको आज साँझ उद्घाटन गर्नु भयो।

क्लवको ६२ औँ स्थापना दिवसको अवसरमा आज यहाँ सभाहल उद्घाटन र नव वर्षको शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरिएको छ।

विसं २०१५ मा स्थापना गरिएको बुद्धिजीवी संगठन रहेको ‘एलिट क्लव’का नेतृत्ववर्गले मुलुकमा प्रजातन्त्र स्थापनामा ठूलो योगदान दिएका थिए।विराटनगर महानगरपालिकाको रु २३ लाख ६८ हजार सहयोगमा उक्त सभाहल निर्माण गरिएको हो।

महानगरपालिकाका प्रमख भीम पराजुलीले क्लवका कारण विश्वमा विद्धत वर्गको शहरको रुपमा चर्चामा आएको बताउँदै नगरको इतिहास यसले कायम गरेको धारणा राख्नु भयो।उहाँले महानगरले विकास सम्वन्धी कार्यका लागि क्लवबाट मार्गदर्शन सुझाव लिने गरेको जानकारी दिदै यस संस्थाको गरिमा कायम राख्न थप सहयोग गर्ने प्रतिवद्धता व्यक्त्त गर्नु भयो।

महानगरकी उपप्रमुख इन्दिरा कार्कीले संस्थाले लोकतन्त्र र प्रजातन्त्र स्थापनामा सिँगो मुलुकमा प्रकाश फैलाएको बताउनु भयो।नेपाली काँग्रेसका केन्द्रीय सदस्य अमृत अर्यालले लोकतन्त्र स्थापनामा बौद्धिक क्षेत्रबाट भएको योगदानको प्रशंसा गर्नु भयो।

क्लवका अध्यक्ष विश्वनाथ रिजाल,महासचिव यज्ञ शर्मा,संस्थापक राधाप्रसाद घिमिरे,प्रा कृष्ण पोखरेल,डा.भेषप्रसाद धमला र पूर्व अध्यक्ष शान्ता रिजालले मुलुकको हितलाई ध्यानमा राखी संस्थामा विभिन्न विचारधालाई समेटिएको साथै पदाधिकारीहरुको कार्यकाल वृद्धि गर्नु पर्ने र सदस्यता वितरणमा खुकुलो गर्नु पर्ने सुझाव दिनु भएको थियो।क्लवले आगामी केही दिनमा व्यवस्थित पुस्तकालय सञ्चालनमा ल्याउने जानकारी सोही अवसरमा दिइयो।

प्रतिक्रिया